काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सवीर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।
सोमबार रेखाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर प्रदर्शन मितिको घोषणा गरिएको हो ।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मले प्रदर्शन मिति तय गरेसँगै यसको प्रचारप्रसारलाई समेत गति दिने तयारी निर्माण पक्षको छ । घटस्थापनाका दिन फिल्मको पहिलो गीत सार्वजनिक गरिने भएको छ ।
निर्देशक श्रेष्ठले निर्देशन गरेको ‘छत्तीसको आँकडा’को कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ । रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक गरिएको पोस्टरले पनि यी दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो ।
पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखाले पूजा शर्मालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । रेखाको अनुहारमा संघर्षपछि प्राप्त सफलताको भाव देखिँदा पूजाको पात्र भने अझै प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । यही पोस्टरपछि चलचित्रको कथालाई लिएर दर्शकमाझ चासो बढेको थियो ।
फिल्म ‘छत्तीसको आँकडा’मा रेखा र पूजासहित महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ ।
रेखाको जोडीका रूपमा अभिनेता त्रिपाठी देखिनेछन् भने पूजासँग अभिनेता पुष्प खड्का प्रस्तुत हुनेछन् । यसमा पहिलो पटक पुष्प र पूजा जोडी भएर एकसाथ देखिन लागेका हुन् । यस फिल्ममार्फत रेखा र निरुता सिंहले पनि लामो समयपछि सहकार्यलाई गरेका छन् । यी दुईले यसअघि चलचित्र ‘दुई पल’ मा सँगै अभिनय गरेका थिए ।
निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘राम प्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’, ‘कसले चोर्यो मेरो मन’ जस्ता फिल्ममा सहकार्य गरेका छन् । रेखा र पूजाले चलचित्र ‘उपहार’पछि पुनः सहकार्य गर्न लागेका हुन् ।
प्रतिक्रिया 4