+
+

माओवादीमा टिकट नपाएर खिन्न युवा नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १९:५८

२७ असोज, काठमाडौं । दुई वर्षअघि ५ पुसको प्रतिनिधिसभा विघटनका बेला सडक तताउन नेतृत्वले बिहान बेलुकै युवाहरुलाई खोज्दा उनीहरुलाई लाग्थ्यो, अब नेतृत्वको अवसर पनि हामीतिरै सर्दैछ । अध्यक्ष पुष्पकमल दाहालसँग सिधा टेलिफोन जोडिँदा उनीहरु प्रफुल्ल थिए । त्यसै अनुरुप सक्रियता बढाउँदै गए ।

नेकपा माओवादी केन्द्रका धेरै युवा नेताहरुले यसपालीको संघीय चुनावमा टिकट पाइने आशा राखेका थिए । त्यही आशामा उनीहरु आआफ्ना क्षेत्रतर्फ तयारीमा समेत लागे । तर, सत्ता गठबन्धनभित्रको लामो रस्साकस्सीपछि माओवादीले आफूले पाएको सिटमा टिकट बाँड्दा अधिकांश युवा आकांक्षी अटाएनन् । टिकट नपाएका युवामध्य केही असन्तुष्ट छन् । बोलीबाटै थाहा हुन्छ, उनीहरु खिन्न मन बनाएर बसेका छन् ।

लेखनाथ न्यौपानेको नाम तिनीहरुमध्ये अग्रपंक्तिमा नै आउँछ ।

माओवादी युवा नेता लेखनाथ न्यौपाने गोरखा–२ बाट प्रतिनिधिसभाको चुनावका लागि टिकटका आकांक्षी थिए । गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं गएपछि उनको टिकट संकटमा पर्‍यो । टिकटका लागि आफू कुनै नेताकोमा नधाउने भएकाले आफूले टिकट नपाउनेमा निश्चित जस्तै भएको भए पनि आफू स्वाभाविक दावेदार भएको उनको भनाइ छ ।

‘मभन्दा सिनियिर नेताहरु नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य भइरहेको र हितराज पाण्डेको समानुपातिकमा नाम समावेश भएपछि गोरखाको २ नम्बरमा स्वतः मैले टिकट पाउने (प्रदेशले गरेको प्रस्तावको आधारमा) अवस्था हो तर हाम्रै पार्टीको अध्यक्षले ‘म त्यही गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएँ’ भनेपछि म त्यो पार्टीको सदस्य हुनुको नाताले स्वतः पछाडि हट्ने र पार्टीको चिन्हमा चुनाव लड्ने प्रतिनिधिहरुलाई जिताउने अभियानमा लाग्ने कुरा भइहाल्यो,’ उनले फेसबुकमा लेखेका छन् ।

आफूभन्दा जुनियर, अनि ठिकठिकै मात्र योगदान गरेका कतिपयले टिकट पाउँदै गर्दा हिमाल शर्मा पछि परे । कतिसम्म भने उनी त्रिभुवन विश्वविद्यालयमा स्ववियुमा सभापति छँदा सचिव बनेकी मानुषी यमीले टिकट पाउन कुनै दुःखै गर्नुपरेन ।

माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज समेत रहेका हिमाल शर्मा काठमाडौं–६ मा प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे । तर, सत्ता गठबन्धनमा यो क्षेत्र नेपाली कांग्रेसलाई पर्‍यो । शर्माले गठबन्धनका कारण आफूले त्यहाँ टिकट नपाएको बताए । ‘संघमा हामीलाई गठबन्धनबाट भागबन्डा नै परेन,’ उनले भने, ‘प्रदेशमा साथीहरु सिफारिस भएका थिए, उहाँहरु नै जानुभयो ।’

माओवादीको युवा संगठन वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भक्तपुर–२ बाट प्रतिनिधिसभाको चुनाव लड्न चाहेका थिए । माओवादीबाट उनको नाम एकल रुपमा सिफारिस समेत भएको थियो । तर, गठबन्धनको भागबन्डामा उक्त क्षेत्र नेपाली कांग्रेसले लिएपछि उनले टिकट पाएनन् ।

टिकट नपाएपछि उनले, दावी भए पनि नपुगेको र आफू भन्दा योग्य अरु उम्मेदवार नै रहेछन् भनेर चित्त बुझाउनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । ‘दावी थियो, पुगेन,’ उनले फेसबुकमा लेखेका छन्, ‘हामीभन्दा योग्य उम्मेदवारहरु अहिले उठेका उम्मेदवारहरु होलान् भनेर सकारात्मक बुझाई बनाऔं । गठबन्धनका बाध्यता र अप्ठ्याराहरु पनि थिए होला ।’

उनले लाभका पदहरु हासिल गर्न मात्रै राजनीति नगरेको र त्यो नपाइए राजनीति नसकिने भन्दै टिकट पाउनेलाई जिताउनेतर्फ लाग्न समेत आग्रह गरेका छन् । ‘टिकट नै अन्तिम सत्य होइन,’ उनले भनेका छन्, ‘अवसरहरु फेरी आउँछन् या नआउन पनि सक्छन् तर पाउनेलाई जिताउन लागौं ।’

रमेश मल्ल सल्यानमा प्रतिनिधिसभाको टिकटका आकांक्षी थिए । गठबन्धनबाट माओवादीले टिकट पाएको खण्डमा मल्ललाई नै टिकट दिने गरि टेकबहादुर बस्नेत र उनको नामा जिल्लाबाट सिफारिस भएको थियो । यसअघि माओवादी केन्द्रले नै जितेको क्षेत्र भए पनि यसपाली नेकपा एकीकृत समाजवादीले पायो । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव समेत रहेका मल्लले माओवादीको भागमा नपरेकाले आफूले टिकट नपाएको बताए ।

नेतृत्वले झापा–५ मा टिकट दिने आश्वासन दिएपछि रन्जित तामाङले उक्त क्षेत्रमा पुगेर प्रचार–प्रचार समेत सुरु गरिसकेका थिए । मतदाता कहाँ पुगेर उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मत समेत माग्न थालेका थिए । तर, अन्तिममा उक्त क्षेत्र नेपाली कांग्रेसले लियो ।

टिकट नपाएका तामाङले शीर्ष नेतृत्वलाई अघोषित रुपमा जितका लागि सघाउन आफूलाई टिकट नदिएको दावी गरे ‘शीर्ष नेताहरुको क्षेत्रमा देशभरी उम्मेदवारी दिएको अवस्था हेर्दाखेरि उनीहरुले एकअर्कालाई सहयोग पुर्‍याउन अघोषित साँठगाँठ गरेजस्तो देखियो,’ उनको भनाइ छ, ‘राजनीतिमा अब युवा पुस्ता आउनुपर्छ, नयाँ पुस्ता आउनुपर्छ भन्ने जुन कुरा थियो, त्यसलाई शीर्ष नेताहरुले त्यसको अस्वीकार गर्न खोजेको जस्तो देखियो ।’

विजय गौतम मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकटको आकांक्षी थिए । माओवादीले गठबन्धनको भागबन्डामा मकवानपुरका दुईवटै प्रतिनिधिसभाको क्षेत्र पाएन । संघमा नपाए पनि उनी प्रदेशसभामा भए पनि चुनाव लड्न तयार थिए ।

पार्टीकै नेता दोहोरिन चाहेपछि प्रदेशसभाको टिकट पनि सम्भव नभएको गौतमले बताए । ‘युवाहरुलाई ल्याउनुपर्छ र युवाहरुबाट नै आकर्षण पैदा हुन्छ भन्ने जनमानसमा भएको कुरालाई ख्याल गरिएन,’ उनले भने, ‘त्यसमा गठबन्धन र अन्य कारणहरु पनि छन् ।’

युवा आकांक्षीमध्ये केहीले भने टिकट पाएका छन् । माधव सापकोटाले सिन्धुपाल्चोक–१ मा प्रतिनिधिसभाको टिकट पाएका छन् । रामदीप आचार्य समानुपातिक सूचीमा समेटिएका छन् ।

अर्का युवा नेता युवराज चौलागाईंले रामेछापको प्रदेशसभामा टिकट पाएका छन् । प्रतिनिधिसभाको आकांक्षी रहेका चौलागाईंले प्रदेशसभा ‘ख’ को टिकट पाएका छन् ।

संघको अपेक्षा राखेका युवराज दुलाल फेरि प्रदेशसभामै दोहोरिएका छन् । त्यस्तै माओवादीको बागमती प्रदेश अध्यक्ष समेत रहेका सरल सहयात्री पौडेलले पनि सिन्धुपाल्चोकबाट प्रदेशसभाको टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?