+
+

चुनावका दिन बुथहरुमा किन घुमे भारतीय सेनाका पूर्व जर्नेल ?

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर ७ गते २०:२८

७ मंसिर, पोखरा । ४ मंसिरको चुनावको दिन पोखराका विभिन्न मतदानस्थलहरुमा देखिए, भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहता ।

निलो चश्मा, ढाका टोपी र कोट पाइन्टमा लाहुरे ठाँटमा प्रस्ट नेपाली बोल्ने मेहता मतदानस्थलहरुको अवलोकन गर्दै पुग्दा धेरैले उनलाई चिनेनन् ।

सुरक्षा मामिला र भूराजनीतिमा चासो राख्ने केहीले उनलाई ठम्याए पनि खासै चर्चाको विषय बनेन । उनी विभिन्न मतदान स्थलहरुमा पुगेको चर्चा विस्तारै फैलिँदै गयो र चासो बन्यो, ‘खास किन मतदानस्थलमा पुगेका थिए, अशोक मेहता ?’

मेहता कुनै अनुसन्धान वा चुनाव पर्यवेक्षणका लागि आएका होइनन् । उनी त कास्कीबाट संघीय सांसदको दाबेदार रहेका धर्म छोराले टिकट पाइहाले जिताउन भनेर पोखरा आएका थिए ।

उनका धर्मछोरा वुद्धिमान गुरुङ नेपाली कांग्रेसबाट संघीय सांसदका आकांक्षी थिए । तर, टिकट कांग्रेस कास्की सभापति किशोरदत्त बरालले हात पारे । टिकटको रस्साकस्सी चलिरहेका बेला २० कात्तिकमै मेहता पोखरा आइपुगेका थिए ।

२७ वर्षअघि अवकाश लिएरमात्र विवाह गरेका मेहताका सन्तान छैनन् । उनले भारतीय सेनाको २/५ जी आर भी सी पल्टन मै हुँदा पोखरा गगनगौंडा लामेआहालका कृष्णबहादुर गुरुङसँग ६० वर्षभन्दा अघि नै मित लगाएका थिए ।

मितका छोरा वुद्धिमान र यामबहादुर गुरुङलाई मेहताले धर्म छोरा बनाएका छन् । वुद्धिमानका भाइ यमबहादुर भारतीय सेनाकै सुबेदारबाट अवकाश लिएका हुन् । धर्म छोरा वुद्धिमानले टिकट नपाए पनि नेपालको मतदान प्रक्रिया हेर्नका निम्ति उनी विभिन्न स्थलहरुमा पुगेका थिए ।

अशोक मेहताका धर्मछोरा वुद्धिमान गुरुङ ।

‘बुबा बर्सेनि १/२ पटक आउने गर्नुभएको छ । मेरो बुबा र उहाँ एउटै पल्टनको सिपाही हुनुहुन्थ्यो । बुबा क्याप्टेनबाट रिटायर्ड हुनुभयो । उहाँ भने मेजर जनरल हुनुभयो’, वुद्धिमानले भने, ‘मैले टिकट नपाए पनि चुनाव त हेरेर जाउँ भनेर उहाँ १५ दिन बसेर ५ गते फर्किनुभयो ।’

वुद्धिमान यसअघि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । १४ औं महाधिवेशनमा कास्की–३ को क्षेत्रीय सभापतिमा राजेन्द्रमणि लामिछानेसँग उनी पराजित भएका थिए । यसपटकको चुनावमा टिकट लिन कसरत गरे पनि उनी सफल हुन सकेनन् ।

मेहता लेखनाथ क्षेत्रदेखि मालेपाटनसम्मका विभिन्न मतदानस्थलहरुमा पुगे पनि कुनै दख्खल पुर्‍याउने उद्देश्य नदेखिएको तर किन आए भन्ने चासो पनि रहेको राष्ट्रिय अनुसन्धानका एक अधिकारीले बताए । मीतका छोराछोरीलाई नै धर्म सन्तान मानेका मेहताले ३/४ महिनाकै अन्तरमा पोखरा आएर विभिन्न ठाउँको भ्रमण गर्ने गरेको वुद्धिमानले बताए ।

कात्तिक २० गते पोखरा आएका मेहता २/५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्व सैनिक परिवार पोखराको १३६ औं जन्म जयन्ती (माला काण्ड डे) को अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए । कार्यक्रममा मेहता, १०४ वर्षका रामप्रसाद गुरुङसहित ११ जनालाई सम्मान गएिको थियो ।

मेहताले आफ्नो ८४ औं वार्षिकोत्सव पनि पोखरामा धर्मछोराकै घरमा मनाएका थिए । अशोकले पोखराको विन्ध्यवासिनी मन्दिरमा आई अदितीसँग विवाह गरेका थिए ।

मेहता नेपाल मामिलाबारे धेरै जानकारी राख्ने थोरै भारतीयमध्ये पर्छन् । भारतीय सेनाबाट अवकाशपछि पनि मेहता भारत सरकारको सुरक्षा नीति निर्माण र रणनीति बनाउन सहभागी हुने गरेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?