+
+

साइत हेराएर रेखाको घरदैलो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १८:५१

२९ असोज, विराटनगर । मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा थापाले साइत जुराएर घरदैलो अभियान सुरु गरेकी छन् ।

राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी थापा गत भदौयता कार्यकर्ता भेटघाट र मतदातासँग भेटघाट गरिरहेकी थिइन् ।

शुक्रबार भने ज्योतिषले भनेको साइत अनुसार बिहान ८ बजेर ५ मिनेटबाट घरदैलो सुरु गरेकी हुन् । ज्योतिषले चुनाव जित्ने बताएपछि उनले साइत अनुसार पथरीशनिश्चरे नगरपालिकामा रहेका सिवालयबाट घरदैलो सुरु गरेकी हुन् ।

उनले १५ दिनभित्र घरदैलो सक्ने योजना बनाएकी छन् । घरदैलोपछि थप कार्यक्रम लिएर जनतामाझ जाने उनको योजना छ ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट मेडिकल व्यावसायी सुनिल शर्मा र एमालेबाट पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल चुनावी मैदानमा छन् ।

२०७४ सालको निर्वाचनमा शर्मा र ढकाल मुख्य प्रतिस्पर्धी थिए । यो पटक भने रेखाको उम्मेदवारीसँगै त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । यो क्षेत्रमा राप्रपाको संगठन कमजोर भए पनि अभिनेत्री समेत रहेकी थापाको घरदैलोमा सर्वसाधारणको उपस्थीति उल्लेख्य छ ।

मोरङ–३ मै पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा घरदैलोमा जादा आफू नेता नभइ छोरी, दिदीबहिनीका रुपमा प्रस्तुत गर्छिन् । घरदैलोमा उनीसँग फोटो खिच्ने र बोल्न चाहनाको भिड लाग्छ ।

थापा आफू क्षेत्र नम्बर ३ को छोरी र दिदीबहिनी भएर काम गर्ने भएका कारण सबैको साथ पाएको बताउछिन् । ‘म नेता होइन, छोरी दिदीबहिनी भएर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘सधैं जनतासँगै रहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?