+
+
Shares

मोटोपनाका ७ प्रमुख कारण र नियन्त्रण गर्ने प्रभावकारी उपाय

सन्तुलित जीवनशैली, नियमित निद्रा, स्वस्थ आहार र चिकित्सकीय परामर्शले दीर्घकालीन रूपमा तौल नियन्त्रण गर्न सहयोग पुग्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ असोज २६ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोटोपना भनेको शरीरमा आवश्यकभन्दा बढी बोसो जम्मा हुने अवस्था हो, जसलाई बीएमआई ३० वा सोभन्दा माथि हुँदा मानिन्छ।
  • विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा मोटोपनका कारण गैरसंक्रामक रोगबाट करिब ३७ लाख मानिसको मृत्यु भएको थियो।

मोटोपनले शरीरलाई भद्धा र असुहाउँदिलो त देखाउँछ नै, साथै विभिन्न रोगहरूलाई निम्ता पनि दिन्छ ।  मानिसहरू मोटोपनबाट हैरान छन् र उनीहरू छिटोछरितो ढंगले शरीरको बोसो घटाउन चाहन्छन् ।

त्यसैले मोटोपन घटाउन किटो डाइट, थेरापी, औषधि र सप्लिमेन्ट बजारमा लोकप्रिय छन् । तर, के यी विधिले भनेजस्तै मोटोपन घटाउन सम्भव छ त ?

मोटोपन किन बढ्छ भन्दा पनि कसरी घटाउने भन्ने प्रश्नले धेरैलाई सताइरहेको हुन्छ । तर, यो प्रश्नको समाधान मोटोपन बढ्ने कारणहरूको खोजी र तिनको सही व्यवस्थापनमा छ । अर्थात्, मोटोपनका कारणहरू पहिल्याएर तिनको उचित व्यवस्थापन गर्नु नै मोटोपनबाट छुटकारा पाउने सरल उपाय हो ।

मोटोपना भनेको के हो ?

मोटोपना भनेको शरीरमा आवश्यकभन्दा बढी बोसो जम्मा हुने अवस्था हो, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यो सामान्यतया बडी मास इन्डेक्स (बीएमआई) को आधारमा मापन गरिन्छ । बीएमआई निकाल्न आफ्नो उचाइ मिटरमा र तौल किलोग्राममा मापन गर्नुपर्छ । उचाइलाई दुई पटक गुणा गरेर प्राप्त हुने संख्याले तौललाई भाग गर्दा आएको अंक नै बीएमआई हो । यदि बीएमआई ३० वा सोभन्दा माथि छ भने त्यसलाई मोटोपना मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा प्रत्येक आठ जनामध्ये एक जनामा मोटोपना छ ।

मोटोपनका कारण हुने स्वास्थ्य समस्याहरू

मोटोपनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउछ, जसमा हृदय रोग, टाइप २ मधुमेह, उच्च रक्तचाप, स्ट्रोक र मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन र चिन्ता समावेश छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा सामान्यभन्दा बढी बीएमआईका कारण गैरसंक्रामक रोगहरू, जस्तै हृदय रोगबाट, करिब ३७ लाख मानिसको मृत्यु भएको थियो ।

मोटोपन उच्च रक्तचापको प्रमुख कारण हो रहेको अनुसन्धानहरूले देखाउँछन् ।  र उच्च रक्तचाप भएका करिब तीन चौथाइ बिरामीहरूमा मोटोपना पाइन्छ । यसले टाइप २ मधुमेह र गर्भावस्थामा हुने मधुमेहको जोखिम बढाउँछ । अनुसन्धानले तौल घटाउँदा यी जोखिमहरूलाई उल्लेखनीय रूपमा कम गर्न सकिने प्रमाणित गरेको छ ।

मोटोपनका कारणहरू र व्यवस्थापनका उपायहरू

१. वंशाणुगत कारण

मोटोपनमा वंशाणुगत भूमिका महत्त्वपूर्ण हुन्छ । अभिभावकबाट प्राप्त जीनहरूले शरीरमा बोसो कति जम्मा हुने, कहाँ जम्मा हुने, खानालाई ऊर्जामा कति कुशलतापूर्वक रूपान्तरण गर्ने, भोक नियन्त्रण गर्ने र व्यायाममा क्यालोरी खर्च गर्ने कुरा निर्धारण गर्छन् । ‘जीनहरूले मोटोपनको जोखिम ४०–७० प्रतिशतसम्म निर्धारण गर्ने पोषणविद् प्रवीण भट्टराई बताउँछन् । सयौँ जीनहरूले सानो–सानो प्रभाव पारेर समग्र जोखिम बढाउने उनको भनाइ छ ।

मोटोपन परिवारमा चल्ने गर्छ, जसमा जीनहरू मात्र होइन, साझा खानपान र जीवनशैलीका बानीहरू पनि जिम्मेवार हुन्छन् ।  विश्व स्वास्थ्य संगठनले मोटोपनलाई बहुआयामिक रोग मानेको छ । र, वंशाणुगत विविधताहरूले पर्यावरणसँग अन्तरक्रिया गरेर मोटोपनमा योगदान पुर्‍याउने बताएको छ ।

व्यवस्थापन

वंशाणुगत कारणले मोटोपनको जोखिम बढाए पनि जीवनशैली परिवर्तनले यसको प्रभाव कम गर्न सकिन्छ । ‘यदि परिवारमा मोटोपनको इतिहास छ भने नियमित बीएमआई र स्वास्थ्य जाँच गर्नुपर्छ’ पोषणविद् भट्टराई भन्छन् ‘प्राडर–विली सिन्ड्रोम’ जस्ता वंशाणुगत विकार भएमा चिकित्सकसँग व्यक्तिगत परामर्श लिनुपर्छ ।’

जीनले बोसो भण्डारणलाई प्रभावित गरे पनि स्वस्थ आहार र व्यायामले मेटाबोलिजम सुधार गर्न सकिन्छ । नियमित व्यायामले वंशाणुगत जोखिमलाई ३० प्रतिशतसम्म कम गर्न सकिने प्रवीण बताउँछन् ।

२. आहारसम्बन्धी कारण

अस्वास्थ्यकर खानपान मोटोपनको प्रमुख कारणमध्ये एक हो । बढी क्यालोरीयुक्त खाना, प्रशोधित खाद्य पदार्थ, चिनीयुक्त पेय पदार्थ र धेरै मात्रामा खानाले तौल बढाउँछ ।  पोषणविद् प्रवीणका अनुसार, अमेरिकामा अधिकांश मानिसहरूको आहार फास्ट फुड र उच्च क्यालोरीयुक्त पेयबाट आउँछ, जसले गर्दा त्यहाँ ४० प्रतिशत जनसंख्या मोटोपनबाट प्रभावित छ, जसलाई बीबीसीले पनि उल्लेख गरेको छ ।

प्रशोधित खाद्य पदार्थहरूले मस्तिष्कको ‘पुरस्कार प्रणाली’ सक्रिय पारेर भोक बढाउँछन् र स्वस्थ खानालाई विस्थापित गर्छन्। यो विगत ४० वर्षमा मोटोपनको महामारीको मुख्य कारण हो, विशेष गरी निम्न र मध्यम आय भएका देशहरूमा ।’

विश्व स्वास्थ्य संगठनका अनुसार, उच्च बोसो, चिनी र नुनयुक्त तर पोषकतत्त्व कम भएका खाद्य पदार्थहरू सस्तो र सजिलै उपलब्ध हुँदा बालबालिकामा मोटोपन बढ्छ । सन् २०२२ मा ३९० मिलियन ५–१९ वर्षका बालबालिका र किशोरहरू अधिक तौलका थिए, जसमध्ये १६० मिलियन मोटोपनबाट प्रभावित थिए ।

व्यवस्थापन

अस्वस्थकर खानपान मोटोपनको प्रमुख कारण हो । स्वस्थ आहारले क्यालोरी नियन्त्रण र पोषण सुनिश्चित गर्छ । त्यसैले फलफूल, सागसब्जी, साबुत अन्न र कम बोसोयुक्त प्रोटिन जस्तै माछा, कुखुराको मासुलाई दैनिक आहारमा समावेश गर्नुपर्ने पोषओविद् भट्टराईको सुझाव छ । प्रशोधित खाना कम गर्नुपर्ने उनको भनाइ छ ।  मैदा, चिनीयुक्त पेय, फास्ट फुड र उच्च बोसो÷नुनयुक्त खानालाई सीमित गर्नुपर्छ । प्रशोधित खानाले क्यालोरी खपत २० प्रतिशतसम्म बढाउने उनले बताए ।

विश्व स्वास्थ्य संगठनको सुझावअनुसार दैनिक ४०० ग्राम फलफूल र सागसब्जी खानुपर्छ ।  ‘खाना खान सानो प्लेट प्रयोग गर्नुपर्छ र खानाको मात्रा नाप्नुपर्छ’ भट्टराई भन्छन्,  ‘बिस्तारै राम्ररी चपाएर खाँदा अघाएको महसुस हुन्छ, जसले धेरै खानबाट जोगाउँछ । तौल नियन्त्रणका लागि दैनिक खाना र क्यालोरी ट्र्याक गर्नुपर्छ ।’

३. शारीरिक क्रियाकलापको कमी

आजभोलि धेरैको काम एकै ठाउँमा बसेर गर्नुपर्ने हुन्छ । रिमोट कन्ट्रोल, अनलाइन सपिङ जस्ता सुविधाहरूले शारीरिक क्रियाकलाप घटाएका छन् । निष्क्रिय जीवनशैलीले क्यालोरी खर्च कम गर्ने र मोटोपनको समस्या निम्त्याउने फिटनेस ट्रेनर सबाना खातुन बताउँछिन् । ‘धेरै स्क्रिन टाइमले पनि तौल बढ्छ, किनभने यसले गर्दा व्यायाम र दैनिक क्रियाकलापमा कम समय खर्च गरिन्छ ’ खानुत भन्छिन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार, सुरक्षित र सजिलो शारीरिक गतिविधिको अभावले मोटोपनको जोखिम बढाउँछ । निम्न र मध्यम आय भएका देशहरूमा कुपोषण र मोटोपन सँगसँगै देखिन्छ, जसमा कम शारीरिक क्रियाकलाप मुख्य कारक हो ।

अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार, अमेरिकामा ५ मध्ये २ वयस्क मोटोपनबाट प्रभावित छन्, जसमा निष्क्रियता प्रमुख जोखिम हो ।

शारीरिक सक्रियता बढाउने उपाय

निष्क्रिय जीवनशैलीले क्यालोरी खर्च कम गर्छ भने नियमित व्यायामले मोटोपन नियन्त्रण गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, वयस्कहरूले हप्तामा १५० देखि ३०० मिनेट मध्यम–तीव्रताको एरोबिक व्यायाम जस्तै हिँड्ने, साइक्लिङ वा ७५ देखि १५० मिनेट उच्च–तीव्रताको व्यायाम गर्नुपर्छ ।

सबानाका अनुसार, हप्तामा २–३ पटक मांसपेशी बलियो बनाउने व्यायाम जस्तै तौल उठाउने गर्नुपर्छ, जसले मेटाबोलिजम बढाउँछ । लिफ्टको सट्टा सिँढी चढ्ने, छोटो दूरीमा हिँड्ने र घरको काम गर्नुपर्छ ।  दैनिक १० हजार कदम हिँड्दा तौल प्रतिशत कम हुन सक्छ । स्क्रिन टाइमलाई २ घण्टाभन्दा कम गर्नुपर्छ र सक्रिय रहनुपर्छ ।

४. हर्मोनल र मेटाबोलिक कारण

उमेर बढ्दै जाँदा शरीरमा हुने प्राकृतिक परिवर्तनहरूले तौल बढ्न सक्छ । मांसपेशी घट्ने र मेटाबोलिजम कम हुने कारण शरीरलाई कम क्यालोरी चाहिन्छ । आन्द्राका ब्याक्टेरियाको असन्तुलन र निद्राको कमीले भोक बढाउने हर्मोनहरूमा असर गर्छ ।

निद्रा कम वा बढी हुँदा ‘घ्रेलिन’ भोक बढाउने हर्मोन बढ्छ र ‘लेप्टिन’ तृप्ति दिने हर्मोन घट्छ, जसले भोक र उच्च क्यालोरीयुक्त खाना खाने चाहना बढाउँछ । महिनाबारी सुकेपछि बोसो वितरणमा परिवर्तन आउँछ, जसले पेट वरिपरि बोसो जम्मा भई मोटोपनको जोखिम बढाउने हर्मोन तथा मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।

व्यवस्थापन

हर्मोनल असन्तुलन र मेटाबोलिजमको कमजोरीले तौल बढाउँछ । यसलाई नियन्त्रण गर्न पर्याप्त निद्रा आवश्यक छ ।  वयस्कहरूले राति ७–८ घण्टा सुत्नुपर्छ । डा. विनयका अनुसार, ६ घण्टाभन्दा कम निद्राले मोटोपनको जोखिम करिब ५५ प्रतिशत बढाउँछ । ‘कम निद्राले घ्रेलिन बढाउँछ र लेप्टिन घटाउँछ, जसले भोक बढाउँछ ।’

थाइराइड, इन्सुलिन, र कार्टिसोल स्तर असामान्य भए चिकित्सकसँग परीक्षण गर्नुपर्छ । थाइराइड हर्मोन कम भए मेटाबोलिजम घट्छ । इन्सुलिन प्रतिरोध भए बोसो बढ्छ । उच्च ‘कार्टिसोल’ तनाव हर्मोनले पेट वरिपरि बोसो जम्मा गर्छ । त्यसैले नियमित स्वास्थ्य जाँच महत्त्वपूर्ण हुने विनयले बताए ।

५. स्वास्थ्य अवस्था र औषधिहरूको भूमिका

केही रोग र औषधिहरूले पनि तौल बढाउँछन् । हाइपोथायरायडिज्म, कुशिङ सिन्ड्रोम, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) जस्ता रोगहरूले शरीरको ऊर्जा खर्च घटाउँछन् वा इन्सुलिन प्रतिरोध बढाउँछन् । डा. विनय भन्छन्, ‘केही एन्टिडिप्रेसन्ट, एन्टिसाइकोटिक, र स्टेरोइडले भोक बढाउँछन् वा मेटाबोलिजम प्रभावित गरेर मोटोपना बढाउँछ ।’

स्वास्थ्य अवस्था र औषधिको व्यवस्थापन

स्वास्थ्य समस्या उपचारका लागि चिकित्सकको सल्लाहअनुसार औषधि लिनुपर्छ । यदि कुनै औषधिले तौल बढाइरहेको छ भने चिकित्सकसँग वैकल्पिक औषधि वा खुराक परिवर्तनबारे छलफल गर्नुपर्छ । डा. विनय सुझाउँछन्, ‘नियमित रूपमा रगतमा चिनी, कोलेस्ट्रोल, र रक्तचाप जाँच गर्नुपर्छ । इन्सुलिन प्रतिरोध भएका व्यक्तिले कम ग्लाइसेमिक इन्डेक्स भएका खाना, जस्तै सागसब्जी, प्रशस्त खानुपर्छ ।’

मोटोपनाको उपचार केवल खानपान र व्यायाममा सीमित छैन । हर्मोन, निद्रा, तनाव, औषधि, र मेटाबोलिजमको सन्तुलन जरूरी छ । सन्तुलित जीवनशैली, नियमित निद्रा, स्वस्थ आहार, र चिकित्सकीय परामर्शले दीर्घकालीन रूपमा तौल नियन्त्रण गर्न सहयोग गर्ने डा. विनयले बताए ।

६. तनाव र मानसिक स्वास्थ्य कारकहरू

दीर्घकालीन तनावले कार्टिसोल हर्मोन बढाउँछ, जसले भोक बढाउँछ र बोसो जम्मा गर्छ ।  तनावले उच्च बोसो र चिनीयुक्त खानाको चाहना बढाउँछ, जसले मोटोपना बढाउँछ । मानसिक रोग विशेषज्ञ डा. सुमन प्रसाद अधिकारीका अनुसार मानसिक स्वास्थ्य विकारहरू, जस्तै डिप्रेसनका कुनै–कुनै औषधिहरूले पनि तौल बढाउँछ । मोटोपनको सामाजिक लान्छनाले चिन्ता र डिप्रेसन बढाउँछ, जसले स्वास्थ्य–प्रवर्धक वातावरणबाट टाढा राख्छ ।

तनाव र मानसिक स्वास्थ्यको व्यवस्थापन

तनाव र मानसिक स्वास्थ्य समस्याले भोक र तौल बढाउने डा.अधिकारी बताउँछन् । ‘योग, ध्यान वा गहिरो सास फेर्ने अभ्यासले तनाव व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार ध्यानले कार्टिसोल स्तर २० प्रतिशत कम गर्ने कुरा केही अध्ययनले देखाएका छन् ।

‘डिप्रेसन वा चिन्ता भएमा मनोवैज्ञानिक वा परामर्शदातासँग कुरा गर्नुपर्छ’ डा.अधिकारी भन्छन्, ‘संज्ञानात्मक व्यवहार थेरापीले भावनात्मक रूपमा खाना खाने बानी नियन्त्रण गर्छ ।  परिवार वा समुदायसँग समय बिताउनुपर्छ । सामाजिक समर्थनले मोटोपनको लान्छना र तनाव कम गर्छ ।’

७. पर्यावरणीय र सामाजिक-आर्थिक कारण

वातावरणले पनि स्वस्थ खाना र शारीरिक क्रियाकलापलाई कठिन बनाउँछ । स्वस्थ खानाको उपलब्धता नहुनु, मूल्यवृद्धि, सुरक्षित व्यायाम क्षेत्रको कमी, र कमजोर स्वास्थ्य प्रणालीले मोटोपन बढाउँछ ।  साथै, विशेष गरी बालबालिकालाई लक्षित मार्केटिङले अस्वस्थ्यकर खानालाई प्रोत्साहन गर्छ । ‘निम्न आयमा स्वस्थ खानाको पहुँच कम हुन्छ, जसले मोटोपन बढाउँछ’ पोषणविद् आरेम कार्की भन्छन्, ‘गर्भावस्था, युवावस्था जस्ता जीवनका घटनाहरूले पनि तौल प्रभावित गर्छ ।’

पर्यावरणीय र सामाजिक–आर्थिक कारकहरूको समाधान

सस्ता र पौष्टिक खाना, जस्तै मौसमी सागसब्जी र ताजा खानेकुरा खरिद गर्नुपर्छ । सामुदायिक बजार वा सहकारी स्टोरले स्वस्थ खानाको पहुँच बढाउन सक्छ । सुरक्षित व्यायाम क्षेत्र, जस्तै पार्क, सामुदायिक केन्द्रहरू निर्माण गर्नुपर्ने आरम बताउँछन् । अस्वस्थ्यकर खानाको मार्केटिङबाट बच्न सचेत रहनुपर्छ, विशेष गरी बालबालिकालाई लक्षित विज्ञापनबाट ।’

ध्यान दिनुपर्ने कुरा

आजकाल सामाजिक सञ्जाल र इन्टरनेटमा तौल घटाउने हजारौँ तरिकाहरू छन्, तर ती सबै विधि सबैका लागि उपयुक्त नहुन सक्छन् । केही विधिहरू स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छन् ।  त्यसैले, कुनै पनि नयाँ आहार वा व्यायाम दिनचर्या सुरु गर्नुअघि विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ ।

मोटोपनको कारण अनुसारको व्यवस्थापन र निरन्तर प्रयासले मोटोपना नियन्त्रण सम्भव हुने पोषणविद् कार्की बताउँछन् । साना परिवर्तनहरू, जस्तै चिनी कम गर्ने, १० मिनेट हिँड्ने बानीलाई दैनिकीमा समावेश गर्नुपर्ने उनको सुझाव छ ।

तौल घटाउन आफ्नो शरीरको प्रकार, स्वास्थ्य अवस्था, उमेर, र अन्य धेरै कुरालाई ध्यानमा राखेर आहार वा व्यायाम दिनचर्या पालना गर्नुपर्छ ।  यदि सर्टकट मार्फत तौल घटाउने प्रयास गरियो भने तौल घट्नुको सट्टा बढ्न सक्ने उनले बताए ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?