+
+

रुपन्देही-३ का उम्मेदवार दीपक बोहराको स्वास्थ्य समस्या के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते २०:०८
दीपक बोहरा (बाँया) र उनको चुनावी अभियानमा सक्रिय राप्रपा नेता निरञ्जन थापा ।

२८ कात्तिक, काठमाडौं । चुनाव प्रचारमा रहेका नेता र उम्मेदवारहरुले चर्को स्वरमा भाषण गरिरहँदा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा भने ‘भ्वाइस रेस्ट’मा छन् ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्था हुन् । हाल चिकित्सकको सल्लाह अनुसार नै उनी ‘स्पीच थेरापी’ गरिरहेका छन् । उनका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा सभा भेलाहरुमा मन्तव्य राखिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही–३ कि संयोजक स्वाती थापाका अनुसार बोहरा कोरोना महामारीको दोस्रो लहरमा (जेठ २०७७) बेलातिर संक्रमित भएका थिए । तर, खासै समस्या देखिएको थिएन ।

‘उहाँलाई त्यतिबेला ज्वरो, खोकी लगायतका सामान्य लक्षण देखिएका थिए । घरमै बसेर आराम गर्दा ठीक भएको थियो’, थापाले अनलाइनखबरसँग भनिन् ।

संक्रमण भएको चार–पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । तर, उनले त्यसलाई खासै वास्ता गरेनन् । विभिन्न अध्ययनले पोष्ट कोभिडका कारण थकान, सुख्खा खोकी, वा वाकवाकी, छोटो अवधिको स्मरणशक्तिमा कमी र बोली समस्या देखिएका छन् ।

‘पोस्ट कोभिडको कारण उहाँको घाँटीमा भएको समस्या छिटो निको होस् भनेर चिकित्सकले केही हप्ता भ्वाइस रेस्ट गर्न दिएको सल्लाहलाई आत्मसात गर्दै यतिबेला कम बोलिरहनुभएको हो’, राप्रपाको रुपन्देही-३ को निर्वाचन परिचालन कमिटी संयोजक स्वाती थापाले भनिन् ।

निकट स्रोतका अनुसार सात महिना अगाडि स्वरमा समस्या थपिँदै गएपछि बोहरा उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँका चिकित्सकले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।

स्वर झन्–झन् बस्दै गएपछि बोहरा भारत गएको केही समयपछि पुनः अमेरिकाको न्यूयोर्क पुगेका थिए । ‘त्यहाँ पनि पोष्ट कोभिडका कारणले स्वरमा समस्या आएको भन्दै चिकित्सकले स्पीच थेरापी गर्न सुझाव दिएका थिए’, स्रोतले भन्यो, ‘त्यसपछि यता स्पीच थेरापी गरिराख्नुभएको छ । स्थानीय चुनावमा स्वरमा केही सुधार भएको थियो । तर, अहिले बढी समस्या देखिएको छ ।’

बोहराले हाल त्रिभुवन शिक्षण अस्पतालका एकजना स्पीच थेरापिस्टसँग सल्लाह–सुझाव लिइरहेका छन् । ती चिकित्सकका अनुसार यस्तो समस्या भएका मानिसमा लामो समय वा चर्को बोलेको अवस्थामा स्वर बस्ने समस्या देखिन्छ ।

‘यस्ता बिरामीको आवाज अलि कमजोर हुन्छ । व्यक्ति ठूलो स्वरले बोल्न सक्षम हुँदैन । धेरै वा धेरै चर्को स्वरमा बोल्दा भोकल नोड्युलजस्ता भ्वाइस बक्स (लेरिन्क्स) को समस्याबाट आवाज सम्बन्धी विकार उत्पन्न हुन सक्छ,’  ती चिकित्सकले अनलाइनखबरसँग भने ।

परामर्श दिने डाक्टरहरुले  उनको स्वरमा समस्या देखिनुमा पोष्ट कोभिड नै कारण भएको बताउँछन् । ‘उहाँको स्वरमा परिवर्तन भइरहेको छ । बीचमा धेरै बोलेको अवस्थामा स्वर हराएको जस्तो हुन्छ’,  अस्पतालका डाक्टरहरुले अनलाइनखबरसँग भने, ‘निरन्तर स्पीच थेरापी गरेमा स्वर रिकभर हुन्छ ।’

बोहेरालाई चिकित्सकले अझै चार–पाँच महिना ठूलो आवाजमा नबोल्न सुझाव दिएका छन् । ‘सजिलोसँग स्वर निस्किएको अवस्थामा बोल्न सक्नुहुन्छ । चर्को स्वरमा बोल्दा पुन स्वर बस्ने समस्या हुन्छ,’  चिकित्सकले भने ।

बोहराको स्वास्थ्यको विषयलाई लिएर केही भ्रमात्मक प्रचार समेत भइरहेको थापा बताउँछिन् ।

‘पोस्ट कोभिडको कारण उहाँको घाँटीमा भएको समस्या छिटो निको होस् भनेर चिकित्सकले केही हप्ता भ्वाइस रेस्ट गर्न दिएको सल्लाहलाई आत्मसात गर्दै यतिबेला कम बोलिरहनुभएको हो’, थापाले अनलाइनखबरसँग भनिन् ।

बोहरा बिहान ६ बजेदेखि राति ११ बजेसम्म घरदैलो, कोणसभामा सहभागी भइरहेको थापाको भनाइ छ । थापाका अनुसार बोहराले नै तीन दलीय नेताहरुलाई क्षेत्रभरि आफैं परिचालन गर्ने, दैनिक योजना बनाउने, हरेक दिन संयन्त्रको छलफल गर्ने र कार्यक्रममा सहभागी भइरहेका छन् ।

सबैतिर आफैं पुगे पनि मतदातासँग सिधा सवालजवाफ गर्न नपाउँदा उनलाई पक्कै असुविधा भएको छ । यसैलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अनुमान र छलफलहरु चलिरहेका छन् । विपक्षीले विकासका मुद्दा, राजनैतिक मुद्दासँग प्रतिस्पर्धा गर्न नसकेर यतिबेला यो विषयलाई बढी उठाइरहेको थापाको भनाइ छ ।

‘यतिबेला चुनाव जित्नकै लागि विपक्षीहरुले अन्तिम अस्त्रको रुपमा सामान्य घाँटीको समस्यालाई लिएर यति धेरै गलत प्रचार गर्नु ठीक होइन’, थापा भन्छिन्, ‘चुनावमा सिद्धान्त, विचार र विकासका मुद्धा उठाउनु ठीक हो तर मानवीय संवेदनालाई समेत बेवास्ता गर्दै भ्रमात्मक प्रचार गरिनु गलत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?