+
+

५० हजार भत्ताबारे ब्याकुल माइला भन्छन् : सरकारले राष्ट्र गानको सम्मान गरेको हो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १४:२६

१० असोज, काठमाडौं । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले सरकारले आफूलाई दिएको भत्ता रकम विवादको विषय हुन नहुने बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले राष्ट्रगानको रचयिता राष्ट्रिय सम्पत्ति हो भन्दै उनको संरक्षण गर्नु राज्यको दायित्व हुने बताए ।

दोस्रो जनआन्दोलन सफल भएपछि सरकारले नयाँ राष्ट्रिय गान बनाउने भन्दै गीत आह्वान गर्दा ब्याकुल माइलाको ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ बोलको गीत राष्ट्रिय गानको रुपमा छनोट भएको थियो । २०६४ साल साउन १८ गतेदेखि उक्त गीत राष्ट्रिय गानको रुपमा प्रचलनमा छ ।

त्यतिबेला उनले ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए भने त्यसपछि ०७१ देखि मासिक २५ हजार रुपैयाँ भत्ता पाइरहेका थिए । असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले माइलाले पाउने भत्ता बढाएर मासिक ५० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो ।

यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । राष्ट्रिय गान महंगो परेको, सर्जकलाई भत्ता होइन रोयल्टी दिनुपर्ने भन्दै फेसबुक र ट्विटरमा टिप्पणी र आलोचना भइरहेको छ । कतिपयले राष्ट्रिय गान लेखे बाफत ५ लाख पारिश्रमिक दिइसकेकाले अब भत्ता दिन नहुने धारणासमेत राखेका छन् ।

तर ब्याकुल माइला भने राज्यले आफूलाई दिएको सुविधा मात्र नहेर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘राज्यले मलाई दिएको मात्र हेर्नु भएन । मैले राज्यलाई निस्वार्थ दिएको सहयोग पनि हेर्नुपर्‍यो । मेरै कारणले राज्य लुटिने वा मैले राज्यको ढुकुटी सक्न खोजेको त होइन ।’

उनले अगाडि भने, ‘यो नगदको कुरा होइन । धेरै देशमा राष्ट्रिय गानको लेखकलाई सम्मानित गर्ने गरिन्छ ।’ माइलाले सहज जीवनयापनका लागि सरकारले दिने भत्ता स्वीकार्ने बताएका छन् । ‘राष्ट्रिय गानको सर्जकलाई भत्ता दिने निर्णय गरेकोमा म सरकारलाई धन्यवाद भन्छु,’ माइलाले भने ।

सरकारकाले भत्ता नदिएपनि आफू सहज जीवनयापन गर्न सक्ने बताउँदै उनी भन्छन्, ‘त्यो पैसा भएर पनि त्यस्तो विघ्न हुने केही होइन । नहुँदैमा पनि केही बर्बाद हुँदैन ।’

भत्ता दिएर सरकारले आफूलाई नभई राष्ट्रगानको सम्मान गरेको माइला बताउँछन् । ‘सरकारले राष्ट्रगानको सम्मान गरेको हो । यो राज्यले मलाई गरेको माया हो, सम्मान हो । म गलत बाटोमा नहिँड्दासम्म राज्यले मलाई गर्ने माया र सम्मान हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?