+
+

‘कान्तारा’ स्टार ऋषभ सेट्टी भन्छन्- बलिउड गाउँसँग जोडिएन, हलिउडबाट प्रभावित बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १३:२१

काठमाडौं । निर्देशक तथा अभिनेता ऋषभ सेट्ठीले कहिल्यै सोचेका थिएनन् कि उनको फिल्म ‘कान्तारा’ ब्लकबस्टर बन्नेछ । फिल्मको सफलता कुनै सपनाभन्दा कम होइन ।

क्षेत्रीय लोककथा र रीतिरिवाजको कथावस्तुमा बनेको यो फिल्मको बजेट जम्मा १६ करोड भारु मात्र हो । तर आजसम्म यो फिल्म दोस्रो सर्वाधिक धेरै कमाइ गर्ने कन्नड भाषाको फिल्म मात्र बनेको छैन, यस वर्ष धेरै कमाउने फिल्ममध्ये एक पनि बन्यो ।

ऋषभले सुरुमा यो फिल्मलाई कन्नड भाषामा मात्र बनाएका थिए । तर यो फिल्मको चर्चा यसरी फैलियो कि हिन्दीभाषी बजारको लागि पनि डब गरेर रिलिज गरियो ।

‘कान्तारा’को सफलतालाई देखेर बलिउड फिल्मकर्मी पनि हैरान छन् । कन्नड मात्र होइन, हिन्दी बेल्टमा समेत यसले तहल्का मच्चाइरहेको छ । आखिर यो फिल्म किन चल्यो भन्ने बारेमा ऋषभले केही कुरा गरेका छन् ।

हालैको एक अन्तर्वार्तामा ऋषभले बलिउड गलत बाटोमा हिंडिरहेको र दक्षिणका फिल्मले जसरी सफलता पाउन नसकेको बताएका छन् । ऋषभ कान्ताराको सफलताको श्रेय यसको प्याकेजिङलाई मान्छन्, जसको जरा कर्नाटक संस्कृतिको गहिराइसम्म पुगेको छ ।

हिन्दूस्तान टाइम्ससँगको अन्तर्वार्तामा उनले फिल्ममा जति गहिराइमा क्षेत्रीय प्रभावलाई चित्रण गरिन्छ, उति नै यसले युुनिभर्सल अपील बोक्न सक्ने बताएका छन् ।

उनी भन्छन्, ‘यदि तपाईं आफ्नो क्षेत्र र परिचित दुनियाँको बारेमा कथा भन्नुहुन्छ, उति नै धेरै दर्शकमाझ पुग्नुहुन्छ । यो दृष्टिकोण आजकल बलिउड फिल्म निर्माताले बिर्सिरहेका छन् ।’

आफूहरुले आफ्नो लागि नभएर दर्शकको लागि फिल्म बनाउने कुरा पनि उनले बताए । ‘हामीले दर्शक र उनीहरुको भावनालाई ख्यालमा राख्नुपर्छ । हामीले उनीहरुको मूल्यमान्यता र जीवनशैली के हो भनेर हेर्नुपर्छ । म फिल्ममेकर बन्नुअघि नै उनीहरुप्रति ध्यान गएको थियो । तर यतिबेला बलिउडकर्मी पश्चिम र हलिउडबाट प्रभावित भएर त्यहाँका कन्टेन्टलाई लागु गर्ने प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘यो चीज दर्शकलाई पहिलेदेखि नै हलिउडबाट मिलिरहेको छ र उनीहरुले गुणस्तरीय प्रस्तुति दिइरहेका छन् ।’

ऋषभले यो कुरा पनि भनेका छन् कि दर्शकले ओटीटीबाट हलिउड र पश्चिमा कन्टेन्ट प्राप्त गरिरहेका छन्, तर उनीहरुले ती प्लेटफर्मबाट आफू रिलेट हुने कथावस्तु पाएका छैनन् । ‘ओटीटीमा एउटा चीज पाइएको छैन त्यो हो गाउँको कथा । यो कुरा संसारमा अन्त कहीं मिल्दैन,’ उनी भन्छन्, ‘तपाईंको क्षेत्रमा धेरै कथा छन् र त्यसलाई दर्शकमाझ ल्याउन जरुरी छ ।’

कान्ताराले ३३ दिनमा विश्वव्यापी ३०९ करोड भारु कमाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?