News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा मधुमेह र उच्च रक्तचाप दुवै रोगको प्रसार बढ्दो छ र करिब ८.५ प्रतिशतमा मधुमेह र २६ प्रतिशतमा उच्च रक्तचाप छ।
- मधुमेह र उच्च रक्तचाप सँगै हुँदा मुटु रोग, मिर्गौला समस्या र आँखामा जटिलता हुने जोखिम दोब्बरभन्दा बढी हुन्छ।
- विशेषज्ञहरूले जीवनशैली सुधार, नियमित औषधि सेवन र मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
५२ वर्षीय सीता लामिछाने (नाम परिवर्तन) केही वर्षदेखि मधुमेहसँग जुधिरहेकी छिन् । मधुमेह लागेदेखि उनी आफ्नो जीवनशैलीमा निकै सचेत छिन् । मधुमेहको जोखिमबारे बुझेकी उनले आफ्नो खानपानमा ध्यान दिइरहेकी छिन् । नियमित व्यायाम गर्छिन् । चकित्सकले दिएको औषधि समयमै लिन्छिन् ।
तर, पछिल्लो महिनादेखि उनी आफ्नो स्वास्थ्यमा नयाँ चुनौती महसुस गर्न थालिन् । स्वास्थ्य जाँचमा उनको रक्तचाप पनि उच्च देखियो । यसले उनी थप चिन्तित बनेकी छिन्।
‘मलाई मधुमेह त पहिलेबाटै थियो, अचानक मेरो रक्तचाप पनि बढेको देखियो’ सीता भन्छिन्, ‘दुई रोग सँगै हुँदा अब स्वास्थ्य के हुने हो भन्ने चिन्ता बढेको छ ।’
सीताजस्ता समस्या भएका व्यक्तिहरू समाजमा धेरै हुन्छन् । अहिले नेपालमा पनि उमेर बढ्दै गएपछि मधुमेह र उच्च रक्तचाप एक आम स्वास्थ्य समस्या बनिरहेको छ । कसै कसैमा यो दुवै समस्या एकसाथ पनि देखिने गर्छ ।
धेरै मानिसहरूलाई मधुमेह र उच्च रक्तचाप एकैसाथ हुन सक्ने कुरा थाहा हुँदैन । यो रोगको संयोजनले स्वास्थ्यमा विशेष चुनौती ल्याउन सक्ने विज्ञहरू बताउँछन् । नेपालमा मधुमेह र उच्च रक्तचाप दुवैको प्रसार बढ्दो छ । एक अध्ययनअनुसार करिब ८.५ प्रतिशत नेपालीमा मधुमेहको समस्या छ । उच्च रक्तचाप भने २६ प्रतिशत आसपास छ ।
दुवै सँगै हुँदा मुटु रोग, मिर्गौलामा समस्या र आँखा सम्बन्धी जटिलताहरूको जोखिम दोब्बरभन्दा बढी हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक भन्छ, विश्वव्यापी रूपमा हरेक वर्ष करिब ५ देखि ७ प्रतिशतले मधुमेह हुनेको संख्या बढिरहेको छ । जसमा सन् २०२५ सम्म संसारभर ७० करोडभन्दा बढीमा मधुमेह हुने अनुमान छ ।
डब्लुएचओका अनुसार विकासशील देशहरूमा मधुमेह र उच्च रक्तचाप साझा जोखिम कारकहरूबाट आउँछन्, जस्तै मोटोपन, अस्वास्थ्यकर खानपान, व्यायामको कमी र तनाव। नेपालमा पनि शहरीकरण र जीवनशैली परिवर्तनले यी रोगहरू बढाएको अनुमान गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा मधुमेह मात्र होइन, उच्चरक्तचाप पनि सोही अनुपातमा बढी रहेको हर्मोन तथा मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।
उनका अनुसार वयस्क जनसंख्याको करिब ३० देखि ४० प्रतिशतमा उच्च रक्तचाप छ । र, वर्षेनी ३ देखि ५ प्रतिशतले यो दर बढ्दै छ । यसो हुनुमा प्रमुख कारण शहरीकरण, शारीरिक निस्क्रियता, मोटोपना र प्रशोधित खानपान रहेको उनी बताउँछन् ।
एक उदाहरण हेरौँ,
ललितपुरका ५२ वर्षीय रामबहादुर मगरलाई दुई वर्षअघि मधुमेह भएको थाहा भयो । उनी साना हुँदा खेती गर्थे । कसरत हुन्थ्यो, त्यही अनुसारको खान्की हुन्थ्यो ।
अब भएको खेतीयोग्य जमिन बेचेर शहरमा घर बनाएका छन् । जमिन सकिए पनि शारीरिक गतिविधि कम भयो । एक त उमेर बढ्दै गयो । खानपान पनि पहिलेको जति सन्तुलित नहुँदा उनमा स्वास्थ्य समस्या देखिन थाले ।
सुरुमा थकान र बारम्बार पिसाब लाग्ने समस्या भयो । जाँचका लागि जाँदा चिकित्सकले मधुमेह भनेपछि उनले औषधि लिन थाले पछि उच्च रक्तचाप पनि थपियो ।
‘अब दुवैको स्तर बढी हुँदा मुटुमा दबाब बढेको महसुस हुन्छ’ रामबहादुर भन्छन्, ‘हातखुट्टा सुन्निने र टाउको दुख्ने समस्या बढेको छ ।’
यस्ता लक्षण लिएर अस्पताल धाउनेहरू धेरै भएको विज्ञ बताउँछन् । यसमा ग्रामीण र शहरी दुवै क्षेत्रबाट व्यक्तिहरू पर्छन् ।
मधुमेह र उच्च रक्तचापको सम्बन्ध
मधुमेह रोग विशेषज्ञ डा. भट्टराईका अनुसार धेरैजसो अवस्थामा मधुमेह भएका व्यक्तिहरूमा उच्च रक्तचाप हुने सम्भावना दुई गुणा बढी हुन्छ । मधुमेहले रक्तनलीहरू सुन्निने र कडापन ल्याउँछ, जसले रक्तचाप नियन्त्रण गर्न गाह्रो बनाउँछ । र, रक्तचाप पनि स्वत बढाउन सक्छ ।
नेपालमा धेरैजसो मधुमेह भएकाहरूमा उच्च रक्तचाप पनि देखिने उनको भनाइ छ । किनभने मोटोपन र अस्वस्थ्यकर आहारले यी दुवै स्वास्थ्य समस्या निम्त्याउछन् ।
‘मधुमेह भएपछि सबैलाई उच्च रक्तचाप हुन्छ भन्ने हुँदैन’ डा. भट्टराई भन्छन्, ‘पारिवारिक इतिहास, उमेर र तनावले रक्तचापलाई बढावा दिन सक्छ ।’
अन्य कारकहरू-जस्तै उमेर, तौल, परिवारमा उच्च रक्तचापको इतिहास, तनाव र जीवनशैलीले उच्च रक्तचाप देखिन भूमिका खेल्ने डा.भट्टराईले जानकारी दिए ।
मधुमेह र उच्च रक्तचाप दुवै हुँदा शरीरमा जटिलता बढ्छ । उच्च रक्तचापले मुटु, मिर्गौला, आँखा र मस्तिष्कमा असर पुर्याउँछ । मधुमेहले पनि यही अंगहरूलाई प्रभावित पार्छ । जब दुवै रोग एकैसाथ हुन्छन्, जोखिम थप बढ्ने उनी बताउँछन् ।
मधुमेह हुँदा रगतमा चिनीको मात्रा बढ्छ, जसले रक्तनलीहरूलाई क्षति पुर्याउँछ । यसले रक्तचाप बढाउने काम गर्छ । उल्टो, उच्च रक्तचापले पनि इन्सुलिन प्रतिरोध निम्त्याएर मधुमेहको जोखिम बढाउँछ ।
दुवै रोग हुँदा हुन सक्ने समस्या
मुटु विशेषज्ञहरूका अनुसार यो संयोजन मुटुका लागि घातक हुन्छ । मुटु रोग विशेषज्ञ डा. अशोक श्रेष्ठका अनुसार उच्च रक्तचापले नै मुटुको धमनीमा चाप बढाएर असर गरिरहेको हुन्छ । त्यस्तै, तरिकाले उच्च रक्तचापसँगै ग्लुकोजको मात्रा धेरै हुँदा मुटुको धमनीमा चाप थप बढाउँछ, धमनीहरूमा लेउ जम्ने खतरा बढ्छ ।

जसले मुटुमा रगत पुर्याउने नलीहरू अवरुद्ध गराई वा स्ट्रोकको सम्भावना बढाउन सक्छ । त्यसैले मधुमेहलाई मुटुको शत्रु भन्दा केही फरक नपर्ने डा. श्रेष्ठ बताउछन् ।
नेपालमा मुटु रोगबाट मृत्यु हुनेमा ३५–७५ प्रतिशतमा यी दुवै रोगहरू जिम्मेवार हुने उनले जानकारी दिए ।
‘धुम्रपान गर्नेहरूमा यो जोखिम झनै बढ्छ’ डा.श्रेष्ठ भन्छन्, ‘नेपालमा धुम्रपानको दर उच्च छ, जसले यी जटिलताहरूलाई बढावा दिन्छ ।’
मिर्गौला पनि दुवै रोगको संयोजनबाट बढी प्रभावित हुन्छ । रक्तमा चिनी र उच्च रक्तचापले मिर्गौलामा दबाब बढाउँछ, जसले मिर्गौला नै फेल हुनसक्ने जोखिम पनि ल्याउने डा.श्रेष्ठले बताए ।
उनका अनुसार मधुमेह र उच्च रक्तचाप सँगै हुँदा सबैभन्दा ठूलो जोखिम मुटु र रक्तनलीहरूमा पर्छ । दुवै रोग हुँदा हृदयघात वा स्ट्रोकको जोखिम चार गुणासम्म बढ्ने उनको भनाइ छ ।
मधुमेहले साना रक्तनलीहरू बिगार्छ, जसले आँखामा रेटिनोप्याथी (आँखाको पर्दामा क्षति) निम्त्याउछ, जसबाट अन्धोपन हुनसक्छ । उच्च रक्तचापले यो प्रक्रियालाई तीव्र बनाउँछ । परिणामस्वरूप दृष्टि कम हुने समस्या देखा पर्न सक्छ ।
नेपालमा मधुमेह भएका करिब १० प्रतिशतमा आँखा समस्या देखिन्छ, र उच्च रक्तचाप थपिँदा यो संख्या बढ्छ । यसबाहेक, मिर्गौला रोग पनि सामान्य जटिलता हो ।
‘मधुमेहले मिर्गौलाको फिल्टर प्रणाली बिगार्छ, र उच्च रक्तचापले यसलाई झनै दबाब दिन्छ, जसले दीर्घकालीन मिर्गौला रोग निम्त्याउछ‘ डा. श्रेष्ठले व्याख्या गरे । नेपालमा मधुमेह भएकाहरूमध्ये एक तिहाइमा मिर्गौला समस्या देखिन्छ, जसमा उच्च रक्तचापको भूमिका ठूलो छ ।
के मधुमेह भएरै उच्च रक्तचाप हुन्छ ?
होइन, तर मधुमेहले यसलाई निम्त्याउन सक्छ । मधुमेह हुँदा इन्सुलिन प्रतिरोध हुन्छ, जसले अंग सुन्याउने र अक्सिडेटिभ स्ट्रेस बढाउन गर्छ र यो उच्च रक्तचापको कारण बन्न सक्ने डा. भट्टराई बताउँछन् ।
उनका अनुसार अन्य अवस्थामा पनि यो हुन सक्छ । जस्तै, पारिवारिक इतिहास, उमेर (४० वर्षमाथि), मोटोपन, नुन बढी खाने बानी, व्यायाम नगर्ने र तनाव धेरै लिँदा पनि उच्च रक्तचाप हुनसक्छ । मधुमेह हुनु उच्च रक्तचापको एक जोखिम कारक रहेको डा.भट्टराईले स्पष्ट पारे ।
उच्च रक्तचाप बिना मधुमेह भएका व्यक्तिहरूमा पनि मुटुको समस्या देखिन सक्छ । तर मधुमेहसँगै भएको अवस्थामा जोखिम धेरै गुणा बढ्छ ।
दुवै रोग हुँदा के गर्ने ?
विशेषज्ञहरूका अनुसार नियन्त्रण सम्भव छ, तर यसका लागि जीवनशैली परिवर्तन र औषधि दुवै चाहिन्छ । यसमा नियमित जाँच गरिरहनु सबैभन्दा पहिलो आवश्यकता रहेको मधुमेह रोग विशेषज्ञ भट्टराई बताउँछन् ।
– रक्तचाप १३०/८० एमएमएचजीभन्दा कम र ए १सी (रगतमा चिनीको औसत) ७ प्रतिशतभन्दा कम राख्न प्रयास गर्ने ।
– तौल नियन्त्रण (५–७ प्रतिशत तौल घटाउँदा जोखिम कम हुन्छ ।
– व्यायाम (हप्तामा १५० मिनेट मध्यम व्यायाम जस्तै हिँड्ने वा साइकल चलाउने) ।
– आहारमा फलफूल, तरकारी, ताजा खानेकुरा बढाउने, नुन र चिनी घटाउने ।
– धूम्रपान र अत्यधिक मदिरा सेवनबाट टाढा रहनुपर्छ ।
– औषधि सेवन चिकित्सकको निर्देशन अनुसार मात्र गर्नु पर्छ । कहिलेकाहीँ दुवै रोगको औषधि सँगसँगै लिनुपर्छ, जसले रक्तचाप र चिनी दुवै नियन्त्रणमा राख्छ ।
रक्तचाप र मधुमेह दुवै अनियन्त्रित रहँदा मुटु, मिर्गौला, मस्तिष्क र आँखामा गम्भीर समस्या देखिने हुँदा नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाहलाई ध्यान दिनु आवश्यक रहेको डा. श्रेष्ठले बताउँछन् ।
मानसिक स्वास्थ्यको भूमिका
यस्तो बेला सम्बन्धित रोगको उपचारसँगै मानिसक स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक भएको चिकित्सकहरू बताउँछन् । शरीरमा दुई रोग र यसले निम्त्याउने स्वास्थ्य समस्याको भयका कारण व्यक्तिमा मानसिक समस्या हुनसक्छ । तनाव तथा मानसिक समस्या बढ्दा मधुमेह र उच्च रक्तचाप दुवै बढ्ने सम्भावना रहन्छ ।
यस्तो अवस्थामा मानसिक स्वास्थ्यलाई नजरअन्दाज गर्न नहुने मुटु रोग विशेषज्ञ डा. अशोक श्रेष्ठ बताउँछन् । ‘तनावले रक्तचापमा वृद्धि ल्याउँछ र मधुमेहलाई पनि अस्थिर बनाउँछ’ श्रेष्ठ भन्छन्, ‘ध्यान, योग वा मानसिक स्वास्थ्य काउन्सिलिङले दुवै रोग व्यवस्थापनमा सहयोग पुर्याउँछ ।’
जीवनशैलीमा सुधार, नियमित औषधि सेवन र मानसिक स्वास्थ्यलाई समेत ध्यान दिई उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रमा राख्नु नै थप स्वास्थ्य जोखिमबाट बच्ने मुख्य मन्त्र भएको चिकित्सकहरूको भनाइ छ।
प्रतिक्रिया 4