+
+

‘म त लालीगुराँस भएछु’ : मण्डलामा तीन पुस्ताका रंगकर्मीबीच विमर्श

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १२:१५

काठमाडौं । अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्र्रो संस्करण मंसिर ९ गतेदेखि सुरु हुँदैछ । त्यसअघि मण्डला थिएटरमा कलाकारले रंगमञ्चबारे विमर्श चलाएका छन् । महोत्सव हुन एक साता बाँकी रहँदा अग्रज रंगकर्मीबीच ‘म त लालीगुराँस भएछु’ शीर्षकमा अनुभव, कलाशैली, संघर्ष र तत्कालीन समय सन्दर्भबारे गफगाफ भएको छ ।

घरेलु रंगमञ्चका तीनपुस्ताका कलाकारले अनुभव साटे । पुष्कर गुरुङ र विजय विस्फोटसँग अभिनेत्री सरिता गिरीले सत्र सञ्चालन गरिन् । तेस्रो पुस्ताका समकालीन नाट्यकर्मी यो सत्रका दर्शक र श्रोता थिए । ‘कबड्डी’ फिल्म फेम्ड अभिनेता तथा डबली थिएटरका संस्थापक पुष्कर गुरुङले वर्तमान रंगमञ्चमा आफ्नो सक्रियता पुस्ता हस्तातरणको लागि भइरहेको बताए ।

उनले भने, ‘मैले नेतृत्व गरिरहेका रंगमञ्चका काम र संस्था अगाडि बढाउन नयाँ पुस्ता तयार पारिरहेको छु ।’

नाटककार, निर्देशक, अभिनेता विजय विस्फोटले रंगकर्मीको मूल्याकंन उसको कामबाट हुने बताए । ‘देशले अझै पनि रंगकर्मी चिनिरहेको छैन, रंगमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनुपर्छ,’ उनले भने । नेपाली रंगमञ्च ‘कस्मेटिक’ बन्दै गएको भन्दै विस्फोटले चिन्ता व्यक्त गरे ।

एमआर्ट थिएटरका संस्थापक तथा अभिनेता वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर पनि रंगमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति सुनाए ।

‘कुनैबेला आफूले जन्माएका कलाकारका सामु यसरी नेपाली रंगमञ्चको अनुभव बाँड्न पाउनु आफू भरिएको अनुभूति भइरहेको छ,’ उनले भने । पुस्ता हस्तातन्तरणमा रंगमञ्चको शैली र इतिहास हस्तान्तरण हुनुपर्ने उनको विचार छ ।

मंसिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न मुलुकका २२ नाटकसहित तालिम, सेमिनार, कार्यशाला, अन्तरक्रिया र कला प्रस्तुति हुने जनाइएको छ ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूह सहभागी हुनेछन् । महोत्सवमा भारतीय अभिनेत्री सबाना आजमीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?