+
+

नवौँ राष्ट्रिय खेलकुद : मधेसमाथि कर्णालीको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १२:५४

२८ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशमाथि रोमाञ्चक जित हात पारेको छ ।

रोमाञ्चक खेलमा कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

मधेश प्रदेशका आदिल आलमको ५ विकेट लिएको र हरिशंकर साहले ४८ रन बनाए पनि मधेसलाई जिताउन सकेनन् ।

कर्णालीको दिएको ११५ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । ओपनर साहले ४२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए । उनी अन्तिम ओभरको पहिलो बलमा आउट भए । यस्तै रोहन बिकेले १० रन जोडे ।

राकेश कामथले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै अन्तिम ओभरमा १४ रन जोडेका थिए । कामथले ८ बलमा अविजित १९ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका लागि दिनेश अधिकारीले ३, दिवान पुन र कप्तान रविन्द्र शाहीले २-२ तथा अनुज चुनारा र प्रकाशी जैसीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । कर्णालीका ओपनर विपिल रावलले सर्वाधिक २४ रन बनाए । यस्तै प्रकाश जैशीले १९ र दिनेश अधिकारीले १५ रन जोडे । कप्तान रविन्द्रले १० रन बनाए ।

मधेशका आदिल आलमले ४ ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । हरि शंकर साहले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।

पहिलो जितपछि कर्णालीले चार खेलबाट ४ अंक जोडेर समूह ए मा तेस्रो स्थानमा उक्लेको छ । यसअघि वर्षाका कारण त्रिभुवन आर्मी र लुम्बिनीसँगको खेल रद्द भएपछि अंक बाँडेको कर्णाली नेपाल पुलिससँग पराजित भएको थियो । कर्णालीले गण्डकीसँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?