+
+

नेपाललाई शान्ति राष्ट्र बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते २०:१२

२३ वैशाख, बुटवल । नेपाललाई शान्ति राष्ट्र बनाउन संयुक्त राष्ट्र संघसमक्ष माग गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीपछि सार्वजनिक घोषाणा पत्रमा यस्तो माग गरिएको हो ।

यस्तै बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, अध्येता तथा अनुसन्धानकर्ताहरूले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र संघसमक्ष आग्रह गरे ।

विश्वव्यापी चुनौतीहरूको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा उनीहरूले राजनीतिक व्यवस्थाको परिवर्तन तथा द्वन्द्वका विषयहरू समाधान भइसकेकाले बुद्ध जन्म स्थललाई शान्ति र बौद्ध दर्शनको उद्‌गमस्थलका रूपमा प्रवर्द्धन गर्ने र बौद्ध ध्यान र साधनाको राजधानीका रुपमा शान्ति शहर घोषणा गर्न पनि माग गरेका छन् ।

बौद्ध शिक्षालाई विद्यालय तहदेखिको शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नका लागि सम्बन्धित निकायलाई विशेष अनुरोध गरे ।

यसअघि गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा आफ्ना धारणा राख्दै योगगुरुहरूले अहिले बढ्दो सामाजिक समस्याको समाधान योग भएकोमा जोड दिए ।

अनाइनमार्फत आफ्ना धारणा राख्दै आचार्य बालकृष्ण र डा. विकासानन्दले मानव जातिले दुःखबाट मुक्ति पाउने एकमात्र उपाय ध्यान र साधना भएको बताउँदै जीवनका समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह गरे ।

गोष्ठीमा योगगुरुहरू डा. भोलानाथ योगी, डा. चिन्तामणि योगी, भानु शर्मा, प्रा. डा. विशाल सिटौला र डा. क्षितिज बराकोटीले सबै धर्म, पराम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक व्यक्तिको जीवन पद्धतिसँग जोड्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाएर कार्यान्वय गर्ने तयारी गरेको उल्लेख गर्दै यसबारे सबैको राय सुझाव आवश्यक रहेको बताए ।

बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले पनि यसलाई छुट्टै विषयका रूपमा अध्ययन, अध्यापनको तयारी थालेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले शान्ति, मैत्री र करुणाको भावना विकास गर्न योग र साधना गर्न आवश्यक रहेकोमा जोड दिए ।

गोष्ठीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, डा. निमा शेर्पा, कमल थापा, लक्ष्मी पोखरेल लगायतले बौद्ध दर्शन र योगका विषयमा विद्यालय तहदेखि नै नयाँ पाठ्यक्रम आवश्यक रहेको बताए ।

गोष्ठीमा नेपालसहित थाइल्यान्ड, फ्रान्स, स्टोनिया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वेलगायत देशका बौद्ध भिक्षु तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?