+
+

चुनावमा कसैको बहुमत नआउनु दुर्भाग्यपूर्ण : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते ९:२३

१२ मंसिर, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको पौडेलले बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने दाबीसमेत गरे ।

बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने बताए । एमालेले प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको र एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने उनको दाबी छ ।

‘राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ पौडेलले भने, ‘हामी जनादेशको  सम्मान गर्छौं, बहुमत नआए पनि एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ, एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन ।’

पौडेलले मतदाताको सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिबद्धता जनाए । पौडेलले चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप प्रत्यारोप भन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरुआत गरेको बताए ।

पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताए ।

पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको सराहना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?