+
+

नेपाली टीभी च्यानलमा विश्वकपको ‘एक्सक्लुसिभ’ प्रसारण, ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते ९:२१

२ असोज, काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु नेपालभित्र नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका छन् ।

अघिल्ला विश्वकपहरुमा झैं यसपटक नेपालमा बसेर विदेशी टेलिभिजन च्यानलमा विश्वकप हेर्न पाइने छैन । फिफाले नेपालका लागि यसपटक ‘एक्सक्लुसिभ’ प्रसारण अधिकार दिएका कारण विदेशी च्यानलबाट विश्वकप हेर्न नपाइने भएको हो ।

नेपालका लागि विश्वकपको प्रसारण अधिकार मिडिया हबले किनेको छ, जसले केही दिनमै प्रसारण हुने टेलिभिजन च्यानलको टुंगो लगाउने छ ।

मिडिया हबका अध्यक्ष सोम धितालले हिमालय टेलिभिजनमार्फत् विश्वकप देखाउने गरी समझदारी भइसकेको र केही दिनमै कानुनी प्रकृया टुंगाएर घोषणा गरिने जानकारी दिए ।

ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने

यसपटकको विश्वकप हेर्न ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छ । विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको धितालले जानकारी दिए । ‘अघिल्ला विश्वकपमा विदेशी च्यानलले देखाउँथे, उनीहरुका प्याकेज किन्न नेपालले अरबौं रुपैयाँ तिर्नु पर्दथ्यो, यसपटक किन विदेशी च्यानललाई दिने, पे मोडलमा हामी आफैं काम गरौं भन्ने लागेर एक्सक्लुसिभ अधिकार लिएका हौं’ धितालले भने, ‘यसमा टेलिभिजन सिग्नल वितरक साथीहरुले पनि उत्साह थपिदिनुभएको छ ।’

नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरिसकेको छ । जसअनुसार गत शुक्रबार नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् । डीसहोम, सुविसु लगायतका एमएसओ र आईपीटीभी सेवा प्रदायकहरुसँग सघन कुराकानी भइरहेको र छिटै सम्झौता हुने धितालले जानकारी दिए ।

‘सबै एमएसओ र केबललाई साथमा लिएर काम गर्न खोजिरहेका छौं,’ धितालले भने, ‘नेपाली टेलिभिजन उद्योग र विज्ञापन बजार चलायमान बनाउने यो असवरलाई सबै मिलेर सफल बनाउँछौं ।’

झण्डै एक महिना चल्ने विश्वकप हेर्नका लागि प्रतिसेटअप बक्स करिव ५ सय रुपैयाँ शुल्क लगाउने गरी छलफल भएको बुझिएको छ । यो शुल्क ग्राहकबाट कसरी लिने भन्ने विषयमा विभिन्न टेलिभिजन सेवा प्रदायकले आ-आफ्ना स्किम बनाउन सक्नेछन् । जसको लाभ ग्राहकलाई हुने छ ।

सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ । यसपटक नयाँ मोडलमा काम गर्नका लागि टेलिभिजन उद्योगका बिभिन्न स्टेकहोल्डरसँग सहकार्य गर्न लागिएको धितालले बताए।

झण्डै ४५ करोड लगानी !
नेपालमा बिश्वकपको एक्सक्लुसिभ अधिकार लिँदा तुलनात्मकरुपमा महंगो परेका कारण पनि यसलाई सफल बनाउन पे पर भ्यूको मोडल अपनाउन लागिएको धिताले बताए ।
‘राइट्स किन्नै १५ लाख डलर खर्च भयो, त्यो भनेको झण्डै २४ करोड रुपैयाँ भयो, अन्य प्राबिधिक र प्रशासनिक खर्च जोड्दा झण्डै ४५ करोड रुपैयाँ यो परियोजनाका लागि खर्च छ’ धितालले भने– बिश्वस्तरीय कन्टेन्टलाई नेपाली दर्शकले किनेरै हेर्न सक्छन भन्ने प्रमाणित गर्न पनि हामीले यो महंगो शुल्क तिरेर अधिकार किनेका हौं ।’
यसअघि बिदेशी च्यानलले बिश्वकप देखाउँदा ती च्यानल प्रसारण गर्न नै नेपालका केवल तथा सिग्नल बितरकहरुले करोडौं रुपैयाँ तिर्ने गरेको दृष्टान्त सुनाउँदै धितालले नेपालकै च्यानलले त्यस्तो काम गर्न सक्ने ठम्माई सहित एक्सक्लुसिभ राइट्स किनिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?