+
+

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गरेको एमालेको आरोप

प्रदेश सभा बैठक अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १३:१९

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन हतार गरेको भन्दै एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित भएपछि प्रदेश सभाको बैठक अनिश्चित भएको छ ।

मुख्यमन्त्री सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । त्यसका लागि शुक्रबार बिहान ८ बजे सभामुख भीमबहादुर भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए तर सत्ता साझेदार दल एमाले अनुपस्थित रहेपछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

सोही कारण प्रदेश सभाको बैठक समेत अनिश्चित भएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्न नहुने पार्टीको धारणा रहेको बताए ।

बझाङ उपनिर्वाचनबाट विजयी भएका दमनबहादुर भण्डारी शोकमा रहेको अवस्थामा विश्वासको मत लिन हतार गर्न उपयुक्त नभएको बताए ।

‘हामीले उहाँ(मुख्यमन्त्री) लाई समय पर्याप्त भएकाले हतार नगर्नुहोस् भनेका थियौ तर उहाँले सल्लाह नगरि व्यक्तिगत रूपमा विश्वासको मत लिने निर्णय लिनुभयो,’ रावलले भने, ‘यो राम्रो होइन । यसको अर्थ हामी फरक ढंगले हिँड्न खोजेको होइन ।’

रावलले बझाङबाट निर्वाचित भण्डारी स्वर्गीय बुवाको किरिया संस्कार सकेर धनगढी फर्किएपछि मात्र विश्वासको मत लिन उपयुक्त हुने एमालेको अडान छ ।

तर एकीकृत समाजवादीले भने सत्तारूढ दलहरूकै सल्लाहअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको बताउँदै आएको छ ।

स्रोतकाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नै समय बाँकी रहेका कारण मुख्यमन्त्रीले हतार गरेको भन्दै तत्काल निर्णय लिन कुनै निर्देशन दिएका छैनन् ।

पार्टीको केन्द्रीय नेतृत्वबाट कुनै निर्देशन नआएका कारण शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णयमा सहभागी हुन नसकिने एमाले सांसद बताउँछन् । यसअघि एमालेसहितका गठबन्धन दलबीचको समझदारीअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?