+
+

अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ सार्वजनिक गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते ६:४३
विद्रोही समूहको नेतृत्व गरेका पवन कार्की । तस्वीर फेसबुक

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले ‘रिभोलुसनरी फोर्स’ घोषणा गर्न लागेको हो ।

यसअघि अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स यही भदौ २२ गते सार्वजनिक गर्ने घोषणा गरेको थियो । समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिन अगाडि अर्थात भदौ २१ गते गते नै सोही प्रकृतिको फोर्स गठन गर्न लागेको हो ।

अखिल क्रान्तिकारीको विद्रोही समूहका प्रवक्ता उपदेश यादवले भदौ २१ गते काठमाडौंमा क्रान्तिकारी विद्यार्थीहरुको दस्ताको रुपमा रिभोलुसनरी फोर्स घोषणा तथा मार्चपास कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ‘राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षक हौं हामी ! भ्रष्ट, दलाल र माफियाहरुका विरुद्ध लड्ने क्रान्तिकारी योद्धा हौं हामी, भन्ने नाराका साथ भदौ २१ गते मंगलबारको दिन दिउँसो २ बजे माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम तय गरेका छौं,’ प्रवक्ता यादवले भने ।

पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले आगामी निर्वाचनलाई लक्षित गरी देशभरका कार्यकर्ताहरुबाट छानेर क्रान्तिकारी फोर्स नामको संगठित दस्ता बनाउने जनाएको छ । त्यसको घोषणा पार्टी अध्यक्ष प्रचण्डमार्फत् गरिने भनेर प्रचार गरिएको छ । कार्की नेतृत्वको समूहले भने कुन नेता मार्फत् फोर्स सार्वजनिक गर्ने भन्ने खुलाएको छैन ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एकलौटी ढंगले केन्द्रीय समिति र पदाधिकारी चयन गरेको भन्दै कार्की नेतृत्वको समूह असन्तुष्ट छ । सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ । अध्यक्ष पञ्चा सिंहले कार्की र उनको समूहका नेताहरुलाई संगठनबाट निस्कासन गरेको निर्णय गरे पनि माओवादी अध्यक्ष प्रचण्डको हस्तक्षेपका कारण उक्त निर्णय कार्यान्वयन भएको छैन । अध्यक्ष प्रचण्डले कार्की समूहलाई बेवास्ता गर्न नमिल्ने भन्दै उनीहरुलाई पनि मिलाएर जान अध्यक्ष सिंह र फ्राक्सन इन्चार्ज हितमान शाक्यलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?