+
+

बच्चाको उमेर अनुसार कति हुनुपर्छ तौल र उचाइ ?

डा. आरपी चौधरी डा. आरपी चौधरी
२०७९ कात्तिक १० गते ९:३१

बच्चा स्वस्थ भएमा उनको उमेर अनुसार उनीहरुको निश्चित तौल र उचाइ हुनेगर्छ । यदि उमेर अनुसार तौल र उचाइ घटबढ भएमा बच्चामा कुनै स्वास्थ्यमा कुनै समस्या छ कि भनेर शंका गर्न सकिन्छ । अतः कुन उमेरको बच्चाको तौल र उचाइ कति हुनुपर्छ  ? के कारणले उनीहरुको तौल र उचाइ असन्तुलित हुन्छ ?

बच्चाहरूको तौल र उचाइ उनीहरूको उमेर अनुसार छ भने बच्चा स्वस्थ र उनीहरुले पाउने आहार राम्रो छ भन्ने बुझ्न सकिन्छ । बच्चाहरु बढ्दै जाँदा उमेर र तौल बढ्नु सामान्य र जरुरी प्रक्रिया हो । उमेर अनुसार बालबालिकाको उचाइ र तौलको विकास भैरहेको छैन भने कतै केहि त कमी छ भन्ने बुझ्नुपर्ने हुन्छ । यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

नवजात शिशुको सही तौल :

कुनैपनि शिशु जन्मनसाथ तौल लिन गरिन्छ । सामान्यत ३ किलोको शिशुलाई स्वस्थ मानिन्छ । यसमा पनि छोरा र छोरीको तौल केही फरक हुनसक्छ । छोराको ३ दशमलव ३ किलो र छोरी ३ दशमलव २ किलो भएको राम्रो हो ।

१ वर्ष देखि १० वर्षसम्मको उमेर औसत तौल र उचाइ

१ वर्ष

१ वर्षमा बच्चाको तौल ९ दशमलव २ किलो ग्राम र उचाइ २९ दशमलव २ इन्चको सेरोफेरोमा हुनु स्वस्थ मानिन्छ ।

२ वर्ष

दुई वर्षको बच्चाको तौल बच्चा  १२ किलो हुनुपर्ने र लगभग उचाइ ३३ दशमलव ५ इन्च हुनुपर्ने हुन्छ ।

३ वर्ष

३ वर्षको बच्चाको तौल १४ दशमवल २ किलोग्राम हुनुपर्छ । यसैगरी उनीहरुको औसत उचाई ३७ इन्च हुनुपर्छ ।

४ वर्ष

४ वर्षको बच्चा छ भने उनको तौल १५ दशमलव ४ किलोग्राम हुनुपर्छ । उचाई लगभग ३९ दशमलव ५ इन्च हुनुपर्छ ।

५ वर्ष

५ वर्षको बच्चाको तौल लगभग १७ दशमवल ९ किलोग्राम हुनुपर्छ । यो उमेरमा बच्चाको उचाई औसत ४२ दशमलव ५ इन्च हुनुपर्छ ।

६ वर्ष

६ वर्षको बच्चाको तौल  १९ दशमलव ९ किलोग्राम हुनुपर्छ । लगभग उचाइ  ४५ दशमलव ५ इन्च हुनु राम्रो हो ।

७ वर्ष

७ बर्षको बच्चाको तौल २२ दशमलव ४ किलोग्रामको आसपासमा भएको राम्रो । उनको उचाई ४७ दशमलव ७ इन्च भएको उचित हुन्छ ।

८ वर्ष

८ वर्ष उमेर पुगेको बच्चाको तौल लगभग २५ दशमलव ८ किलोग्राम हुनुपर्छ । उनको उचाई ५० दशमलव ५ इन्च आसपासमा हुनुपर्छ ।

९ वर्ष

९ वर्षको बच्चाको तौल लगभग २८ दशमलव १ किलोग्राम हुनुपर्छ । उमेर अनुसार उनको उचाई ५२ दशमलव २ इन्च हुनुपर्छ ।

१० वर्ष

१० वर्षको उमेरमा बच्चाको तौल ३१ दशमलव ९ किलोग्राम उत्तम मानिन्छ । उनको उचाई ५४ दशमलव ५ इन्च भएको राम्रो ।

बच्चाको स्वभाविक वृद्धि विकास

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शिशु जन्मँदाको उचाई कम्तीमा ४५ देखि ५० सेमी  र तौल २ दशमलव ५ देखि ३ दशमलव ४ केजी हुनुपर्छ  ।

त्यस्तै, शिशुको उमेर १ वर्ष पुग्दा २५ सेमी र तौल २ दशमलव ५ केजी, दोस्रो वर्षमा १२ दशमलव ५ सेमी र तौल २ दशमलव ५ केजी थप हुनुपर्दछ । तेस्रो, चौथो र पाँचौ वर्षमा ७ देखि ९ सेमी हुँदै वृद्धि हुनु पर्दछ । सोही अनुपातमा तौल पनि तेस्रो, चौथो र पाँचौ वर्षमा २–२ केजीका दरले थप हुँदै जानु पर्छ ।

वंशानुगत कारणले पनि बच्चा अग्लो–होचो हुनसक्छ

बुबाआमाको दुवैतर्फको ३ पुस्ताको औषत उचाइ के थियो भन्ने कुराले पनि बच्चाको उचाई मोटाई निर्धारण गर्छ । उनीहरुको कम उचाइ छ भने सन्तानमा पनि कम उचाइको हुनसक्छन् ।  त्यस्तै, बढी उचाईका छन् भने सन्तानका पनि बढी उचाई हुनेगर्छ । यसलाई अस्वस्थ्य भन्न मिल्दैन ।

यद्यपि गर्भदोष, उचित स्यहारसुसार नहुँदा, पोषण नपुग्दा कतिपय बच्चा अस्वभाविक होचो, दुब्लो हुनसक्छ । यसैले बच्चा होचो, दुब्लो, अग्लो, मोटो हुनुमा उनको पारिवारिक पृष्टभूमीलाई पनि केलाउनुपर्ने हुन्छ ।

गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ

स्वस्थ बच्चा हुनमा आमाको खानपानको पनि विशेष भूमिका हुन्छ ।  गर्भवती अवस्थामा खानपान र नियमित स्वास्थ्य जाँच गराएको छ भने सन्तान पनि स्वस्थ जन्मने गर्छ । आमामा हाइपोथाईराइड  छ भने   बच्चाको तौल  बढी बढ्न सक्छ । त्यस्तै, आमाले गर्भमा शिशु रहँदा धुम्रपान र मद्यपान गर्ने बानी छ भने पनि जन्मिने शिशुको तौल र उचाइमा पछि असर पर्ने हुन्छ ।  त्यसबाहेक जन्मिदा कम तौलमा जन्मिएको छ भने पनि सन्तुलित भोजन गराएमा बच्चा सामान्य बच्चा जस्तै स्वस्थ हुनसक्छ ।

के कारणले बच्चाको उमेर अनुसार उचाइ र तौल असन्तुलित हुनसक्छ ?

बच्चामा पौष्टिक आहारको कमी, क्यालरी नपुगेमा, राम्ररी खानेकुरा नखाइदिएमा, संक्रमण भएमा, पाचनप्रणालीमा समस्याले पनि  बच्चाको उमेर अनुसार उचाई र तौल असन्तुलित हुनसक्छ । त्यसबाहेक दीर्घरोग जस्तै मुटुमा प्वाल हुँदा पनि बच्चाको तौल नबढ्ने हुनसक्छ । उनीहरुमा पटक–पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ । पोषण चाहिने बेलामा अझ खान नसक्ने भएर तौल नबढ्ने हुनसक्छ ।

तौल र उचाइमा धेरै नै अन्तर आएमा बच्चामा समस्या पनि हुनसक्छ । जसको कारण पौष्टिक आहारको कमी हुनसक्छ । उमेर अनुसार तौल र उचाइ बढाउनका लागि बालबालिकाको डाइट चार्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ । राम्रो आहारविना बच्चाहरू बढ्न सक्दैनन् ।  बालबालिकाको उचाइ र तौल उनीहरुको खानामा भर पर्छ । बालबालिकालाई सुरुमा खानाको रुपमा मिनरल, प्रोटिन, भिटामिन, फाइबरयुक्त पौष्टिक तत्व खुवाइने हो भने शारीरिक विकाससँगै बालबालिकाको मानसिक विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?