+
+

तनहुँ २ मा पूर्व वनमन्त्रीहरुको प्रतिस्पर्धा

२०७४ को निर्वाचनमा तनहुँ-२ बाट पराजित नेपाली कांग्रेसका शंकर भण्डारी यसपटक सत्तारुढ गठबन्धनको बलमा निर्वाचित हुने दाउमा छन् । २०७४ मा प्रदेशसभामा निर्वाचित एमालेका किरण गुरुङ गठबन्धनभित्रको अन्तरविरोधबाट मत तान्दै प्रतिनिधिसभामा निर्वाचित हुने आशमा छन् ।

सविन लामिछाने सविन लामिछाने
२०७९ कात्तिक २६ गते १३:२२

२६ कात्तिक, तनहुँ । तनहुँ–२ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर पोखरेलसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् । पार्टी संगठन, गठबन्धन र उम्मेदवारको व्यक्तित्वका आधारमा मुख्य प्रतिस्पर्धा पूर्ववनमन्त्री गुरुङ र भण्डारीबीच हुने देखिएको छ ।

यी दुबै नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेलामा वन मन्त्रालयको जिम्मेवारी पाएका थिए । गुरुङ २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन पछि नेकपा एमालेको समर्थनमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बन्दा वनमन्त्री थिए । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्दा भण्डारी २०७३ सालमा वनमन्त्री भएका थिए ।

भिमाद नगरपालिका ९ को भानुमतीका बासिन्दा गुरुङले यो ठाउँबाट ३ पटक चुनाव जितिसेकका छन् । तत्कालीन तनहुँ–३ बाट २०४८ सालको आम निर्वाचन, २०६४ सालको संविधान सभा चुनाव जितेका गुरुङ २०७४ मा भने तनहुँ–२ को प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी २०७० को चुनावमा तनहुँ १ बाट निर्वाचित भएका थिए । २०७४ मा तनहुँ–२ मा पराजित भएका उनी यसपालि पनि दोहोरिएर उम्मेदवार बनेका हुन् ।

तनहुँ–१ मा पर्ने भानु नगरपालिका–९ पुर्कोटका बासिन्दा भएका कारण भण्डारीलाई क्षेत्र नम्बर २ मा प्रतिद्वन्द्वीहरुले ‘टुरिस्ट उम्मेदवार’ भन्ने गरेका छन् ।

नेकपा एमालेका जिल्ला सचिव राजेश्वर ढकाल गठबन्धनका उम्मेदवार ‘टुरिष्ट’ भएको तर आफूहरुका उम्मेदवार गुरुङ स्थानीय रहेको र केन्द्रीय स्तरका नेता पनि भएकाले चुनाव जित्ने बताए ।

‘अर्कै क्षेत्रको नेताले कसरी अरु क्षेत्रको जनताको समस्या बुझन सक्छ ?’ उनले भने, ‘जनताको समस्या बुझ्न त त्यही क्षेत्रको नेता आवश्यक पर्छ नि ।’

तनहुँ– २ बाट टिकटका दाबेदार कांग्रेसका युवा नेता प्रदीप पौडेललाई काठमाडौं ५ मा पठाएर भण्डारी यहाँबाट उम्मेदवार बनेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल आफू तनहुँ–१ बाट उठ्न भण्डारीलाई २ मा पठाएको चर्चा पनि तनहुँमा छ ।

तनहुँ–१ मा भण्डारीको पहलमा केही विकास निर्माणका काम भए पनि क्षेत्र नम्बर २ मा खासै भएको छैन । यो क्षेत्रमा भण्डारीको लोकप्रियता धेरै नरहेको कांग्रेसकै नेताहरु पनि बताउँछन् । तर भण्डारीले भने गठबन्धनको मतको कारण आफ्नो जित निश्चित रहेको दावी गर्छन् ।

नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीले तनहुँको विकासका लागि भण्डारीको जित आवश्यक रहेको बताए । ‘मैले उहाँसँगै घरदैलो गरिरहको छु’, अधिकारीले भने, ‘अघिल्लो पटक जितेका नेताले आवश्यकता पूरा नगरेको जनताको गुनासो छ ।’

२०७४ मा चुनाव जितेका नेकपा एमालेका केदार सिग्देलले जनअपेक्षा अनुसार काम नगरेको र आफूहरुलाई गठबन्धनको साथ रहेकाले जित निश्चित रहेको अधिकारी दाबी गर्छन् ।

भण्डारीले गठबन्धनको साथलाई चुनाव जित्ने एउटा आधार बताए पनि एमालेलाई भने गठबन्धनभित्रै गडबडी छ भन्ने लागेको छ । एमाले जिल्ला सचिव ढकालले भने, ‘गठबन्धनमा अन्तर्घात हुन्छ, यसपालि पनि जित एमालेकै निश्चत छ ।’

यो क्षेत्रमा स्थानीय तह चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले पाएको मत बराबर जस्तै छ । वडाध्यक्षका उम्मेदवारले पाएको मत एमालेको ३० हजार ९६२, नेपाली कांग्रेसको ३० हजार ६०६, नेकपा माओवादी केन्द्रको ६ हजार ८३६ र नेकपा एकीकृत समाजवादीको एक हजार २१२ छ ।

यो क्षेत्रमा गोविन्दराज जोशीका समर्थक स्वतन्त्र रुपमा वडाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । स्वतन्त्र उम्मेदवारले पाएको मत एक हजार ३१३ छ । जोशी समूहले स्थानीय तह चुनावमा एमालेसँग तालमेल गरे पनि अहिले उनी तनहुँ–१ बाट प्रतिनिधिसभामा एक्लै उठेका छन् । मंसिर ४ को चुनावका लागि तनहुँ–२ मा १ लाख २५ हजार ५ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?