+
+

गज्जबको कफी सप : ज्ञानी ग्राहकलाई छुट, खराब व्यवहार गर्नेलाई दोब्बर बिल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १६:५४

जब हामी कुनै रेस्टुरेन्ट वा क्याफेमा जान्छौं, तब त्यहाँका स्टाफसँग हामीले अवश्य पनि राम्रै व्यवहार गर्दछौं । त्यहाँ खानपानको अर्डर दिंदा पनि हाम्रो व्यवहार सायद खराब हुँदैन । कर्मचारीहरुले पनि सायद सबै ग्राहकबाट यस्तै असल व्यवहारको अपेक्षा गरेका हुन्छन् । तर सबै मानिसको स्वभाव एउटै कहाँ हुन्छ र ?

कतिपय निकै खराब व्यवहारयुक्त तथा बदमास ग्राहकहरु पनि रेस्टुरेन्टमा छिरेका हुन्छन् । आखिर व्यवसाय न हो, रेस्टुरेन्टका कर्मचारी तथा मालिकले सबैखाले ग्राहकलाई झेल्नुपर्छ । असल आनीबानी भएका ग्राहकहरु मात्र आउन् भन्ने अपेक्षा राख्ने रेस्टुरेन्टले ज्ञानी ग्राहकलाई के सित्तैंमा खुवाउँछन् त ? सित्तैंमा खोज्ने त कुरा भएन ।

तर बेलायतको एउटा क्याफेले यस्ता असल तथा ज्ञानी ग्राहकलाई केही रकम छुट दिन्छ । उक्त कफी सपले खराब व्यवहार भएका तथा बदमास ग्राहकबाट भने बिलमा भएको भन्दा दोब्बर पैसा असुल्छ ।

बेलायतमा रहेको चाई स्टप नामक उक्त कफी पसलमा यस्तो अनौठो नियम छ, जुन पछिल्ले समय सोसल मिडियामा निकै चर्चाको विषय बनिरहेको छ । क्याफेले आफ्नोमा आउने ग्राहकका लागि यस्तो अनौठो अफर ल्याएको हो । त्यहाँ आउने सबै ग्राहकलाई असल व्यवहार दर्शाउनका लागि प्रेरित गरिन्छ । त्यसरी असल व्यवहार देखाउने ग्राहकलाई क्याफेले उनीहरुको बिलमा छुट दिन्छ । उता खराब आचरण देखाउने ग्राहकबाट भने रेस्टुरेन्टले दोब्बर बिल असुल्छ ।

उक्त क्याफेभित्र गएर चर्को आवाजमा बोल्ने वा कर्मचारीमाथि अपशब्द बोल्ने ग्राहकले जरिवाना स्वरुप दोब्बर रकम तिर्नुपर्छ ।

रोचक त के भने यदि तपाईंले खाना अर्डर गर्दा कृपया भनेर बोल्नुभयो भने साढे ७ सय पर्ने चिज ३७५ रुपैयाँ बराबरको मूल्यमै पाउनुहुन्छ । त्यस्तै खराब व्यवहार देखाउने ग्राहकलाई भने साढे ७ सय रुपैयाँ मूल्य पर्ने उक्त चिजलाई १५ सय रुपैयाँ बराबरको रकम तिराइन्छ ।

उक्त क्याफेका मालिक २९ वर्षीय उस्मान हुसेनका अनुसार ग्राहकलाई असल व्यवहारका लागि प्रेरित गर्न यस्तो योजना अघि सारिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?