+
+

मोरङमा ६४ प्रतिशत मत खस्यो, गणना भोलिबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते २०:२१

४ मंसिर, विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ । सात लाख ३५ हजार ५२५ मतदाता रहेको मोरङमा करिब ६४ प्रतिशत मत खसेको  प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख अधिकृत लेवनकश्यप अधिकारीले जानकारी दिए ।

मतणनापछि मात्रै खसेको मतको पूर्ण विवरण आउने उनले बताए ।

गणना भोलिबाट मात्रै 

६ निर्वाचन क्षेत्र रहेको मोरङमा मतदानस्थलबाट मतपेटिका संकलन जारी छ । मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि  सोमबार बिहानबाट मात्रै मतगणना गर्ने तयारी छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी रहेको बताए ।

‘मतपेटिका संकलन जारी छ, अझै केही समय लाग्छ,’ उनले भने, ‘मत पेटिका संकलनपछि दलका प्रतिनिधिसँग छलफल हुन्छ, मतगणना आजै सुरु हुने सम्भावना कम छ,’ दाहालले भने ।

मोरङमा चार स्थानमा मतगणना गरिंदैछ । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा हुनेछ । मतगणनाका लागि सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए  । विराटनगरमा  मतगणनाका लागि दलका प्रतिनिधि र गणक बस्ने स्थानमा बाँसको बेरा लगाइएको छ ।

मोरङ क्षेत्र नम्बर १ को  मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र  नम्बर ३ को बेलबारी नगरपालिका–३ मा रहेको भगवती माध्यमिक विद्यालयमा हुने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?