+
+

सबै राजस्व बुझाएका छौंं, सरकारकै कारण इन्टरनेट सेवा रोकियो : आइस्पान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते २१:५६

२३ वैशाख, काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले इन्टरनेट सेवा प्रदायक (आईएसपी) तथा नेटवर्क सेवा प्रदायकहरूले नियमित रूपमा कर र राजस्व बुझाउँदै आएको दाबी गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आइस्पानले सरकारको कारण नै इन्टरनेट सेवा रोकिने अवस्था आएको अरोप पनि लगाएको छ ।

आइस्पानका अनुसार विगत १३ महिनादेखि दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस नदिएको हुँदा एयरटेल लगायतका अपस्ट्रिम सेवा प्रदायकहरूले आफ्नो भुक्तानी पाएका छैनन् ।

सोही कारण अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ सेवा प्रदायकहरूले भुक्तानी नभएमा इन्टरनेट सेवा अवरुद्ध गर्ने भनी पत्र पठाएका र उक्त पत्र समेत इन्टरनेट सेवा प्रदायक सङ्घ (आइस्पान)मार्फत नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएको संस्थाले बताएको छ । लगत्तै आइस्पानले गत १३ वैशाखमा पत्रकार सम्मेलन मार्फत सर्वसाधारणमा उक्त विषयको जानकारी समेत गराएको थियो ।

‘मन्त्रालय र प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत यस विषयलाई गम्भीरतापूर्वक नलिएको हुनाले मिति २० वैशाख २०८१ अप्रत्याशित रूपमा एयरटेलले आफूले नेटवर्क सेवा प्रदायकहरूलाई प्रदान गर्दै आइरहेको सेवा अवरुद्ध गरेको आइस्पानले जनाएको छ ।

‘यसकारण नेपालको इन्टरनेट बजारको लगभग ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको थियो । जसले गर्दा ग्राहक तथा इन्टरनेट सेवा प्रदायकहरूलाई अकल्पनीय, अपूरणीय क्षति भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ संघ तथा सेवा अवरुद्ध भएका इन्टरनेट सेवा प्रदायकहरूको अथक पहल पश्चात् एयरटेलबाट कुनै लिखित प्रतिक्रिया प्राप्त नभए पनि लगभग ६ घण्टा बन्द भएको इन्टरनेट सेवा भने नियमित गरिदिएको ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’

प्राधिकरण र मन्त्रालयले पनि आफ्नो तर्फबाट पहल गरिदिनु भएको जानकारी आएकोले त्यस प्रति संघले कृतज्ञता व्यक्त गरेको छ । सबैको सामूहिक प्रयासबाट अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको संघले जानकारी दिएको छ ।

‘दूरसञ्चार ऐन, दूरसञ्चार नियमावली र ग्रामीण दूरसञ्चार विकास कोष विनियमावली अनुसार दूरसञ्चार सेवा बापतको आयमा तिर्नुपर्ने रोयल्टी र आरटीडीएफ, आईएसपी तथा नेटवर्क सेवा प्रदायकहरूले नियमित रूपमा बुझाउँदै आइरहेका छन्, सो बाहेकको मर्मत तथा सम्भार शुल्क जस्ता गैरदूरसञ्चार सेवामा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर तिर्नुपर्ने कानुनी प्रावधान छैन,’ संघले विज्ञप्तिमा भनेको छ ।

संसदको सार्वजनिक लेखा समितिले पटक–पटक मर्मत सम्भार गैरदूरसञ्चार सेवा भएको र यसमा रोयल्टी र आरटीडीएफ नलाग्ने हुनाले बेरुजु लगत कट्टा गर्न निर्देशन दिइसकेको साथै सङ्घीय संसदबाट समेत उक्त प्रतिवेदनहरू पारित भइसकेको र महालेखा परीक्षकको कार्यालयले समेत उक्त बेरुजुको लगत कट्टा गरिसकेको संघले बताएको छ ।

सर्वोच्च अदालतले समेत मर्मत सम्भार दस्तुरमा आरटीडीएफ र रोयल्टी असुल नगर्नू र  नगराउनु भनेर अन्तरिम आदेश दिएको अवस्थामा पनि मन्त्रालय र प्राधिकरणले विदेशी मुद्रा सिफारिस नदिएकाले इन्टरनेट सेवा उद्योग नै धराशायी हुने अवस्था सिर्जना भएको संघले बताएको छ ।

‘यही राज्यमा सरकारी सेवा प्रदायकले अर्बौं रुपैयाँ बक्यौता हुँदा पनि सजिलै विदेशी मुद्रा सिफारिस तथा सहजीकरण पाइरहेका छन्, जुन सरकारको विभेदकारी नीति हो,’ विज्ञप्तिमा भनिएको छ,‘ डिजिटल नेपाल निर्माणमा इन्टरनेट सेवा प्रदायकले महत्त्वपूर्ण र अपरिहार्य भूमिका खेल्दै आएका छन् ।’

हाल नेपाल विश्वमा फिक्स्ड ब्रोडब्याण्डमा सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने मुलुकमा ८ औं स्थानमा पर्न सफल भएको र देशको ४५ प्रतिशतभन्दा बढी घरधुरीमा र गाउँगाउँसम्म फिक्स्ड ब्रोडब्याण्डको पहुँच पुगिसकेको संघले जानकारी पनि दिएको छ ।

‘यसरी दशौं हजारलाई रोजगारी दिई अर्बौंको लगानी भएको निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकलाई प्रोत्साहन गरी लगानीको सुरक्षा गर्ने दायित्व नेपाल सरकारकै हो,’ संघले भनेको छ,‘उपभोक्तासँग हामी इन्टरनेट सेवा प्रदायकहरुले महसुल मार्फत रकम लिएको र उक्त रकममा टीएससी (दूरसञ्चार सेवा शुल्क), भ्याट, टीडीएससी लगायतका करहरूमार्फत नेपाल सरकारले पनि रकम असुल गरेकाले उपभोक्तालाई बिना अवरोध सेवा प्रदान गर्नु नेपाल सरकार र हामी इन्टरनेट सेवा प्रदायक दुवैको दायित्व हो ।’

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध हुनबाट जोगाउने दायित्व र उपभोक्तामा इन्टरनेटको पहुँच सुनिश्चित गर्ने कार्यमा मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण दुवै जिम्मेवार र संवेदनशील हुनुपर्ने संघले बताएको छ ।

यसमा सरकारबाट अभिभावकीय भूमिका निर्वाह गरिदिन संघले गम्भीर ध्यानाकर्षण जनाएक छने ।

‘हामीले मन्त्रालयबाट विदेशी मुद्रा सिफारिस पाउना साथ विदेशी अपस्ट्रिम सेवा प्रदायकहरूलाई अविलम्ब विदेशी मुद्राको भुक्तानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं,’ संघले भनेकोछ,‘यस अवस्थामा सेवाग्राहीहरूले देखाउनु भएको धैर्यता तथा साथ सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?