+
+

 ‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

रासस रासस
२०७९ असोज १६ गते ७:१०

१६ असोज,  कपिलवस्तु । कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् ।

शनिबार भएको प्रतियोगितामा उहाँले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् ।

पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो । १५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताए ।

प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए । उनले २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए ।

कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए।

दोस्रो चरणमा आठ जनाबीच भएको प्रतिस्पर्धामा छ जनाले दूरी पार गरे पनि दुई जना बीचमै असफल भएका थिए । छ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताए ।

जिल्लाको वाणगङ्गा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कहिल्यै नहेरेको खेल हेर्न पाएको जनाउँदै दर्शक खुसी देखिन्थे ।

प्रतियोगितामा आयोजकले सहभागीको रजिष्ट्रेजन शुल्कवापत रु एक हजार पाँच सय तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन गरेको थियो ।

प्रतियोगितामा कपिलवस्तुसँगै रुपन्देहीबाट समेत सहभागी भएको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिए ।

प्रतियोगिता सहभागीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एम्बुलेन्सको व्यवस्था मिलाइएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?