+
+

मिडिल मोदी आयोजनाले थाल्यो विद्युत उत्पादन परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १७:११

२३ मंसिर, काठमाडौं । मोदी खोलामा निर्माण सम्पन्न मिडिल मोदी जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानीमा बनेको पहिलो आयोजना हो ।  आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु गरेको ग्रुपले जनाएको छ ।

मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने काम भइसकेको ग्रुपले जनाएको छ । १८ मेगावाट क्षमताको यस आयोजनाले १५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन सुरू गर्ने चौधरी ग्रुपले बताएको छ ।

ग्रुपले अगाडि बढाएको आयोजना सम्पन्न भएकोमा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले खुसी व्यक्त गरेका छन् । नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रले उल्लेख्य योगदान गर्न सक्ने उनको भनाइ थियो ।

‘चौधरी ग्रुपले आफ्नो पहिलो जलविद्युत् आयोजनाको निर्माण पूरा गरेको छ । बिजुलीको अत्यधिक खपत हुने ड्राइ सिजनमा आयोजना सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिएकोमा हामी खुसी छौं,’ चौधरीले भने, ‘यसबाट देशको आर्थिक विकासमा सकारात्मक योगदान पुग्नेछ । आर्थिक विकासका लागि पूर्वाधारहरूमा गरिने लगानीले निकै महत्वपूर्ण अर्थ राख्छ ।’ चौधरी ग्रुपले अन्य जलविद्युत् आयोजनामा पनि काम गरिरहेको उनले बताए ।

पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस निर्माण गरिएको आयोजनाको बाँध कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बीरेठाँटीमा रहेको छ । यस आयोजनामा दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?