News Summary
Generated by OK AI. Editorially reviewed.- छालामा देखिने साना राता कोठीहरूलाई 'चेरी एन्जियोमा' भनिन्छ र यी छालाको सतह नजिक फैलिएका रक्तनलीहरूको समूह हुन्।
- चेरी एन्जियोमा प्रायः ३० वर्षपछि देखिन थाल्छन् र उमेर तथा वंशाणुगत कारणले हुन्छन्, जुन कुनै रोगको संकेत होइन।
- राता कोठीहरू सौन्दर्यका लागि असहज भएमा लेजर, इलेक्ट्रोकटरी वा माइनर सर्जिकल एक्सिजनबाट सुरक्षित रूपमा हटाउन सकिन्छ।
सबैलाई आफ्नो छाला सफा, चम्किलो र दागरहित देखियोस् भन्ने चाहना हुन्छ, तर कहिलेकाहीँ छालामा यस्ता निशानहरू देखा पर्छन् जसले मानिसहरूलाई आश्चर्यमा पार्छ । जस्तै: ससाना राता कोठीहरू ।
यी कोठीहरू विशेष गरी छाती, पेट, काँध वा पाखुरामा देखिन्छन् र हेर्दा राता बिन्दुजस्ता लाग्छन् । सामान्यतया मानिसहरू यी देखेर आत्तिन्छन् र सोच्छन् कि, ‘कतै यो कुनै गम्भीर रोग वा क्यान्सरको संकेत त होइन ।यिनको रङ र आकारले कहिलेकाहीँ मानिसहरू डराउँछन् । तर यी कुनै संक्रमण वा रोगसँग सम्बन्धित हुँदैनन् ।
रातो कोठी बन्नुको कारण के हो ?
रातो कोठीलाई ‘चेरी एन्जियोमा’ पनि भनिन्छ । यी साना राता धब्बाहरू, वास्तवमा छालाको सतह नजिकै फैलिएका रक्तनलीहरूका समूह हुन् । यी प्रायः ३० वर्षको उमेर पछि देखिन थाल्छन् । अर्थात्, यी कुनै रोगको संकेत होइनन्, बरु छालाको प्राकृतिक उमेर बढ्ने प्रक्रियाको हिस्सा हुन् । चेरी एन्जियोमा बन्नुका दुई मुख्य कारणहरू छन्- उमेर र वंशाणुगत कारण ।
केही मानिसहरू स्वाभाविक रूपमा यस्ता कोठीहरूको जोखिममा हुन्छन् र उमेरसँगै यी बढ्दै जान्छन् ।
चेरी एन्जियोमाबारे आत्तिनु पर्दैन । यो पूर्णरूपमा सामान्य हो र प्रायः कुनै गम्भीर रोगसँग सम्बन्धित हुँदैन । यदि यी कोठीहरूले सौन्दर्यको दृष्टिकोणले असहज बनाउँछन् भने,
अनुभवी छाला रोग विशेषज्ञको सल्लाह लिएर यिनलाई सजिलै हटाउन सकिन्छ ।
गर्भावस्थाको समयमा : हार्मोनल उतारचढावका कारण नयाँ रक्तनलीहरू बन्न थाल्छन्, जसले राता कोठीहरू निस्कन सक्छन् ।
दुर्लभ अवस्थामा : केही औषधि वा रासायनिक पदार्थको सम्पर्कले यी कोठीहरू अचानक बढ्न सक्छन् ।
छाला पातलो हुँदा : उमेरसँगै छाला पातलो हुँदै जाँदा, सतह मुनिका रक्तनलीहरू बढी देखिन थाल्छन् ।
वंशाणुगत कारण : यदि परिवारमा कसैलाई यो समस्या छ भने, शरीरमा पनि यस्ता कोठीहरू देखा पर्न सक्छन् ।
यस्ता कोठी हटाउन सम्भव छ ?
यदि यी कोठीहरू सौन्दर्यका दृष्टिकोणले असहज बनाउँछन् वा लुगासँग रगडिएर दुख्छन् भने, यिनलाई सुरक्षित रूपमा हटाउन सकिन्छ । घरमा कुनै पनि प्रकारको रिमूभल किट वा घरेलु उपायको प्रयोग गर्नुहुन्न, किनभने यसले संक्रमण वा स्थायी दाग निम्त्याउन सक्छ । क्लिनिकमा यी कोठीहरू हटाउने केही सुरक्षित र प्रभावकारी तरिकाहरू हुन्छन् ।
लेजर उपचार : यो आधुनिक र सबैभन्दा सुरक्षित तरिका हो, जसमा कोठीको रक्तनलीलाई हल्का लेजरद्वारा बन्द गरिन्छ ।
इलेक्ट्रोकटरी : यो प्रविधिमा हल्का विद्युतीय करेन्टद्वारा कोठीको सतह हटाइन्छ ।
माइनर सर्जिकल एक्सिजन : धेरै ठूला वा उभ्रिएका कोठीहरूलाई चिकित्सकलाई थोरै चिरेर निकाल्न सक्छन् ।
यी सबै प्रक्रियाहरू पछि छाला केही दिनमा सामान्य हुन्छ र कुनै दाग रहँदैन ।
कुन अवस्थामा डाक्टरलाई देखाउनुपर्छ ?
धेरैजसो अवस्थामा रातो कोठीका लागि कुनै उपचारको आवश्यकता पर्दैन । तर केही अवस्थामा छाला रोग विशेषज्ञसँग जाँच गराउनु आवश्यक हुन्छ, जस्तै यदि रातो कोठीबाट बारम्बार रगत बग्छ भने । यदि कोठीको रङ वा आकार परिवर्तन हुन थाल्छ । यदि अचानक शरीरमा धेरै रातो कोठीहरू एकसाथ देखा पर्छन् । यी लक्षणहरू कुनै अन्य छाला समस्या वा संक्रमणतर्फ संकेत गर्न सक्छन्, त्यसैले डाक्टरको सल्लाह लिनु उचित हुन्छ ।
प्रतिक्रिया 4