News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनका लागि बाधक बनेको विधानको धारा ३५(२)(घ) निलम्बन गरेको छ।
- कांग्रेसले आगामी असोज १६ देखि १९ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने र सभापति गनगकुमार थापाको संयोजकत्वमा व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ।
- बैठकले विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा समिति गठन गरी सुझाव संकलन र प्रस्ताव पेस गर्न भनेको छ।
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन गर्नका लागि व्यवधान रहेको विधानको व्यवस्था निलम्बन गरेको छ ।
९ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले विधानको धारा ३५ (२)(घ) निलम्बन गरेको जानकारी दिए ।
विधानको उक्त धारामा स्थानीय तहका सबै अधिवेशनहरू केन्द्रीय महाधिवेशनभन्दा एक वर्ष अगाडि नै गरिसक्नु पर्ने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार महाधिवेशन गर्न समयावधि अपुग भएसँगै कांग्रेसले विधानको धारा निलम्बन गर्ने निर्णय गरेको चालिसेले बताए ।
यस्तै, स्थानीय तहका अधिवेशनबाट तीन महिना अगाडि नै प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला नै महाधिवेशन प्रतिनिधिहरू चयन गरिसक्नु पर्ने व्यवस्था छ ।
‘स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला निर्वाचित गरिने छन्,’ उक्त धारामा भनिएको छ ।
कांग्रेसले आगामी असोज १६ देखि १९ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
उक्त समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ । बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्ने पनि निर्णय गरेको छ ।
ती उपसमितिहरूमा रहने संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने प्रवक्ता चालिसेले जानकारी दिए ।
उनका अनुसार सभापति थापाले महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने छन् ।
सभापतिको प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्व दिइने बताइएको छ ।
महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयक प्रस्ताव पेस गर्ने कांग्रेसले निर्णय गरेको छ ।
निर्णयअनुसार अर्का उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचन विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव महाधिवेशनमा पेस गर्ने भएका छन् ।
कांग्रेसले प्रवक्ता चालिसको संयोजकत्वमा १५औं महाधिवेशन प्रचार–प्रसार समिति गठन गरेको छ ।
बैठकले विधानलाई समयसापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ ।
उक्त समितिलाई पार्टीका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव लिन र प्राप्त सुझावसमेत अध्ययन गरी विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमिति समक्ष पेस गर्न भनिएको छ ।
प्रतिक्रिया 4