+
+

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने सम्झना

विकास रोकामगर विकास रोकामगर
२०७९ असोज २६ गते १६:४२

२६ असोज, पोखरा । राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करणमा विभागीय टिम नेपाल पुलिसको महिला क्रिकेट टिमले डेब्यु गरेको छ ।

पहिलो प्रतियोगिता खेल्न मैदान उत्रिएको पुलिसले अहिलेसम्म आफूले खेलेका दुवै खेल जितेर आफ्नो दाबेदारी पेश गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भइरहेको महिला त्रिकेटमा पुलिसलाई जिताउन बझाङकी सम्झना खड्काले उत्कृष्ट प्रदर्शनमात्रै गरिनन्, बुधबारको खेलमा पहिलो अर्धशतक प्रहार गरेकी छन् । दुवै खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत भइन् ।

सम्झनाले ४३ बल खेल्दै १० चौका मद्दतमा ६० रन बनाउँदा पुलिसले प्रदेश १ लाई १५९ रनको लक्ष्य दिएको थियो । कर्णालीविरुद्धको पहिलो खेलमा पनि उनले २१ बलमा २ चौकासहित २५ रन बनाएकी थिइन् ।

सम्झनाको यो विभागीय टिममा पहिलो अनुभव हो । यसअघि सुदूरपश्चिमको टिमबाट खेल्दै आएकी उनले ०७१ सालबाट बझाङबाट क्रिकेट खेल्न सुरु गरेकी हुन् । विभागीय टिमबाट मैदानमा छिर्दै गर्दा उनले आफूलाई पूरै समय टिकाएर खेल्ने र टिमलाई जिताउने नै मुख्य लक्ष्य राखेको प्रतिक्रिया दिइन् ।

‘प्रतियोगिताकै पहिलो फिफ्टी हान्न पाउँदा धेरै खुसी लागिरहेको छ,’ खेलपछि प्रतिक्रिया दिँदै सम्झनाले भनिन्, ‘ब्याटिङ गर्न जाँदा पनि पूरै खेल्छु, टिमलाई अगाडि बढाउँछु, जिताउँछु भनेरै गएको थिएँ ।’

सम्झनाले विभागबाट खेल्दा आफूलाई अझ बढी ‘एक्स्पोज’ गर्न पाएको प्रतिक्रिया दिइन् । ‘प्रदेशबाट खेल्दा खास्सै खेल देखाउन पाइएन । तर, यता (विभाग)मा देखाउन पाएँ,’ उनले भनिन्, ‘जहाँ पनि खेल्नुपर्छ । तर, मेरो पोजिसन यता (विभाग)का मान्छेहरुले बुझिदिए ।’

रुबिना क्षेत्रीको कप्तानीमा पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागी भएको नेपाल पुलिस क्लबमा उनीसहित ८ जना राष्ट्रिय खेलाडी सहभागी छन् । जसमा अधिकांश सुदूरपश्चिमकै खेलाडी छन् ।

सम्झनाले आफू पनि सुदूरपश्चिमकै खेलाडी भएकाले सजिलो भएको सुनाइन् । ‘टिममा धेरै सुदूरपश्चिमकै खेलाडी भएर पनि होला धेरै सजिलो भयो । बाँकी त आफ्नै मेहेनतले नै हो जस्तो लाग्छ मलाई,’ उनले भनिन् ।

सुदूरपश्चिमबाट खेल्दा पनि सम्झनाको राम्रो प्रदर्शन हुन्थ्यो । तर, त्यहाँ उनी तल्लो क्रममा खेल्थिन् । तर, विभागीय टिममा उनी अगाडि छिन् । यसले पनि आफ्नो प्रदर्शनीमा सुधार गर्न सहयोग मिलेको सम्झनाको सुनाउँछिन् । ‘एकदम सजिलो भइराखेको छ । क्याप्टेन, कोच सबैले मलाई बुझिदिनु भएको जस्तो लागिराछ । त्यही अनुसार पनि आफ्नो पर्फमेन्स गर्न पाएँ, खुसी लागिराखेको छ,’ उनले भनिन् ।

सम्झनाको अहिलेको प्रतियोगितामा आफ्नो क्लब पुलिसलाई गोल्ड मेडल दिलाएर बेस्ट ब्याटर बन्ने लक्ष्य छ । ८ जना राष्ट्रिय खेलाडीसँग सँगै खेल्न पाउँदा त्यसले आफूलाई पनि सहज भइरहेको उनको भनाइ छ । उनले भनिन्, ‘यो खेलबाट मलाई अझ कम्फर्टेबल हुन्छ भन्ने लागिराखेको छ ।’

कप्तान रुबिना क्षेत्रीले पनि सम्झनाको प्रदर्शन नेपालकै लागि उत्कृष्ट प्रदर्शन भएको बताइन् । ‘यो टिमको लागि मात्रै होइन, नेपालकै लागि गोल्डेन अपुरचुनिटी हो । यस्तो ब्याटर डोमेस्टिकमा देखिन्छ भनेपछि यो खुसीकै खबर हो,’ उनले भनिन् ।

कप्तान क्षेत्रीको नजरमा सम्भना कठोर परिश्रम गर्ने खेलाडीमै पर्छिन् । अन्य खेलाडीले पनि सम्झनाको खेल प्रेम र परिश्रमबाट सिक्नुपर्ने उनी सुझाउँछिन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?