+

डाइटिङ र व्यायाम गर्दा पनि किन बढ्छ तौल ?

२०८२ साउन  २२ गते १२:३२ २०८२ साउन २२ गते १२:३२
डाइटिङ र व्यायाम गर्दा पनि किन बढ्छ तौल ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिपेडिमा एक रोग हो जसमा शरीरको तल्लो भागमा असामान्य बोसो जम्मा हुन्छ र यो मोटोपनभन्दा फरक हुन्छ।
  • विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा लिपेडिमालाई छुट्टै रोगको मान्यता दिएको छ र यो प्रायः महिलामा देखिन्छ।
  • लिपेडिमाको उपचारमा लिपोसक्शन, म्यानुअल लिम्फ ड्रेनेज थेरापी र कम्प्रेशन गार्मेन्ट्स प्रयोग गरिन्छ, तर प्रभावकारी औषधि छैन।

धेरैले मोटोपनको समस्या झेलिरहेका हुन्छन् । मोटोपन घटाउन उनीहरू विभिन्न उपायको खोजीमा रहन्छन् । कतिपय उपवास बस्छन्, सन्तुलित खानपान अपनाउँछन् । नियमित व्यायाम गर्छन्, शारीरिक परिश्रम गर्छन् । सामान्यतया तौल नियन्त्रणमा यस्ता विधिहरूले सकारात्मक नतिजा देखाउँछन् ।

सन्तुलित खानपान र नियमित व्यायामले धेरैको मोटोपन कम हुन्छ । तर, कतिपयको हकमा यी सबै प्रयास गर्दा पनि मोटोपन घट्दैन । खानपानमा ध्यान दिँदा, नियमित व्यायाम र शारीरिक श्रम गर्दा पनि
आखिर किन तौल नियन्त्रणमा आउँदैन त ?

भारी तौल हुनु मोटोपन मात्रै होइन  

बीबीसीको एक आलेखअनुसार, कसैले डाइटिङ र व्यायाम गर्दा पनि तौल बढिरहेको छ भने त्यो माटोपना नभएर लिपेडिमा हुन सक्छ । जुन महिलाहरूमा बढी पाइन्छ ।

महिलाहरूका लागि लिपेडिमा शारीरिक चुनौती मात्र नभएर यो मानसिक तनावको कारण पनि बन्न सक्छ।

अमेरिकी मेडिकल सेन्टर क्लिभल्यान्ड क्लिनिकका अनुसार विश्वभर करिब ११ प्रतिशत महिलाहरू यो रोगबाट ग्रसित छन् ।

लिपेडिमा के हो ?

लिपेडिमा एक बिस्तारै बढ्ने रोग हो, जसमा शरीरको तल्लो भाग—कम्मर, तिघ्रा र खुट्टामा असामान्य रूपमा बोसो जम्मा हुन्छ । कहिलेकाहीं हातमा पनि यस्तो हुन्छ । धेरैले यसलाई मोटोपन ठान्छन्, तर यो फरक अवस्था हो । । दिल्लीको गुरु तेग बहादुर अस्पतालकी मेडिसिन विभाग निर्देशक प्रोफेसर डा. अल्पना रायजादाका अनुसार, सामान्य बडी मास इन्डेक्स (बीएमआई) भएका महिलाहरू पनि लिपेडिमाको शिकार हुन सक्छन् ।

लिपेडिमा प्रायः मोटोपन, लिम्फेडिमा वा सेल्युलाइटिससँग मिल्दोजुल्दो हुने भएकाले भ्रम पर्न सक्छ ।

यी रोगहरूमा पनि शरीरका अंगहरू मोटा हुन्छन्, तर लिपेडिमा फरक छ । यसको यकीन पहिचान गर्न कतिपय अवस्थामा चिकित्सबीच नै अलमल रहेकाले यव् रोग चाँडै पहिचान हुँदैन ।

१९४० को दशकदेखि लिपेडिमाबारे जानकारी भए पनि चिकित्सा समुदायले यसलाई लामो समयसम्म गम्भीरतापूर्वक लिएन ।

पछिल्लो १५ वर्षमा मात्र यो रोगले ध्यान खिचेको छ । र, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१८ मा यसलाई छुट्टै रोगको मान्यता दिएको छ । सर्वसाधारणका साथै चिकित्सक, स्वास्थ्यकर्मीमा यसबारे जागरूकता कम छ ।

लिपेडिमाका लक्षणहरू

–घुँडा, जोर्नी र पिँडुलामा लगातार दुखाइ ।

–तिघ्रा, कम्मर वा हातमा कडा र असमान बोसो जम्ने, जुन छुँदा दुख्ने वा जलन हुने ।

–हातखुट्टा चाँडै थाक्ने ।

–हल्का चोट लाग्दा पनि नीलो दाग देखिने ।

–शरीरको तल्लो भाग अन्य भागको तुलनामा अस्वाभाविक मोटो हुने ।

–आत्मविश्वासमा कमी, भावनात्मक तनाव वा डिप्रेसन ।

–गम्भीर अवस्थामा, तल्लो अंगहरू मोटा र विकृत हुन्छन्, जसले हिँडडुलमा कठिनाइ र दुखाइ निम्त्याउँछ ।

लिपेडिमाको कारण

लिपेडिमाको ठ्याक्कै कारण अझै पत्ता लागेको छैन । डाक्टरहरूका अनुसार, यो रोगमा जोड्ने टिश्यू र लिम्फ्याटिक सिस्टम (लसिका प्रणाली) प्रभावित हुन्छ ।

वंशाणुगत रुपमा पनि यो समस्या देखिन सक्छ । परिवारमा कसैलाई लिपेडिमा छ भने अर्को पुस्तामा पनि देखिन सक्छ । किशोरावस्था, गर्भावस्था वा रजोनिवृत्तिको समयमा हुने हार्मोनल असन्तुलनले पनि यसको जोखिम बढाउँछ । लसिका प्रणालीमा ड्रेनेजको समस्याले पनि यो रोग निम्तिन सक्छ ।

दिल्लीको लाल बहादुर शास्त्री अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. योगेश कुशवाहाका अनुसार हार्मोनल परिवर्तनको समयमा-जस्तै किशोरावस्था, गर्भावस्था वा रजोनिवृत्तिमा-लिपेडिमाको जोखिम बढी हुन्छ ।

मानसिक स्वास्थ्यमा असर

लिपेडिमाले आत्मविश्वासमा कमी ल्याउन सक्छ र डिप्रेशनको जोखिम बढाउँछ । दिल्लीको गुरु तेग बहादुर अस्पतालको मेडिसिन विभागकी निर्देशक प्रोफेसर डा अल्पना रायजादाका अनुसार, यो रोग प्रायः १५ देखि ३५–४० वर्षको उमेरमा देखिन्छ, जुन समयमा महिलाहरूको शरीर र जीवनमा धेरै परिवर्तन हुन्छन् । यस्तो अवस्थामा शारीरिक र मानसिक दबाब बढ्छ ।

उपचारका विकल्प

लिपेडिमालाई मोटोपनसँग तुलना गर्न सकिँदैन, त्यसैले सामान्य डाइटिङ, व्यायाम वा कोलेस्टेरोल कम गर्ने औषधिले काम गर्दैन । डा. रायजादाका अनुसार, यो रोगबारे पूर्ण अनुसन्धान नभएका कारण प्रभावकारी औषधि उपलब्ध छैन ।

शल्यक्रिया

लिपेडिमाका लागि लिपोसक्शन मुख्य उपचार हो, जसमा विशेष तरिकाले प्रभावित भागबाट बोसो निकालिन्छ । यो प्रक्रियामा साना चिरा लगाएर तरल पदार्थ (इन्फिल्ट्रेशन सोल्युशन) प्रयोग गरी बोसोलाई खुकुलो बनाएर बाहिर निकालिन्छ । यो उपचार गम्भीर अवस्थामा मात्र गरिन्छ र महँगो छ ।

म्यानुअल लिम्फ ड्रेनेज थेरापी

हल्का मसाजले लिम्फ्याटिक तरल बाहिर निकालेर सुन्निने समस्या कम गर्छ ।

कम्प्रेशन गार्मेन्ट्स

विशेष कपडाले शरीरमा दबाब दिएर दुखाइ र सुन्निने समस्या नियन्त्रण गर्छ ।

हालको अवस्था

विश्वभर लिपेडिमाबारे अनुसन्धान भइरहेको छ, तर प्रभावकारी औषधि अझै बनेको छैन । भारतमा यो रोगको उपचार सीमित ठाउँमा मात्र उपलब्ध छ र महँगो छ । जागरूकताको अभावले धेरै महिलाहरू यो रोगबाट पीडित छन्, तर उनीहरूले सही उपचार पाइरहेका छैनन् ।

लिपेडिमालाई मोटोपन नभई छुट्टै रोगको रूपमा बुझ्न जरुरी छ । यदि डाइटिङ र व्यायाम गर्दा पनि तौल बढिरहेको अनुभव भएको छ भने विशेषज्ञ डाक्टरसँग परामर्श गर्नु उचित हुन्छ ।

 

भारी तौल मोटोपन लिपेडिमा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय