News Summary
Generated by OK AI. Editorially reviewed.- जेन्जी आन्दोलनको क्रममा गोली लागेका एक युवकलाई किशोरी कार्कीले बाइकमा अस्पताल पुर्याइन्, तर युवकको मृत्यु भयो।
- आन्दोलनकारीले जलाएको बाइकको लागि सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरिन् र नयाँ बाइक किनेर दिइन् ।
- किशोरी कार्कीले जेन्जी आन्दोलनका मागहरू भ्रष्टाचार अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु पर्ने रहेको बताइन्।
त्यस दिन जेन जी आन्दोलन उत्कर्षमा थियो । तोडफोड, आगजानी, गोलीबारीले शहर आक्रन्त थियो । त्यही क्षण प्रदर्शनकारीतर्फका एक युवा अचानक भुइँमा ढले । उनको छातीमा गोली लागेको थियो । रगतले शरीर निथ्रुक्क थियो ।
अब के गर्ने ? कसरी उद्वार गर्ने ? कहाँ लैजाने ? कसले लैजाने ? केमा लैजाने ? द्विविधा थियो ।
त्यहीबेला एक युवती देखा परिन् । उनले यताउता गएर बाइक खोजिन् । कसैको बाइक हत्तपत्त स्टार्ट गरिन् । घाइतेलाई एक सहयोगीको साथ उठाएर पछाडि राखिन् । युवतीले कति पनि ढिला नगरी बाइकलाई अस्पतालतर्फ हुइक्याइन् ।
झट्ट हेर्दा फिल्मको दृश्य जस्तो थियो यो, जहाँ स्क्रिप्टअनुसार पूर्ववत: ढंगले सबैकुरा घटित हुन्छन् । यद्यपि त्यसदिनको घटना फरक थियो । फरक मात्र होइन उत्तिकै संवेदनशील र जटिल पनि । त्यो स्थितिमा घाइतेको उद्धार गर्नु सानो हिम्मत र जाँगरले सकिदैनथ्यो । सानो करुणा र समर्पणले पुग्दैनथ्यो ।
को थिइन् त ती हिम्मतवाली युवती ?
उनको नाम हो, किशोरी कार्की । उमेर २५ वर्ष ।
सामाजिक सञ्जालबाट सडकसम्म
किशोरी कार्कीले जेन्जी आन्दोलनबारे सुरुमा कुनै गहिरो ज्ञान राखेकी थिइनन् । ‘मलाई यो जेन्जीले गर्ने भनेको प्रदर्शन कस्तो हो, के हो भन्नेबारे खासै ज्ञान थिएन । अनि जेन्जी भनेको के हो भनेर पनि मलाई राम्रो थाहा थिएन’ उनी भन्छिन् । तर पछि सामाजिक सञ्जालहरूमा व्यापक रूपमा प्रदर्शनको बारेमा जानकारी देखेपछि उनी प्रभावित भइन् । ‘सामाजिक संजालहरूमा अब यति गते जेन्जीको प्रदर्शन हुँदैछ, माइतीघर मण्डलाबाट सुरु हुने भनेर पोस्ट देखेको थिएँ’ उनले भनिन् ।

भ्रष्टाचारविरुद्ध, नेताहरूको सम्पत्ति छानबिन र नेपो किड्स विरुद्धका मागहरू देखेर उनी सडकमा उत्रिइन् । ‘म आफू पनि जेन्जीको उमेरको परे २५ वर्ष भएँ, २८ भन्दामुनि अनि साथीहरूको यस्तो राम्रो माग छ मैले पनि सपोर्ट गर्नुपर्छ भनेर प्रदर्शनमा गएको हो ।’
उनी एक्लै नै माइतीघर मण्डलामा पुगेकी थिइन्, स्थिति हेर्न र आवाज उठाउन ।
गोली लागेकालाई बाइकमा अस्पताल
आन्दोलनको पहिलो दिन माइतीघर मण्डलाबाट संसद भवनतर्फ बढ्दै गर्दा स्थिति तनावपूर्ण भयो । ‘माइतीघर मण्डलाबाट हामी हिँड्दै हिँड्दै संसद भवनतिर पुग्यौ’ किशोरी भन्छिन्, ‘केही समयमा त्यहाँ झडप हुन थाल्यो ।’
उनी साइडमा उभिएर नारा लगाइरहेकी थिइन्, तोडफोडमा संलग्न थिइनन् । अचानक, संसद भवनबाट गोली चलेको र एक युवकको छातीमा लागेको देखिन् । ‘एकजना भाइ मभन्दा ठ्याक्क ५० मिटरको दूरीमा संसद भवन भित्रबाट गोली निस्कियो उहाँलाई ठ्याक्कै छातीमा लाग्यो । उहाँ भक्लकै ढल्नुभयो रोडमा’ उनले सुनाइन् ।
एम्बुलेन्स उपलब्ध नभएपछि, बीच सडकमा पार्क गरिएको एक बाइक देखेर उनीले त्यसलाई स्टार्ट गरिन् । बाइकका मालिकले इमर्जेन्सी भनेपछि अनुमति दिए । उनलाई बाइकमा हालेर सिभिल अस्पताल लगियो । सिभिलमा उपचार सम्भव नभएपछि एम्बुलेन्समा हालेर त्रिवि शिक्षण अस्पताल ‘टिचिङ’ पुर्याइन् । युवकको मुटुमा भित्रपट्टि सबै सुन्निसकेको रहेछ । टिचिङमा उनीलाई भित्र छिर्न दिइएन । उनले घाइतेलाई जिम्मा लगाइन् र त्यहाँबाट निस्किन् ।
ती घाइतेलाई अस्पताल लैजाँदा बाइकको पछाडि बसेर सघाउने भाइले फोन गरेर सुनाए-ती युवकको मृत्यु भएछ । उनलाई यो समाचारले स्तब्ध बनायो । ‘मलाई एकैचोटि छाँगाबाट खसेको जस्तो भयो, त्यो खबरले म तर्सिएँ’ उनी भन्छिन् ।
बाइक जलेपछि सहयोग अभियान
दुर्भाग्य ! उनले जुन बाइकमा घाइतेलाई बोकेर अस्पताल पुर्याएकी थिइन्, त्यो भोलिपल्टै जल्यो । हेलमेट नलगाई रगतले लतपतिएको लुगा लगाएर बाइकमा हिँडेको देखेर ट्रफिक प्रहरीले रोक्यो ।उनीसँग कागजपत्र पनि थिएन । अनि उनले घटनाको जानकारी दिएर ट्राफिकलाई जिम्मा दिइन् । उनलाई लागेको थियो । त्यो बाइक सम्बन्धित व्यक्तिले पाए होलान् ।
बाइकको मालिकसँग सामाजिक सञ्जालबाट सम्पर्क भयो । भोलिपल्ट आन्दोलनकारीले बग्गीखानामा आगजनी गर्दा बाइक पनि जलेछ । बाइक मालिक पठाओ राइडर थिए । उनको जीविका चलाउने साधन त्यही थियो । किशोरीले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेर सहयोग अपिल गरिन् । एक दिनमै बाइक किन्ने पैसा जम्मा भयो। विदेशबाट ७० हजारसम्म सहयोग आयो । कोठाभाडामा बस्ने विधाथीहरूले पनि १५ सय २ हजार सहयोग दिए ।’
उनको पनि सेकेन्ड ह्यान्ड भएकोले उनले २ लाख १० हजारमा सेकेन्ड ह्यान्ड बाइक किनेर ती युवकलाई दिइन् । बाँकी रहेको पैसा अस्पताल गएर घाइतेलाई सहयोग गर्ने घोषणा उनले गरेकी छिन् ।
निरन्तर सेवामा
पहिलो दिनको घटनापछि घरमा आमाले आन्दोलनमा जान रोकिन् । तर, उनलाई छटपटी भयो अनि आमालाई नटेरैरै सडकमा उत्रिइन् । ‘मम्मीले मलाई जान दिनुभएको थिएन तर बल्लबल्ल मनाएर निस्किएँ’ उनले सुनाइन् ।
उनी बालकुमारी हुँदै कोटेश्वरतर्फ जाँदा गोली लागेको अर्को घटना भयो । उनलाई पनि फेरि बाइकमा राखेर सिभिल अस्पताल पुर्याइन् ।त्यो बेला एक पत्रकारले उनलाई बाइक दिए । ती घाइतेलाई सिभिल हस्पिटलमा पुर्याएपछि त्यस दिन उनी दिनभर अस्पतालमै बसेर घाइतेहरूलाई सहयोग गरिन् ।
‘सिभिल हस्पिटलमा एक एक मिनेटमा गोली लाग्ने बाहिरबाट घाइते आउने क्रम जारी थियो’ किशोरीले भन्छिन्, ‘कसैको खुट्टा जलेको छ, कसैलाई छातीमा, कसैलाई टाउकोमा गोली लागेको छ, अनि उहाँहरूलाई स्टेचरमा तान्दै भित्र ल्याउँदै दिनैभरि त्यहीँ बसें।’
बाइक सानैदेखि चलाउथेँ
धेरैले उनलाई ‘छोरी मान्छेले कसरी त्यति सहज रुपमा बाइक चलाएको राइडर हो कि ?’ भनेर प्रश्न गरे । ‘धेरै जनाले मलाई प्रश्न गर्नुभयो परिस्थितिले सिकायो कि पनि भन्नुभयो तर, परिस्थितिले एकैछिनमा बाइक चलाउन सक्ने त भइँदैन ।’
उनलाई सानै हुँदादेखि बाइक चलाउन निकै रुचि लाग्थ्यो । कहिलेकाँही अंकलहरूको बाइक पाउँदा सकिनसकी चलाएर यताउता जान्थिन् । ‘सिकेको कुरा त्यो दिन काम लाग्यो’ उनले भनिन् । सिकेको थिए लाइसेन्स पनि मेरो बाइककै छ ।’
द्वन्द्वको छायाबाट सेवा भावसम्म
किशोरीको जीवन संघर्षपूर्ण छ । उनको पहाड घर ओखलढुंगा भए पनि उनी काठमाडौंमै जन्मिइन् । माओवादीको द्वन्द्वकालमा उनका बुबालाई राज्यले बेपत्ता पार्यो । त्यो बेला किशोरी जम्मा २२ महिनाकी मात्रै थिइन् ।
उनलाई ममीले बताए अनुसार उनका बुबा प्रोफेसर थिए । माओवादीमा आस्था राख्थे । सुरक्षा चुनौती भएपछि भागेर कटारीको डोल्मा रेस्टुरेन्टमा बसेका थिए । त्यहीँबाट पक्राउ गरियो । त्यसयता उनी गायब छन् । ‘ममीलाई पनि १६ महिना हिरासतमा राखेर यातना दिइयो रे’ किशोरी सुनाउँछिन् ।
किशोरीकी आमा शिक्षका थिइन् । त्यसैले जेलबाट छुटेर उनले बिराटनगरमा सरुवा गराइन् र त्यतै छोरीलाई हुर्काइन् ।
जेन्जी आन्दोलन न्यायका लागि आवाज
जेन्जी आन्दोलनका मागहरू स्पष्ट थिए-भ्रष्टाचारको अन्त्य हुनुपर्ने । सत्तामा बस्नेहरूको छानबिन गर्नुपर्ने ।प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने । आगजनी र हिंसाका घटनाले अहिले यी माग छायामा परेको उनको बुझाइ छ । ‘ती मागहरू लिएर हामी आयौं’ किशोरी भन्छिन्, ‘अहिले ती माग कता-कता बिलाइसके।’
पीडित परिवार र घाइते परिवारलाई अगाडि बढाउनु पर्ने र उनीहरूका माग सम्बोधन गर्नुपर्ने उनी बताउँछिन् ।
शहीद परिवारले राहत पाउनुपर्ने र आन्दोलनले उठाएको जायज माग सम्बोधनलाई मुख्य प्राथमिकता दिन उनको माग छ ।
प्रतिक्रिया 4