+
+

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते ११:३३

२१ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।

नेताहरुका अनुसार केही सिटमा सहमति हुन नसकेको बताउँछन् । जस्तो, बारा २ मा दुबै दलको दाबी छ ।

एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।

धनुषा २ मा पनि दुबै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ ।

दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो. ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।

एमालेका एक नेता भन्छन्, ‘प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । तर हामी सहमतिको नजिक छौं ।’ जसपाका एक नेताले पनि अब सत्ता गठबन्धनसँगै सहमति हुने सम्भावना कम रहेको बताए । उनले भने, ‘एमालेसँग सहमति होला ।’

जसपासँग वार्तामा संलग्न एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि आफूहरु सहमति नजिक रहेको छोटो प्रतिक्रिया अनलाइनखबरलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?