News Summary
Generated by OK AI. Editorially reviewed.- कोशिकाको टेलोमेयर संरचना छोटिँदै गएपछि सेल्युलर सेनेसेन्स हुन्छ, जसले कोशिकाको विभाजन रोक्छ र उमेरसँग सम्बन्धित रोगहरू निम्त्याउँछ।
- बुढ्यौलीसँगै माइटोकन्ड्रियाको कार्यक्षमता र प्रोटिन सन्तुलनमा कमी आउँछ, जसले न्यूरोडिजेनेरेटिभ रोगहरू र ऊर्जा उत्पादनमा असर गर्छ।
- उमेर बढ्दै गएपछि रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुन्छ, जसले संक्रमण, क्यान्सर र अटोइम्युन रोगहरूको जोखिम बढाउँछ।
हाम्रो शरीर अर्बाैं कोशिकाहरूले बनेको हुन्छ । यी कोशिकाको कार्यक्षमता समयसँगै कमजोर हुँदै जान्छ । कोशिकाहरूमा ‘टेलोमेयर’ नामक संरचना हुन्छ, जसले डिएनएलाई क्षति हुनबाट जोगाउँछ । प्रत्येक कोशिका विभाजनसँगै टेलोमेयर छोटो हुँदै जान्छ । जब टेलोमेयर अति छोटो हुन्छ, कोशिकाले विभाजन गर्न छोड्छ । यो प्रक्रियालाई सेल्युलर सेनेसेन्स भनिन्छ, जसले कोशिकाहरूको पुनः उत्पादनलाई रोकेर तन्तु र अङ्गहरूको कार्यक्षमता घटाउँछ ।
यसो हुँदा यो उमेरसँग सम्बन्धित रोगहरू जस्तै हृदय रोग र क्यान्सरसँग जोडिएको छ । यस प्रक्रियाले कोशिका पुन जीवित हुन कम गर्छ, जसले तन्तु र अङ्गहरूको कार्यक्षमता घटाउँछ ।
उमेर बढ्दै गएपछि कोशिकाहरूमा डीएनए क्षति हुँदै जान्छ । यसो हुनुमा अत्यधिक तनाव, पराबैजनी किरण र अन्य पर्यावरणीय कारकहरू जिम्मेवार हुने इन्टर्नल मेडिसिन डा. विद्या सागर प्रसाद बताउँछन् ।
डा. विद्या सागरका अनुसार युवा अवस्थामा शरीरले यी क्षतिहरू मर्मत गर्छ, तर बुढ्यौलीसँगै डीएनए मर्मत प्रणाली कमजोर हुन्छ र यसले कोशिकाको कार्यक्षमताको स्तर घटाउँछ । यसबाहेक, डीएनए क्षतिले म्युटेसनहरू निम्त्याउन सक्छ, जसले सेनेसेन्स वा एपोप्टोसिस कोशिका मृत्यु बढाउँछ र समग्र उमेर सम्बन्धी शिथिलतामा योगदान दिन्छ।
उमेर बढ्दै जाँदा शरीर शिथिल हुने कारणहरू
१.माइटोकन्ड्रियाको कार्यक्षमतामा ह्रास
माइटोकन्ड्रिया कोशिकाको ऊर्जा केन्द्र हो । बुढ्यौलीसँगै माइटोकन्ड्रियाको कार्यक्षमता कम हुन्छ, जसले ऊर्जा उत्पादन घटाउँछ । यो प्रक्रियाले कोशिकाहरूलाई थप क्षति पुर्याउने डा.विद्या सागरले बताए ।
‘विशेष गरी, माइटोकन्ड्रियामा बढ्दो ‘रियाक्टिभ अक्सिजन स्पेसिस’ उत्पादनले डीएनए क्षति, प्रोटिन अक्सिडेसन र ऊर्जा उत्पादनमा कमी ल्याउँछ’ डा.विद्या सागरले भने, ‘जसले उमेरसम्बन्धी रोगहरू जस्तै न्यूरोडिजेनेरेटिभ विकारहरू निम्त्याउछ।’
२.प्रोटिनको असन्तुलन
प्रोटिन शरीरको संरचना, कार्य र नियमनका लागि आवश्यक हुन्छन् । बुढ्यौलीसँगै प्रोटिन सन्तुलनमा परिवर्तन आउँछ । प्रोटिनहरूले सही आकारमा रहनुपर्छ, तर बुढ्यौलीसँगै गलत फोल्डिङ बढ्छ । यस्ता प्रोटिनहरू जम्मा भएर तन्तुमा क्षति पुर्याउँछ, जुन अल्जाइमर र पार्किन्सन जस्ता रोगहरूको कारण बन्छ । यसलाई प्रोटिन मिसफोल्डिङ र एग्रिगेसन भनिन्छ, जसले सेल्युलर विषाक्तता निम्त्याउछ र न्यूरोडिजेनेरेटिभ रोगहरूमा प्रमुख भूमिका खेल्ने उनले बताए ।
३.अटोफ्याजीमा कमी
डा.विद्या सागरका अनुसार अटोफ्याजी कोशिकाले सफाइको काम गर्छ । यसको काम भनेको शरीरमा भएको क्षतिग्रस्त प्रोटिन र कणहरूलाई हटाएर सफा पार्नु हो । बुढ्यौलीसँगै यो प्रक्रिया कमजोर हुन्छ, जसले कोशिकामा हानिकारक पदार्थहरू जम्मा हुन्छ । अटोफ्याजीको कमीले उमेर बढाउने र रोगहरू निम्त्याउने अनुसन्धानहरूले देखाएका छन् । यसलाई बढाउँदा आयु लम्ब्याउन सकिन्छ भन्ने कुरा पनि अनुसन्धानले पत्ता लगाएको छ ।
४.हर्मोनल परिवर्तन
हर्मोनहरूले शरीरको विभिन्न कार्यहरू नियन्त्रण गर्छन्, तर बुढ्यौलीसँगै यिनको स्तर र प्रभावमा कमी आउँछ । जस्तो कि, यौन हर्मोन । बुढो हुँदै गएपछि पुरुषमा टेस्टोस्टेरोन र महिलामा इस्ट्रोजेनको स्तर घट्ने डा.विद्या सागर बताउँछन् । उनका अनुसार यो कारणले मांसपेशीको बल, हड्डीको घनत्व र यौन स्वास्थ्यमा प्रभाव पार्छ । महिलाहरूमा मेनोपजले इस्ट्रोजेनमा ठूलो कमी ल्याउँछ, जसले हड्डी कमजोर हुने जोखिम बढाउँछ ।
अर्को भनेको ग्रोथ हर्मोन र इन्सुलिन जस्तो वृद्धि कारण आइजीफ–१ को स्तर घट्छ । जसले, तन्तु मर्मत र मांसपेशी विकासमा कमी ल्याउँछ । यसबाहेक, थाइरोइड हर्मोनहरू पनि घट्न सक्छन्, जसले मेटाबोलिजम प्रभावित गर्ने प्रसादले बताए ।
५.तनाव हर्मोन
तनाव हर्मोन कोर्टिसोलको स्तरमा असन्तुलनले तनाव बढाउँछ, जसले रक्तचाप, रोग प्रतिरोधक क्षमता र मेटाबोलिजममा असर गर्छ । दीर्घकालीन उच्च कोर्टिसोलले इन्फ्लेमेसन बढाउँछ र उमेरसम्बन्धी रोगहरू निम्त्याउने डा.विद्या सागर बताउँछन् ।
५.रोग प्रतिरोधात्मक प्रणालीमा कमजोरी
डा. विद्या सागरका अनुसार बुढ्यौलीसँगै रोग प्रतिरोधक प्रणाली कमजोर हुन्छ, जसलाई ‘इम्युनोसेनेसेन्स’ भनिन्छ । टी–कोशिका र बी–कोशिकाहरूको कार्यक्षमता घट्छ, जसले शरीरलाई संक्रमण र रोगहरूसँग लड्न कठिन बनाउँछ । यसले इन्फ्लेमेजिङ निम्त्याउँछ र क्यान्सर, संक्रमण तथा अटोइम्युन विकारहरूको जोखिम बढाउँछ । यस प्रक्रियाले भ्याक्सिनको प्रभावकारिता पनि घटाउँछ ।
६.मांसपेशी र हड्डीमा ह्रास
बुढ्यौलीले मांसपेशी र हड्डीको संरचनाको स्तर घट्छ । मांसपेशीको मात्रा र बल घट्ने प्रक्रियालाई सार्कोपेनिया भनिन्छ । यो सामान्यतया ३० वर्षपछि सुरु हुन्छ र ६० वर्षपछि तीव्र हुन्छ । मांसपेशी कोशिकाहरू मर्ने र हार्मोनल परिवर्तनले यो प्रक्रिया तीव्र बनाउँछ । यसले गतिशीलता र शारीरिक कार्यक्षमता कम गर्ने हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सरोज कुमार सुवाल बताउँछन् ।
डा. सुवालका अनुसार उमेरसँगै क्याल्सियम र भिटामिन डीको अवशोषण घट्छ । जसले हड्डीको मर्मत प्रक्रिया बुढ्यौलीसँगै कमजोर हुन्छ । यसले हड्डी कमजोर हुने ओस्टियोपोरोसिस र फ्र्याक्चरको जोखिम बढाउँछ । ओस्टियोपोरोसिसले हड्डीको घनत्व घटाउँछ । विशेष गरी महिलामा महिनावारी सुकेपछि यो समस्या हुन्छ ।
७.मुटु र रक्तसञ्चार प्रणालीमा प्रभाव
मुटु र रक्त नलीहरूमा पनि बुढ्यौलीका प्रभाव देखिन्छ । रक्त नलीहरूको लचिलोपन कम हुन्छ, जसले रक्तचाप बढाउँछ । मुटुको मांसपेशी बाक्लो र कडा हुन सक्छ, जसले रगत पम्प गर्ने क्षमता घटाउने डा. विद्या सागरको भनाइ छ ।
‘त्यो मात्र नभई मुटुले काम राम्रोसँग गर्न नसक्दा कोलेस्टेरोल र फ्याट जम्मा भएर धमनीहरू साँघुरिन्छ, जसले मुटुको रोगको जोखिम बढाउँछ’ डा.विद्या सागर भन्छन्, ‘यी परिवर्तनहरूले शरीरमा थकान, सास फेर्न गाह्रो बनाउने र गतिशीलतामा कमी ल्याउँछ ।’
उनका अनुसार यसलाई भास्कुलर एजिङ भनिन्छ, जसले एथेरोस्क्लेरोसिस र हाइपरटेन्सन निम्त्याउछ ।
८.मस्तिष्क र स्नायु प्रणाली
उमेर ढल्किएसँगै मस्तिष्क र स्नायु प्रणालीमा पनि बुढ्यौलीका प्रभावहरू देखिन्छन् । किनकि, बिस्तारै शरीरका न्युरोनहरूको संख्यामा कमी आउँछ, जसले स्मरण शक्ति र संज्ञानात्मक कार्यमा प्रभाव पार्ने डा. सुवालले बताए ।
‘मुड सुधार गर्ने डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समिटरहरूको उत्पादन पनि घट्छ, जसले मुड र व्यवहारमा परिवर्तन ल्याउन सक्छ । यद्यपि, मानसिक र शारीरिक गतिविधिहरू कायम राख्ने हो भने मस्तिष्कको लचिलोपनले सिकाइ र अनुकूलनलाई सम्भव बनाउँछ । यसबाहेक, मस्तिष्कको आकार घट्छ, विशेष गरी हिप्पोक्याम्पस र फ्रन्टल लोबमा, जसले मेमोरी र मल्टिटास्किङ प्रभावित गर्छ ।’
९.पाचन र मेटाबोलिजम
पाचन प्रणालीमा पनि बुढ्यौलीका प्रभाव देखिन्छ । किनकि बिस्तारै पेटको अम्ल र इन्जाइमहरूको उत्पादन घट्छ, जसले पोषक तत्त्व अवशोषणमा कमी ल्याउँछ । आन्द्राको गतिशीलता कम हुन्छ, जसले कब्जियतको जोखिम बढाउँछ । मेटाबोलिक दर पनि घट्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ । साथै, इन्सुलिन संवेदनशीलता कम भएर टाइप २ मधुमेहको जोखिम बढ्छ । यसले पोषण कमी र इन्फ्लेमेसन बढाउने डा.विद्या सागरले बताए ।
१०.छाला र बाह्य परिवर्तन
छाला बुढ्यौलीको सबैभन्दा देखिने संकेत हो । ‘कोलाजेन’ र इलास्टिनले छालालाई कसिलो र रसिलो राख्छ । तर, उमेर बढेसँगै यसको उत्पादन घट्छ, जसले छालालाई पातलो, सुख्खा र चाउरी बनाउने छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।
छालाको कोषहरू पुनः जीवित पार्ने प्रक्रिया ढिलो हुन्छ, जसले घाउ निको हुन पनि समय लाग्छ । त्यस्तै, अर्को लक्षण भनेको कपाल सेतो हुँदै जानु हो । यो प्रक्रिया पनि उमेरसँगै मेलानोसाइट कोशिकाहरूको कमी हुँदै गएर हुने गर्छ । यसबाहेक, सन एक्सपोजरले एक्सट्रिन्सिक एजिंग बढाउँछ, जसले स्पटहरू र रिंकलहरू निम्त्याउने उनले बताए।
प्रतिक्रिया 4