+

कसरी हुन्छ अल्सर, के छ उपचार ?

२०८२ असोज  २४ गते १७:०१ २०८२ असोज २४ गते १७:०१
Shares
कसरी हुन्छ अल्सर, के छ उपचार ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा अल्सरका केस बढ्दो देखिन्छ, तर यो रोग बढेको भन्दा पहिचान बढेको हो, किनभने इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा देशभर उपलब्ध छन्।
  • अल्सर पेट, सानो आन्द्राको पहिलो भाग (ड्युडेनम), ठूलो आन्द्रा वा कहिलेकाहीँ खाद्यनलीमा देखिन्छ र ड्युडेनममा सबैभन्दा बढी हुन्छ।
  • एच.पाइलोरी ब्याक्टेरिया, अत्यधिक हाइड्रोक्लोरिक एसिड, धूम्रपान, मदिरा सेवन र तनावले अल्सर निम्त्याउँछन् र उपचारमा एन्टिबायोटिक्स र एसिड घटाउने औषधि प्रयोग हुन्छ।

पाचन प्रणालीको भित्री सतहमा एक प्रकारको घाउ वा क्षति हुनुलाई चिकित्सकीय भाषामा ‘अल्सर’ भनिन्छ । पेटमा म्युकस नामक गाढा तरल पदार्थ हुन्छ, जसले पेटमा उत्पादन हुने ‘हाइड्रोक्लोरिक एसिड’बाट पेट वरपरको भित्तालाई जोगाउँछ ।

यो एसिड खाना पचाउन महत्वपूर्ण छ, तर यसको मात्रा बढी भए वा म्युकससँग सन्तुलन बिग्रिए पेट वा आन्द्रामा घाउ बन्छ । यो समस्या आमाशय (माथिल्लो पेट), सानो आन्द्राकाे पहिलो भाग (ड्युडेनम) वा ठूलो आन्द्रामा देखिन सक्छ । सानो आन्द्रामा अल्सर सबैभन्दा बढी देखिन्छ, तर आमाशयको अल्सरले क्यान्सरको जोखिम बढाउँछ ।

नेपालमा कति सामान्य ?

नेपालमा अल्सरका केस बढ्दो देखिन्छ, तर यो रोग बढेको भन्दा पनि पहिचान बढेको हो । पहिले इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सीमित थियो, मानिसलाई रोगबारे थाहा हुँदैनथ्यो । अहिले यी सेवा देशभर उपलब्ध छन् र ग्यास्ट्रोलोजिस्टको संख्या पनि बढेको छ। अस्वस्थ खानपान र विषादी प्रयोगले क्यान्सर र आईबीडी (इन्फ्लेमेटरी बावल डिजिज) का केस बढेका छन् ।

पहिले १९७० मा आईबीडीका १–२ केस मात्र थिए, अहिले यस्ता केस दैनिक देखिन्छ ।

अल्सर कुन-कुन ठाउँमा देखिन्छ ?

अल्सर आमाशय, सानो आन्द्राकाे पहिलो भाग (ड्युडेनम), ठूलो आन्द्रा वा कहिलेकाहीँ खाद्यनलीमा हुन्छ । ड्युडेनममा अल्सर सबैभन्दा बढी देखिन्छ, किनभने यो भागमा एसिडको प्रभाव बढी पर्छ ।आमाशयमा भए क्यान्सरको जोखिम हुन्छ । ठूलो आन्द्रामा आईबीडी, टिबी वा क्यान्सरले अल्सर बनाउँछ ।

अल्सर कसरी हुन्छ ?

अल्सरका धेरै कारण छन् । मुख्य कारण पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिड हो । यो ग्यास्ट्रिक रसमा हाइड्रोक्लोरिक एसिड, सोडियम क्लोराइड र पोटासियम क्लोराइड मिसिएको हुन्छ । यो एसिडले खाना पचाउने, ब्याक्टेरिया नष्ट गर्ने र प्रोटिन पचाउने ईन्जाइम सक्रिय बनाउँछ । तर, जब यो एसिडको मात्रा धेरै हुन्छ, यसले पेट वा सानो आन्द्राको भित्तालाई हानि पुर्‍याउँछ, जसले घाउ बनाउँछ ।

अर्को प्रमुख कारण हेलिकोब्याक्टर पाइलोरी (एच. पाइलोरी) ब्याक्टेरिया हो । यो ब्याक्टेरियालाई डा.वारेन र मार्शलले पत्ता लगाएका थिए । यो पेटमा रहेर ग्यास्ट्रिकको मात्रा बढाउँछ, जसले म्युकस तहलाई कमजोर बनाउँछ ।

सुरुमा पेटमा रातो घाउ जस्तो देखा पर्छ । जुन बिस्तारै बिमिरा बन्छ र अन्तमा अल्सर हुन्छ । यो ब्याक्टेरिया दूषित खाना वा पानीबाट सर्छ। सबैमा यो ब्याक्टेरियाले अल्सर निम्त्याउँदैन तर जोखिम बढ्छ । लक्षण हल्का भएकाले सुरुमा पहिचान गाह्रो हुन्छ ।

यसबाहेक दुखाइ कम गर्ने औषधिहरू, जस्तै आइबुप्रोफेन वा एनएसएआईडीजको लामो प्रयोगले ग्यास्ट्रिक र अल्सर निम्त्याउछ । धूम्रपान, अत्यधिक मदिरापान, चिल्लो वा मसलेदार खाना, खाली पेट बस्ने र मानसिक तनावले ग्यास्ट्रिक सुरु हुन्छ । यस्ता समस्यालाई बेवास्ता गरे आन्द्रामा घाउ बन्छ ।

तनावका कारण धेरै मानिस अल्सरबाट पीडित छन् । धेरैले पेट दुखेपछि चिकित्सकको सल्लाहबिना औषधि खान्छन्, जसले उपचारमा ढिलाइ हुन्छ । लिभर सिरोसिस भएका वा अत्यधिक मदिरा सेवन गर्नेमा जोखिम बढी छ । क्यान्सर, ग्लुटेन असहनशीलता (सिलिएक डिजिज), इन्फ्लेमेटरी बावल डिजिज (आईबीडी), क्षयरोग (टिबी) वा दूषित खाना र पानीबाट हुने संक्रमणले पनि अल्सर हुन्छ ।

आमाशयमा क्यान्सर भए अल्सर देखिन्छ, सानो आन्द्राको क्यान्सर दुर्लभ तर आक्रामक हुन्छ । ठूलो आन्द्रामा आईबीडी वा टिबीले अल्सर बनाउन सक्छ । सानो आन्द्राको अन्तिम भाग (इलियम) मा टिबीले अल्सर बनाउन सक्छ ।

अल्सरका लक्षण

अल्सरको लक्षण गम्भीरतामा निर्भर गर्छ ।

सामान्य लक्षणमा पेट दुखाइ (विशेषगरी खाली पेटमा), वान्ता, पेट फुल्ने वा भारी हुने, छाती पोल्ने हुनसक्छ ।

गम्भीर अवस्थामा रक्तअल्पता (एनिमिया), गाढा वा कालो दिसा, दिसा वा वान्तामा रगत र मुखबाट रगत आउने हुन्छ । क्यान्सर भए खाना नरुच्ने, थोरै खाएर अघाउने, तौल घट्ने, दिशामा लुकेको रगत देखिन्छ । ५०–५५ वर्ष उमेरका व्यक्तिमा यस्ता लक्षण ‘रेड फ्ल्याग साइन’ हुन्, जसले तुरुन्त जाँचको आवश्यकता देखाउँछ ।

यस्ता लक्षणले पाचन प्रक्रिया कमजोर बनाउँछ र समयमै उपचार नगरे ज्यानलाई खतरा हुन्छ ।

जटिलता

यदि अल्सरको समयमै पहिचान र उपचार भएन भने गम्भीर जटिलता देखिन्छ । आन्तरिक रक्तस्राव, वान्ता वा दिसामा रगत र क्यान्सरको जोखिम बढ्छ । सानो आन्द्राको अल्सर बेवास्ता गरे आन्द्रा फुट्न सक्छ, जुन आपतकालीन अवस्था हो । क्यान्सर फैलिए उपचार गाह्रो हुन्छ ।

यस्ता जटिलताले पाचन प्रणालीलाई कमजोर बनाउँछ र स्वास्थ्यमा दीर्घकालीन असर गर्छ ।

अल्सरको पहिचान

अल्सर पत्ता लगाउन इन्डोस्कोपी गरिन्छ, जसले पेट वा आन्द्राको अवस्था देखाउँछ । यदि रातो देखियो भने त्यो इरोजन हो, र ५ एमएमभन्दा ठूलो घाउ भए अल्सर भएको बुझिन्छ ।

ठूलो आन्द्राका लागि कोलोनोस्कोपी गरिन्छ । गम्भीर लक्षण देखिए बायोप्सीले घाउको नमूना जाँच गरी ग्यास्ट्रिक, क्यान्सर वा टिबी हो भनेर पत्ता लगाइन्छ । रगत वा दिसा जाँच पनि गरिन्छ । अघि उल्लेख गरिएको रेड फ्ल्याग लक्षण भए तुरुन्त इन्डोस्कोपी वा कोलोनोस्कोपी आवश्यक हुन्छ ।

अल्सरको उपचार

अल्सरको उपचार यसको प्रकार, स्थान र गम्भीरतामा निर्भर गर्छ । समयमै पहिचान भए पूर्णनिको हुन्छ । यदि एच.पाइलोरी ब्याक्टेरियाले अल्सर भएको हो भने एन्टिबायोटिक्स र एसिड घटाउने औषधि (जस्तै ओमेप्राजोल) १–२ हप्ता खाँदा निको हुन्छ ।

ग्यास्ट्रिक अल्सर भए एन्टासिड्स वा एच२ ब्लकर (रेनिटिडिन) ले एसिड नियन्त्रण गर्छ ।

इन्फ्लेमेटरी बाउल डिजिज (आईबीडी) भए मेसालामिन, एजाथियोप्रिन, मोनोक्लोनल एन्टिबडी वा इम्युनोमोडुलेटर औषधि प्रयोग हुन्छ । टिबी भए ६ देखि ९ महिनाको यसको औषधि खानुपर्छ। लिम्फोमा भए केमोथेरापीले पूर्ण निको हुन्छ । गम्भीर अवस्थामा, जस्तै रक्तस्राव, आन्द्रा फुट्ने वा क्यान्सर भए, शल्यक्रिया आवश्यक हुन्छ ।

अल्सर निकाल्ने वा प्रभावित भाग काटिन्छ । क्यान्सर समयमै पत्ता लागे सर्जरी, केमोथेरापी वा रेडियोथेरापीले निको हुन्छ, तर ढिलो भए फैलिएर उपचार गाह्रो हुन्छ । उमेर बढी भएका र रगत आउने केसमा भने निको हुने सम्भावना कम हुन्छ, तर युवामा नतिजा सकारात्मक हुन्छ ।

बान्ता गर्दा रगत आउने, दिसा कालो आउने भएमा तुरुन्त उपचार आवश्यक हुनसक्छ ।

रोकथाम

– मसलेदार, चिल्लो वा अमिलो खाना कम खाने र तरकारी, फलफूल र फाइबरयुक्त खाना बढी खाने ।

– नियमित समयमा खाना खाने, खाली पेट नबस्ने र थोरै मात्रामा बारम्बार खाने बानी बसाल्ने ।

– तनाव घटाउन योग, ध्यान र व्यायाम गर्ने । धूम्रपान र मदिरा पूर्णरूपमा त्याग्ने । किनभने यिनले अल्सरको जोखिम बढाउँछ ।

– दुखाइ कम गर्ने औषधि चिकित्सकको सल्लाहमा मात्र खाने ।

– सफा पानी र खाना प्रयोग गर्ने, पानी उमालेर खाने र खाना राम्रोसँग पकाएर खाने ।

– नेपाली शैलीको खानपान अपनाउने । पश्चिमी शैलीका खाना जस्तै प्रशोधित खानेकुरा खाने बानी हटाउने ।

– पर्याप्त पानी पिउने र नियमित निद्रा लिने ।

–  क्यान्सरबाट बच्न पोलेको वा भुटेको मासु कम खाने ।

– जेनेटिक कारणले क्यान्सर भए पनि जीवनशैलीले धेरै असर गर्छ । ५० वर्षमाथिका व्यक्तिले नियमित स्वास्थ्य जाँच गराउने, विशेषगरी लक्षण देखिए इन्डोस्कोपी वा कोलोनोस्कोपी गराउने ।

अल्सर पेट रोग
डा. अजित खनाल
लेखक
डा. अजित खनाल
कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २५०६ अध्ययन : एमबीबीएस, इन्टरनल मेडिसिन एमडी, ग्यास्ट्रोइन्ट्रोलोजीमा डीएम काठमाडौंस्थित वीर अस्पताल तथा ग्रीन सिटी अस्पताल र ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय