+
+

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन आज

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते ७:३६

२८ असोज, कास्की । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन् । उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् ।

नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुने खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी दिए । अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ ।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल हुने छैन ।

आगामी कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।

कुन खेल कहाँ ?

एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रंगशालामा हुनेछन् । आर्चरी र फेन्सिङ पनि पोखरा रंगशालामा हुनेछ ।

यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्समा हुनेछन् । साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुने छन् ।

रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।

पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने छ भने म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ । बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ ।

नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ ।

पूर्वाधार अभावका कारण सुटिङ भने काठमाडौंमा खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?