+
+

सांसद कानोडियाको चिनी मिलले १२ हजार उखु किसानको पैसा तिरेन 

किसान आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १३:४७
प्रदेश सांसद वीरेन्द्रकुमार कानोडिया/फाइल तस्वीर

२६ असोज, काठमाडौं । चिनी मिलले उखुको पैसा नतिरेको भन्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गोडौता नगरपालिका–६ मा रहेको महालक्ष्मी सुगर मिलले १२ हजार किसानको १० करोड रुपैयाँ एक वर्षदेखि भुक्तानी नगरेको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।

एक लाख ९२ हजार ३०७ क्विन्टल ७६ किलो उखु बिक्रीको पैसा नपाउँदा किसानहरु छठ पर्व मान्नसमेत नसक्ने अवस्थामा पुगेको संघर्ष समितिका सचिव हरिश्याम रायले बताए ।

‘१२ हजार किसानले करिब १० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । कर्मचारी हुन्छ हुन्छ मात्रै भन्छ । मिल मालिक सम्पर्कमा छैनन्,’ रायले भने, ‘आफ्नो उखुको पैसा नपाउने तर छठ पर्व मन्न ऋण माग्नु पर्ने अवस्था किसानहरु पुगेका छन् ।’

भुक्तानी माग्दा मिलका कर्मचारी सम्पर्कमा नआउने र मिल मालिकले समेत समन्वयन नगरेको संघर्ष समितिको आरोप छ । मिल सञ्चालक व्यवसायी वीरेन्द्रकुमार कानोडिया लुम्बिनी प्रदेश सभाका सांसद छन् ।

कनोडियाको मिलले किसानको भुक्तानी नगरेको गडौता नगरपालिका कार्यालयलले पनि पुष्टि गरेको छ । नगरप्रमुख देवेन्द्रकुमार यादवकाअनुसार समितिले दावी गरेजति नभए पनि करिब ५ करोड रुपैयाँ चिनी मिलले किसानलाई भुक्तानी गर्न बाँकी छ ।

‘दशैं अघि एक करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो । अझै ५ करोड जति भुक्तानी पाउन बाँकी छ,’ मेयर यादवले भने, ‘सरकारबाट पाउनु पर्ने अनुदान किसानले पाएका छन् तर मिलबाट पाउने पैसा बाँकी छ ।’

किसानको बक्यैता तिर्न मिल, जिल्ला प्रशासन कार्यालय र चिनी उत्पादकलाई आफूहरुले पटक पटक आग्रह गरेको पनि उनले बताए ।

चिनी उत्पादक संघले आफूहरुको बेइज्जत हुने भन्दै किसानको भुक्तानी गर्न गरेको आग्रह समेत चिनी मिल सञ्चालकबाट लत्याइको मेयर यादवले बताए ।

किसानलाई उखुको पैसा भुक्तानी नगरेकोबारे अनलाइनखबरको जिज्ञासामा मिल सञ्चालक एवम् प्रदेश सांसद कानोडिया भने पन्छिन खोजे । सम्वादको सुरुमा किसानलाई भुक्तानी दिन बाँकी नरहेको दाबी गरेका कानोडियाले पछि भने ५० देखि ६० लाख रुपैयाँ हुनसक्ने भन्दै फोन काटे । ‘कहाँ भुक्तानी बाँकी छ, हामीले सबै पैसा किसानलाई दिएका छौं । बाँकी नै भए ५० देखि ६० लाख रुपैयाँ हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?