+
+
Shares
जेनजी आन्दोलनका घाइतेहरू भन्छन् :

‘हामीले बगाएको रगतबाट कसैले गलत फाइदा नउठाओस्’

‘यो आन्दोलन कुनै पार्टी, राजावादी वा स्वार्थ समूहका लागि होइन, बरू नेपालको भविष्यका लागि हो’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ भदौ २९ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ भदौ २३, २४ को आन्दोलनमा कुनै राजनीतिक दलको झण्डा नभई युवाहरूले स्वतन्त्र रूपमा नेतृत्व गरे।
  • आन्दोलनमा गोली लागेर घाइते भएका युवाहरूले देशको भ्रष्टाचार र अत्याचारविरुद्ध लडेको बताएका छन्।
  • युवाहरूको यो विद्रोहले देशको राजनीतिक कोर्स परिवर्तन गरेको र नयाँ नेतृत्व आवश्यक रहेको बताइएको छ।

२९ भदौ, काठमाडौं । नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलनले राजनीतिक उथलपुथल ल्याएका छन् । ती सबैजसो आन्दोलनमा राजनीतिक समूहले नेतृत्व गरेका थिए । २०८२ भदौ २३, २४ को आन्दोलन फरक रह्यो । यो आन्दोलामा कुनै राजनीतिक दलको झण्डा बोकिएन । यो नेपालको पछिल्लो पुस्तका युवाहरूको अगुवाइमा भएको विद्रोह थियो ।

देशमा मौलाइरहेको भ्रष्टाचार, सत्तामा बस्नेहरूको मनपरिले जनता आक्रोशि थिए । त्यो आक्रोशको नेतृत्व युवाहरूले गरे । युवाहरूले गोली खाए, कतिले जीवन बलिदान दिए ।
अन्तत: देशको राजनीतिक कोर्स बदलियो ।

समीर पौडेल, २४ वर्षीय युवा, आन्दोलनको एक सक्रीय सहभागी हुन् । उनी आफू कुनै पार्टी वा समूहको तर्फबाट नभई स्वतन्त्र रूपमा आन्दोलनमा सहभागी भएको समीरले बताए । ‘हामी स्वतन्त्र युवा हौँ, जसले देशलाई राम्रो बनाउन चाहन्छौँ’ समीर भन्छन्, ‘यो आन्दोलन नेपाललाई सुखी र समृद्ध बनाउने सपनासँग जोडिएको छ ।

आधारभूत आवश्यकताका लागि आमाबुबाले गरेको संघर्ष देखेर आन्दोलन गर्न लाग्न प्रेरित गरेको उनी सुनाउँछन् ।

समीरलाई यो आन्दोलनमा दुई–तीन ठाउँमा चोट लाग्यो । तर उनी त्यति दु:खी छैनन् । आफू देशका लागि लडेको भन्छन् ।

यो आन्दोलन राजनीतिक दलहरूको स्वार्थ भन्दा टाढा रहेको र देशमा भएको अत्याचारविरुद्ध भएको उनले बताए । ‘यो आन्दोलन कुनै पार्टी, राजावादी वा राप्रपाका लागि होइन, बरू नेपालको भविष्यका लागि हो’ समीरले प्रष्ट्याए ।

२४ वर्षीय श्रेयस न्यौपाने पनि आन्दोलनका घाइते हुन् । आमा सीता पाण्डेले आँखाभरी आँसु पार्दै छोराको बारेमा सुनाइन्, ‘मेरो छोरा शान्त स्वभावको हो । ऊ झगडा गर्ने मान्छे होइन । उनका अनुसार श्रेयसलाई दोस्रो दिन दिउँसो करिब पौने चार बजे गोली लागेको थियो ।

तीन ठाउँमा ठूला घाउहरू छन् । ‘डाक्टरले देखाएको बुलेट आतंककारी हान्ने खालको थियो, ठूलो र हेभी मेटलको, ’सीताले भनिन् । श्रेयस अहिले बोल्न सक्दैनन्, सर्जरीपछि ड्रेसिङ गर्दा पीडा हुन्छ । सीताका अनुसार, श्रेयस आन्दोलनमा ध्वंस गर्न गएका थिएनन् । ‘ऊ पुलिसलाई आन्दोलनकारीको आक्रोशबाट बचाउँदै थियो । पुलिसले गोली हान्दैन भन्दै थियो’ सीताले सुनाइन् ।

पोखरामा रहेकी सीताले साढे तीन बजे फोनमा छोरासँग कुराकानी गरेकी थिइन् । ‘मम्मी, म सेभरको काम गरिरहेको छु,’ श्रेयसले भनेका थिए । अघिल्लो दिन साथीहरूको मृत्यु देखेर उनी दोस्रो दिन पनि आन्दोलनमा सामेल भएका थिए ।

सीताले आफ्नो छोराप्रतिको गर्व व्यक्त गर्दै भनिन्, ‘मैले जे गर्न सकिनँ, मेरो छोराले गर्‍यो । आइ एम भेरी प्राउड अफ माई सन।’ उनी थप्छिन् ‘यो जेनजीहरूले जे गरे, म उनीहरूलाई पूर्ण साथ दिन्छु,’ ।

युवाहरूमा भएको निराशाले यो विद्रोह निम्त्याएको सीताको बुझाइ छ । ‘मेरो छोराले मेरो गर्भदेखि नै मेरो सङ्घर्ष देखेको छ । हामीले सहन सिकेका थियौँ’ सीता भन्छिन्, ‘तर यिनीहरूलाई अन्यायविरुद्ध लड्न सिकाएका छौँ ।’

मिलेनियम जेनेरेसनको सङ्घर्ष जेनजीहरूले देखेका छन्, सीताले भनिन्, ‘फी तिर्ने समस्या, टिफिनको विभेद, शिक्षा स्वास्थ्यमा भएको असमानताहरू । हामीले अन्तर मनमा लडेको द्वन्द्व यिनीहरूले बाहिर देखाए ।’

आफ्ना सन्तानले बगाएको रगतलाई कसैले गलत फाइदा उठाउन दुरुपयोग गर्छ कि भन्ने चिन्ता छ उनलाई । ‘जेनजीहरूले ठूलो कुरा चाहेका छैनन्’ सीता भन्छिन्, ‘शान्त वातावरणमा पढ्न र काम गर्न पाए पुग्छ । ८० प्रतिशतले पासपोर्ट अप्लाइ गरेका छन्, तर राम्रो वातावरण भए उनीहरू विदेश जाँदैनन्, विदेश गए पनि पछि नेपाल फर्किन्छन् ।’

अब नेतृत्व गर्नेले देशलाई सही ट्र्याकमा लैजानुपर्ने उनको सुझाव छ । ‘नयाँ सुरुवात गरी बलियो जगमा देश बनाउनु पर्छ’ उनले भनिन् ।

गोरखाका अंकित खनाल प्लस टुको पढाइ सक्काएर स्नातक पढ्दैछन् । १९ वर्षीय उनी भ्रष्टाचारविरुद्ध आन्दोलन गर्न आएको सुनाउँछन् । कलेज पोशाकमै आन्दोलनमा पुगेका उनलाई पहिलो दिन दिउँसो एक बजेतिर संसद् भवन अगाडि गोली लागेको थियो । आन्दोलनमा भागदौड हुँदा सँगै आएका साथीहरू पनि छुटे । त्यहाँ रहेको अरूले नै एम्बुलेन्समा हालेर अस्पताल पुर्‍याए ।

‘अपर थाइमा मेटल बुलेट अड्केको थियो, हिजो निकालियो’ उनले भने

भुइँतिर कि हावामा हान्नुपर्ने गोली छाती र टाउकोमा ताकेर हानेको उनको आरोप छ । प्रहरीले नगर्नुपर्ने दमन गरेको उनको वुझाइ छ ।

अङ्कितका अनुसार, यो आन्दोलन पुराना नेताहरूलाई सचेत बनाउन गरिएको हो । अब देश बुझेको, जनताको माया भएको व्यक्तिहरू मात्रै सत्तामा पुगुन् भन्ने उनको चाहना छ ।

आनेदोलनको फाइदा उठाएर तोडफोड आगजनी गर्दा र जेलबाट कैदीहरू भागेको थाहा पाएर दु:खी छन् । ‘रबी लामिछाने वा कसैलाई निकाल्न यो हामीले आन्दोलन गरेको होइन’ उनले प्रष्ट्याए, ‘उनी निस्किएपछि धेरै कैदीहरू पनि भागे तर हाम्रो रगत त्यसका लागि होइन ।’

झापाका केशव फागो लिम्बु, काठमाडौँमा कानुन पढ्दै छन् । उनी देश प्रेम र संविधानप्रतिको सम्मानबाट आन्दोलनमा आए । फोहोरी राजनीति हटाउन आन्दोलनमा होमिएको उनी सुनाउँछन् । उनलाई २३ गते अर्थात सुरुकै दिन १२ बजेतिर गोली लागेको थियो । ‘मेरो आँखै अगाडि तीन जना ढले । पुलिसले क्रूरता देखाएकै हो’ उनको निष्कर्ष छ।

उनका अनुसार आन्दोलनकारीको तर्फबाट केही व्यक्तिले ढुङ्गा हानेका थिए, तर पुलिसले ताकेर गोली नै हन्यो। ‘मेरो साथीलाई छातीमा, मलाई खुट्टामा गोली लाग्यो । मेटल बुलेट थियो, गहिरो घाउ भएको छ’ उनले भने ।

केशव आन्दोलनको जितमा खुसी भए पनि आन्दोलनको क्रममा भएको राजनीतिक खेलबाट दुःखी छन् । ‘सर्वजनीक भौतिक पूर्वाधार तोडफोड गर्नुहुँदैन थियो । अदालत त झन् मन्दिर हो । अवसरवादीहरूले हमला गरे, उनीहरूलाई सजाय दिनुपर्छ ।’

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?