+
+

पहिलो त्रैमाससम्म २२३ अर्ब चालु खर्च, पूँजीगत मात्र १९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १८:०५
फाइल तस्वीर

१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म साढे १५ प्रतिशत बजेट खर्च भएको छ । यसमा चालु खर्चको अंश ठूलो देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ । पहिलो त्रैमासमा भएको यो खर्च चालु आवमा सरकारले विनियोजन गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको १५.५१ प्रतिशत बराबर हो ।

नजिकिएको निर्वाचन र चाडबाडका कारण सरकारको चालु खर्चमा उच्च चाप देखिएको छ । असोज महिनामा मात्र १ खर्ब १५ अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च भएको छ । असोज मसान्तसम्म १ अर्ब ८ अर्ब रुपैयाँ मात्र भएको चालु खर्च असोजमा २ खर्ब २३ अर्ब ७५ करोड पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ । चालु खर्च कुल लक्ष्यको १८.९१ प्रतिशत भएको छ ।

उता, पूँजीगत खर्चको गति भने साविकमा जस्तै सुस्त देखिएको छ । यद्यपि असोज महिनामा अघिल्लो महिनाको तुलनामा पूँजीगत खर्चमा समेत केही सुधार देखिन्छ । असोज मसान्तसम्म पूँजीगत खर्च १९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म पूँजीगत खर्च मात्र ५ अर्ब ८६ करोड रहेको थियो । एक महिनामा १३ अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च भएको छ ।

सामान्यतया त्रैमासको अन्तिम महिनामा हुने भुक्तानीका कारण पूँजीगत खर्चमा केही गति देखिन्छ । असोजसम्मको पूँजीगत खर्चको प्रगति मात्र ५.१७ प्रतिशत हो । यस वर्ष सरकारले ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य लिएको छ ।

उता, असोज मसान्तसम्म वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १५.०९ प्रतिशत हो । वित्तीय व्यवस्थामा सरकारले २ खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ पहिलो तीन महिनाको बजेट खर्च

बजेट विनियोजन असोजसम्मको खर्च प्रतिशत
चालु ११ खर्ब ८३ अर्ब २ खर्ब २३ अर्ब १८.९१
पूँजीगत ३ खर्ब ८० अर्ब १९ अर्ब ६८ करोड ५.१७
वित्तीय व्यवस्था २ खर्ब ३० अर्ब ३४ अर्ब ७३ करोड १५.०९
कुल १७ खर्ब ९३ अर्ब २ खर्ब ७८ अर्ब १५.९१

राजस्व संकलन सुस्त

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमा पहिलो तीन महिनामा मात्र १४.८७ प्रतिशत प्रगति देखिएको छ । असोज मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो कर र गैरकर दुवै राजस्वको कुल योग हो ।

कर राजस्व १ खर्ब ८९ अर्ब ३८ करोड र गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । यसबीचमा अनुदान मात्र ७९ करोड रुपैयाँ प्राप्त भएको छ । अन्य आम्दानी २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको गरेको सरकारको समग्र आम्दानी समेत खुम्चिएको अवस्था देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?