+

गाईबाट पनि मानिसमा बर्ड फ्लु सर्छ ?

२०८१ वैशाख  ३१ गते ७:०० २०८१ वैशाख ३१ गते ७:००
गाईबाट पनि मानिसमा बर्ड फ्लु सर्छ ?

बर्ड फ्लु भाइरसहरुमध्ये ‘एचफाइभ एनवान’ लाई ‘उच्च घातक एभियन इन्फ्लुएन्जा’ भनेर चिन्ने गरिन्छ । पछिल्लो समयको तथ्यांकलाई आधार मान्ने हो भने एचफाइभ एनवान १० संक्रमितमध्ये कम्तीमा ५ देखि ६ जनाको मृत्यु हुने गरेको देखिन्छ ।

नेपालमा पहिलो पटक सन् २०१९ मा यही भाइरसको कारणले एक युवकको मृत्यु भएको थियो । यो भाइरस विशेषगरी पन्छीमा देखिने भएकाले बर्डफ्लु भनिएको हो । यद्यपि अरु स्तनधारी जनावरहरुमा पनि संक्रमण पुष्टि हुने गरेका विभिन्न अनुसन्धानहरुले देखाउँछ । हालै संक्रमित गाईबाट बर्डफ्लु (एचफाइभ एनवान) मानिसमा सरेको अमेरिकाले पुष्टि गरेको छ । सो संक्रमित मानिसमा देखिएका लक्षणको बारेमा हालै ‘न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’ मा (३ मे महिना २०२४) प्रकाशित लेखमा विस्तृत जानकारी दिएको छ ।

बर्ड फ्लु (एचफाभ एनवान) का लक्षणहरु

ज्वरो आउनु वा जाडो लाग्नु, खोकी लाग्नु, घाँटी दुख्नु, जीउ दुख्नु, आलस्य हुनु, मांसपेशी दुख्नु बर्ड फ्लुका मुख्य लक्षण हुन् । छाती दुख्नु, पेट दुख्नु, पखाला लाग्नु जस्ता लक्षणहरु पनि देखिने गर्छन् । लक्षण थप लम्बिंदै गएमा श्वासप्रश्वासमा समस्या, निमोनिया वा स्नायु प्रणालीमा जटिलताहरु देखिन्छन् ।

अमेरिकी संक्रमितमा कस्ता लक्षण देखिए ?

‘न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित लेखका अनुसार गाई फार्ममा कार्यरत एक युवामा बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो । अनुसन्धानकर्ताहरुका अनुसार सो संक्रमित व्यक्तिको आँखामा असहज महसुस हुने र रक्तस्राव (आँखा रातो भएको) देखिएको थियो । संक्रमितको फोक्सो, मुटु, आँखाको दृष्टि, अक्सिजन ‘स्याचुरेसन’ सामान्य नै थियो । सबैभन्दा चाखलाग्दो भनेको संक्रमितको श्वासप्रश्वाससम्बन्धी कुनै समस्या थिएन भने ज्वरो (वा जाडो हुने) तथा खोकीको सिकायत पनि थिएन, जुन फ्लुका मुख्य लक्षणहरु मानिन्छन् ।

सो व्यक्तिको कुनै जंगली वा घरपालुवा पन्छीसँगको सम्पर्कको इतिहास थिएन । तर फार्ममा रहेका गाईमा भने बर्ड फ्लु अर्थात् ‘एचफाईभ एनवान’ पुष्टि भएको थियो । प्रयोगशाला परीक्षण गर्दा संक्रमितमा पनि ‘एचफाइभ एनवान’ बर्ड फ्लु भाइरस पुष्टि भएको थियो । विगतको अनुभवलाई हेर्दा बेला बेलामा पन्छीबाट मानिसमा बर्ड फ्लु संक्रमण फैलिने गरेको तथ्यांक छन् । पछिल्लो उपलब्ध तथ्यांकलाई आधार मान्ने हो भने यसको मृत्युदर ५० प्रतिशतको हाराहारीमा रहेको देखिन्छ ।

किन चिन्ता, कति जोखिम ?

हालसम्म बर्ड फ्लु भाइरस मानिसमा संक्रमित पन्छीबाट सरेको जानकारी देखिन्छ । विभिन्न कालखण्डमा बर्ड फ्लु फैलिंदा (घरेलु पन्छीमा) मानिस पनि संक्रमित हुने गरेको देखिएपनि मानिसबाट मानिसमा भने अति सीमित (दुर्लभ) देखिन्छ । अर्थात् अर्को शब्दमा भन्नुपर्दा यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्दैन । तर भाइरसको अनुवांशिक परिवर्तन (जेनेटिक म्युटेसन) गर्न सक्ने क्षमताको कारणले भने भविष्यमा मानिसबाट मानिसमा फैलिन सक्ने अवस्थालाई भने नकार्न नसक्ने भएकाले वैज्ञानिकहरु चिन्तित देखिन्छन् । तसर्थ पनि विश्वको कुनै कुनामा बर्ड फ्लुको प्रकोप भए देखिए सो अवस्थालाई विशेष चासोका साथ हेर्ने गरिन्छ ।

अहिलेसम्म संक्रमित पन्छीबाट मात्र जोखिम रहेकोमा हाल अमेरिकामा (टेक्सास राज्यमा) घटित घटनाले बर्ड फ्लु फैलिने तरिकामा मध्यम विस्तार भएको र थप सतर्कता अपनाउनुपर्ने र अध्ययन गर्नुपर्ने देखिन्छ । यद्यपि अहिलेसम्मको नतिजा/जानकारीले पन्छीबाट सर्दाको जस्तो घातक अवस्था/जोखिम मानिसमा गाईबाट सरेको बर्ड फ्लुमा देखिएन । बर्ड फ्लु संक्रमण भएपनि अत्यन्त प्रभावकारी ‘ओसेल्टेमीभिर’ नामक एन्टि-भाइरल औषधि उपलब्ध छन् । यो औषधि सरकारले विगतदेखि नै नि:शुल्क दिने गरेको छ ।

डा. शेरबहादुर पुन बर्ड फ्लु सरुवा रोग
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय