+
+
Shares

आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट यादवविरुद्ध भ्रष्टाचार मुद्दा

सुरेश राय सुरेश राय
२०८३ भदौ २ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
  • अख्तियारका अनुसार साउन ७ गते कार्यालयमै पाँच लाख रुपैयाँ घुस बुझ्ने क्रममा पाललाई बर्दिबास कार्यालयको टोलीले रंगेहात नियन्त्रणमा लिएको थियो।

२ भदौ, सिरहा । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालतमा घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

अख्तियारको दाबी अनुसार, आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षण (फुल अडिट) तथा कर निर्धारणसम्बन्धी काम फर्छ्यौट गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले पेस गरेका बिल–बिजक नमिलेको भन्दै दु:ख–हैरानी दिई करसम्बन्धी काम रोकिएको र त्यसपछि चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत घुस रकमको बार्गेनिङ गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अनुसन्धानका क्रममा पालले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साउन ७ गते उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो ।

पालले रकम कार्यालयमै ल्याउन भनेपछि पाँच लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले पालले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी सेवाग्राहीसँग गैरकानुनी रूपमा घुस मागेको तथा रकम लिएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै, घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट यादवलाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ ।

आयोगले दायर गरेको आरोपपत्रमा दुवै प्रतिवादीलाई कानुनबमोजिम सजाय तथा बिगो असुलउपरको मागदाबी गरिएको जनाएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?