+
+

‘प्रतिगमन सच्याउँदै’ ओलीका शरणमा उपेन्द्र

‘विगतमा स्वार्थका लागि माधव नेपालले आधा प्रतिगमन सच्चियो भने । आज उपेन्द्र यादव स्वार्थकै लागि हिजो आफैंले प्रतिगमनकारी करार गरेका ओलीका शरणमा परे’ राजनीतिक विश्लेषक लोकराज बराल भन्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असोज २२ गते २१:१६

२२ असोज, काठमाडौं । १३ चैत २०७७ मा प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘ओली (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले उनीसँग जसपा सहकार्य गर्न तयार छैन ।’

त्यतिबेलै पनि जसपासँग सहकार्यका लागि एमालेले साथ मागेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारलाई साथ दिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष यादवले एमालेलाई सरकारबाट हटाउँदै संघीयता र गणतन्त्र पक्षधरको सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

७ फागुन २०७७ मा अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा पनि अध्यक्ष यादवले ओलीलाई संविधान र परिवर्तनविरोधी मात्रै करार गरेका थिएनन्, ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कहिल्यै नस्वीकारेको आरोप पनि लगाएका थिए ।

उनले भनेका थिए, ‘विगतका जनआन्दोलन, सशस्त्र युद्ध, मधेश जनविद्रोह, आदिवासी–जनजातिले गरेका आन्दोलनहरूको उपलब्धिका रूपमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई ओलीजीले कहिल्यै पनि स्वीकार्नुभएको छैन’ यादवले भनेका थिए, ‘संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालाई उहाँले स्वीकार्न सक्नुभएको छैन ।’

अध्यक्ष यादवले ५ पुस २०७७ मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको नियतमाथि प्रश्न उठाउँदै भनेका थिए, ‘यसै (परिवर्तनका उपलब्धिहरू)लाई समाप्त पार्ने खेलअन्तर्गत संसद विघटन भएको हो ।’

तत्कालीन प्रधानमन्त्री ओलीले दुई–दुई पटक गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिएर विरोधमा उभिएर अनेक लाञ्छना लगाएका यादव नेकपा एमाले र अध्यक्ष ओलीका कटु आलोचक रहँदै आएका थिए ।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विषयमा समेत एमालेलाई मुछ्दै आएको जसपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि एमालेलाई प्रतिगमनकारी करार गरेर भोट माग्ने रणनीति बनाएको थियो ।

५ पुस २०७७ र ७ जेठ २०७८ मा तत्कालीन ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिंदै जसपा सहितका पाँच दलले गठबन्धन बनाएका थिए । गत स्थानीय चुनावमा जसपा नेताहरूले एमाले उम्मेदवारहरूलाई प्रतिगमनकारी करार गरेर भोट मागेका थिए ।

तर, स्थानीय निर्वाचन सकिएको ६ महिना नबित्दै जसपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो कित्ता बदलेको छ । उ अहिले पाँचदलीय गठबन्धन छोडेर एमालेसँग चुनावी सहकार्य गर्न पुगेको छ । यसबाट एमालेले एकै चोटि दुई उपलब्धि हासिल गरेको छ । पहिलो, पाँचदलीय गठबन्धन फुटाउने उद्देश्य पूरा गरेको छ, दोस्रो आफूमाथि लागेको प्रतिगमनको आरोप केही हदसम्म भए पनि हटाउन सफल भएको छ ।

कित्ता फेरिएपछि जसपाका नेताहरूको बोली पनि फेरिएको छ । अहिले जसपा नेताहरू मुद्दा भन्दा बाध्यतासँग जोडिएर तालमेलबारे निर्णय लिनुपर्ने अवस्था आएको बताउँछन् ।

जसपा नेता राजकिशोर यादव भन्छन्, ‘एमाले–जसपा गठबन्धन संगठनको आधार बलियो बनाउन आवश्यकताका आधारमा बनेको हो ।’ विगतमा एमाले र एमाले नेतृत्वको राजनीतिक कदमको विरोध गर्दै आएको भए पनि पाँचदलीय गठबन्धनमा रहेर चुनाव लड्दा सानो शक्तिमा सीमित रहनुपर्ने भएकाले त्यो सीमित घेरा तोड्न एमालेसँग तालमेल गर्नुपरेको उनको भनाइ छ । ‘संगठन बलियो भएपछि न राजनीतिक एजेण्डा स्थापित गराउन सकिन्छ । अहिले पनि एमाले र हाम्रो राजनीतिक मुद्दा फरक फरक नै छन् ।’

पाँचदलीय गठबन्धनमा रहँदा भागवण्डामा परेको क्षेत्रमा मात्रै उम्मेदवारी दिन पाइने तर, एमालेसँग गठबन्धन गर्दा तालमेलका लागि निर्णय भएको भन्दा बाहिर देशभर उम्मेदवारी दिन पाइने भएकाले पनि चुनावी तालमेलबारे नयाँ ढंगले निर्णय लिनु परेको यादव बताउँछन् । उनी भन्छन्, ‘अब हामी देशभर उम्मेदवारी दिन्छौं र विगतमा उठाउँदै आएका एजेण्डा स्थापित गर्न धक्का दिन सक्ने हैसियत संसदमा पुर्‍याउँछौं ।’

जसपाले पाँचदलीय गठबन्धनभित्र रहँदा प्रतिनिधिसभा तर्फ आफूहरूले मधेश प्रदेशमा आधा सिट (१६) र अन्यत्र समेत गरेर २४ सिट पाउनुपर्ने दाबी गरेको थियो । तर, पाँचदलीय गठबन्धनभित्र आफ्नो मागमा सहमति नजुटेपछि जसपा एमालेसँग तालमेल गर्ने निर्णयमा पुगेको हो । एमालेले जसपालाई प्रतिनिधिसभा तर्फ १७ सिटमा सघाउने सहमति भएको छ ।

यसरी ‘लोकतन्त्रको रक्षाको लागि र प्रतिगमन विरुद्ध’ आफैंले बनाएको गठबन्धन तोडेर जसपा एमालेसँग सहकार्य गर्न पुगेपछि नेपाली राजनीतिमा गठबन्धन र मुद्दाको राजनीति सार्वजनिक खतपको बिषयमा सिमित भएको छ ।

‘आधा प्रतिगमन सच्चिएको’ भाष्य

१८ वर्ष अघि नेकपा एमालेका महासचिव रहेका माधव नेपाल राजा ज्ञानेन्द्रविरुद्ध पाँच दल (कांग्रेस, एमाले, जनमोर्चा, नेमकिपा र सद्भावना पार्टी) सहित सडकमा आन्दोलनमा थिए । उक्त आन्दोलनलाई पनि प्रतिगमनविरुद्धको आन्दोलन भनिएको थियो ।

२० जेठ २०६१ मा तत्कालीन महासचिव नेपालको आदेशमा सडक संघर्षबाट एमाले पछि हट्यो । एमालेका कार्यकर्ता प्रतिगमनविरुद्ध बलिरहेको मसाल निभाएर रक्षात्मक मानसिकतामा घर फर्किए । अनि माधव नेपालले भने, ‘प्रतिगमन आधा सच्चियो ।’

नेपालले तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिमण्डलमा भरतमोहन अधिकारीको नेतृत्वमा एमाले नेताहरूलाई सहभागी गराए ।

त्यतिबेला नेपालको कदमको विरुद्ध घनश्याम भूसाल लगायतका नेताहरूले कारबाहीको धम्की सहँदै विरोधमा बोलेका थिए ।

तर, अहिले जसपा भित्र पार्टी नेतृत्वको यो कदमविरुद्ध आन्तरिक रुपमा छिटफुट सुनिए पनि सार्वजनिक रुपमा विरोधको स्वर सुनिएको छैन । तथापि, माधव नेपालकै शैलीमा उपेन्द्र यादवले कित्ता बदलेका छन् ।

‘विगतमा स्वार्थका लागि माधव नेपालले आधा प्रतिगमन सच्चियो भने । आज उपेन्द्रले स्वार्थकै लागि हिजो आफैंले प्रतिगमनकारी करार गरेका ओलीका शरणमा परे’ राजनीतिक विश्लेषक लोकराज बराल भन्छन्, ‘जसले जे भने पनि ओलीले संविधान भत्काउन खोजेकै हो । त्यसलाई हिजो प्रतिगमन भनेर हिंडेका उपेन्द्रले आज स्वार्थमा आफ्नो बाटो बदले ।’

उपेन्द्र यादवले स्वार्थका लागि ओलीको प्रतिगमन विरोधी स्वरमा अडान नलिएर राजनीतिमा कुनै सिद्धान्त र अडान छैन्, हुँदैन भनेर स्थापित गर्न खोजेको बरालको टिप्पणी छ । यस्तो शैलीले स्वयंम् नेताहरुप्रति जनताको विश्वास घट्ने बराल बताउँछन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?