+
+

नवौं राष्ट्रिय खेलकुद : भोलिदेखि हुने हक्कीका लागि मैदान अझै छैन तयार

हक्की संघले भन्यो- यस्तो मैदानमा खेल हुन सक्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १९:१०

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि हक्कीसहित ७ वटा खेल सुरु हुँदैछन् । तर, हक्की हुने भनिएको अघिल्लो दिनसम्म मैदान तयार छैन । घाँस समेत नकाटिएको भैदनमा खेल खेलाउन नसकिने हक्की संघले बताएको छ ।

पुरुष हक्की गौरीशंकर मैदान र महिला हक्की गण्डकी बोर्डिङको स्कुलमा बिहान ७ बजेदेखि सुरु हुने तय छ । तर, मंगलबार बेलुकीसम्म हक्की मैदान तयार नभएको नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष्। हिमाल खड्काले जानकारी दिए ।

‘आज बिहान ९ बजे गएर हेर्दा पनि मैदानमा मार्किङ गर्ने र भोलि बिहान ७ बजेदेखि खेल सुरु गर्ने सेड्युअल थियो । तर, केहीबेरअघि त्यहाँ कोही पनि थिएनन्,’ खड्काले भने, ‘मैदान खासमा महिना दिन अगाडि नै तयार हुनुपथ्र्यो । तर, त्यस्तो छैन ।’

उपाध्यक्ष खड्काले मैदानको जिम्मा खेल मैदान व्यवस्थापन उपसमितिलाई नै दिइएको जानकारी दिए । उनकाअनुसार उपसमितिले जिम्मा दिएको ठेकेदार कम्पनीले मैदान मर्मत नगर्दा समस्या उत्पन्न भएको हो ।

‘हामी महिना दिनअगाडिबाटै कराएको करायै छौं । तर, आज बिहानसम्म सम्बोधन भएन । अझै पनि मैदान नबनाउने हो भने कुनै हालतमा खेल खेलाउन सकिँदैन भनेर सदस्य सचिवज्युलाई जानकारी दिइसक्यौं,’ खड्काले अनलाइनखबरसँग भने, ‘मैदानको जिम्मा लिएको ठेकेदार सम्पर्कमा छैन । खेल के हुने हो थाहा छैन ।’

अहिले पोखरा २५ को वडा कार्यालयको सहकार्यमा गौरीशंकर मैदानको मर्मत गर्ने काम भइराखे पनि समयमै खेल उद्घाटन गर्न असम्भव रहेको संघले जनाएको छ ।

‘अहिलेसम्म हामी भोलि खेल ओपनिङ गर्न सक्ने अवस्थामा छैनौं । रातभरि काम गरेर, घाँस काटेर, रोलरले पेल्न सकियो भने भोलि बिहान मार्किङ गर्न सकिएला,’ संघका उपाध्यक्ष खड्काले भने, ‘त्यस्तो गर्दा पनि बिहान तोकिएको समयमा कसैगरी खेल सुरु गर्न सकिँदैन ।’

अहिले ६ जना कर्मचारीले घाँस काटिरहेको तर, हातले घाँस काट्न पनि करिब ३ दिन लाग्ने खड्काले बताएका छन् । ‘हातले घाँस काटेर सक्न सम्भव नहुने देखेपछि अहिले मेसिन ल्याइएको छ । तर, त्यसले पनि राम्रोसँग काम गर्दैन । खेल के हुने अहिलेसम्म अत्तोपत्तो छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?