+
+

सुर्खेत २ मा हृदयराम थानीको पुनरोदय

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर ७ गते ११:५२

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए ।

सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भए । जिल्लाको नेतृत्व पनि संस्थापनको पक्षमा गयो ।

सुर्खेत २ बाट थानीले टिकट पाउने/नपाउने अन्योल रह्यो । उपसभापति खड्का प्रत्यक्ष चुनाव लड्ने भएपछि दुई गुटको सन्तुलन मिलाउँदा थानीले टिकट पाए ।

बुधबार बिहान सकिएको मत गणनामा थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरे । थानीले ३४ हजार ६२५ मत पाउँदा एमालेका बीसीले भने २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।

छौटौं पटक संसदीय निर्वाचन लडेका थानीले तेस्रो जित निकालेका छन् । १४ औं महाधिवेशनबाट सुस्ताएका थानी प्रतिनिधि सभामा विजयी भएसँगै उनको जितलाई सुर्खेतमा कांग्रेसमा ‘पुनरोदय’को रुपमा हेरिएको छ ।

थानीको विजयीले सुर्खेतका कांग्रेस नेता-कार्यकर्ताहरू पनि उत्साहित भएका छन्।  कांग्रेस नेता नारायण कोइरालाले सुर्खेती जनताले प्रभावशाली नेतालाई चुनेको र यसले उत्साह थपिएको बताए ।

उनले भने, ‘उहाँको जितले सुर्खेती कांग्रेसलाई पनि उत्साह थपेको छ । अझ भनौं उहाँको पुनरोदय भएको छ । सुर्खेती जनतालाई केही गरेर देखाउने अवसर पुनः जुरेको छ ।’

को हुन्, हृदयराम ?

२६ जेठ २०१७ मा सुर्खेतको बैयलकाँडामा जन्मिएका हृदयराम थानी हाल वीरेन्द्रगनर नगरपालिका-१ मा बस्दै आएका छन् । उनले त्रिवि कीर्तिपुरबाट एमए गरेका छन् । ०३६ सालमा पुलचोक इन्जिनियरिङ कलेज काठमाडौंमा नेविसंघको इकाई सभापतिको जिम्मेवारी पाएका थानी त्यसयता निरन्तर कांग्रेस राजनीतिमा छन् ।

२०४१ देखि २०४३ सम्म नेविसंघबाट शंकरदेव क्याम्पसमा स्ववियू सभापति बनेका थानी ०४३ मै नेविसंघको केन्द्रीय उपसभापति समेत बने । पञ्चायतकालमा प्रतिबन्धित नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सुर्खेतको सदस्य बनेका उनी २०४७ मा बहुदल पुनर्स्थापना भएपछि सुर्खेत फर्के र, पश्चिम सुर्खेतमा पार्टी संगठन विस्तारमा जुटे ।

२०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन लगायत २०६२/०६३ सम्म लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा पटक-पटक गरी दुई वर्ष जेलनेल भोगेका नेता हुन् ।

२०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगर-१, को वडाध्यक्ष बनेका थानी २०५१ को निर्वाचनमा सुर्खेत-२, बाट पहिलोपटक संसदीय निर्वाचन लडे । तर जित भने हासिल गर्न सकेनन् ।

२०५२ मा सुर्खेत क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भएका उनी २०५६ को निर्वाचनमा भने सुखर्ेेत-२ बाटै निर्वाचित भए । थानी २०५७ मा संसदको राज्य व्यवस्था समितिको सभापति भए ।

२०५८ मा कांग्रेस सुर्खेतको सभापति बनेका उनी पार्टी जिल्लाको नेतृत्वमा दुई दशक वर्चश्व जमाए । दोस्रो पटक २०७० को निर्वाचमा सोही क्षेत्रबाट विजयी बनेका उनी २०७३ मा सहकारी तथा गरिवी निवारण मन्त्री समेत बने ।

१३ औं महाधिवेशनतबाट लोकपि्रय मत ल्याएर नेपाली कांग्रेसको केन्ऽीय सदस्यमा निर्वाचित भएका थानी १४ औं महाधिवेशनमा भने एक मतले केन्द्रीय सदस्यमा पराजित भए ।

२०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोरेका थानीले २०५६ को आम निर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने जित हासिल गरेका थिए । यो निर्वाचनमा तेस्रो जित हात पारेका थानीले हार र जित बराबरी बनाएका छन् । ६२ वषर्ीय थानी विगत ४३ वर्षदेखि राजनीतिक यात्रा अविच्छिन्न रहेको दावी गर्छन् ।

तीन दशकयता कांग्रेस-एमालेबीच प्रतिस्पर्धा

सुर्खेत २ मा तीन दशकदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ । र, दुवै दलको अवस्था उस्तै देखिन्छ । २०४८ को आम निर्वाचनमा काँग्रेसका शिवराज जोशी विजयी हुँदा एमालेका बालाराम शार्मा पराजित भए । २०५१ को मध्यावधि निर्वाचनमा एमालेका यामलाल कँडेल विजयी हुँदा थानी पराजित भए ।

०५६ को संसदीय चुनावमा थानी विजयी हुँदा एमालेका यामलाल कँडेलले पराजय व्यहोरे । ०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भने थानीलाई हराउँदै एमालेका कँडेल विजयी भए । ०७० को निर्वाचनमा पुनः थानी विजयी हुँदा कँडेल पराजित भए ।

संघीयता पछि कँडेल मुख्यमन्त्री बन्ने योजना सहित प्रदेशमा झरे । ०७४ को निर्वाचनमा कँडेलको ठाउँमा एमालेले नवराज रावतलाई उठायो । रावतले जित हात पार्दा थानी पराजित भए । ०७४ को हारको बदला लिंदै थानी पुनः यो निर्वाचनमा विजयी भएका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?