+
+

वीरगञ्जका निजी विद्यालयको वर्गीकरण, ६ वटा परे क वर्गमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १३:३४

२४ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पहिलो पटक ५८ वटा निजी विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको छ । जसअनुसार महानगरभित्रका ६ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका छन् ।

महानगरमा १४८ निजी विद्यालयमध्ये ५८ वटाले मात्र स्तर निर्धारणका लागि निवेदन दिएका थिए । स्तर तथा शुल्क निर्धारणको प्रक्रियामा नआएका विद्यालय स्वतः ‘घ’ वर्गमा पर्नेछन् ।

महानगरले ती विद्यालयले कक्षा १ देखि १२ सम्म लिन पाउने न्यूनतम शुल्क पनि तोकेको छ । जस अनुसार क वर्गका विद्यालयले नर्सरीमा मासिक शुल्क २ हजार ९३ रुपैयाँ लिन पाउनेछन् ।

महानगरले १ महिनाको मासिक पढाइ शुल्क भन्दा बढी धरौटी नलिन, २ महिनाको मासिक शुल्क भन्दा बढी वार्षिक शुल्क नलिन, दुरीको आधारमा सवारी भाडा तय गरेर लिन, अन्य शुल्क लिनुपर्दा अभिभावक भेलाबाट पारित गरेर मात्रै लिन निर्देशन दिएको छ । तोकिएको शुल्क शैक्षिक सत्र २०७९ जेठ १ गतेदेखि लागू हुनेछ ।

महानगरले स्तर तथा शुल्क निर्धारणका लागि मेयर राजेशमान सिंहको संयोजकत्वमा ७ सदस्यीय विद्यालय स्तरीकरण तथा शुल्क निर्धारण समिति गठन गरेको थियो । समितिमा प्रमुख प्रशासकीय अधिकृत, शैक्षिक प्रशासन महाशाखा प्रमुख, शिक्षक अभिभावक समितिका प्रतिनीधि, शिक्षाविद लगायत सदस्य राखिएका थिए । संघीय तथा महानगरपालिकाको शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार ७० वटा सूचकहरुको मुल्यांकन गरेर २ सय पूर्णाङ्कमा विद्यालयलाई नम्बर दिएर वर्गीकरण गरिएको समितिले जनाएको छ ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले ८० प्रतिशत भन्दा बढी अंक पाएका ६ वटा विद्यालयलाई क वर्गमा राखिएको बताए ।

तोकिएको भन्दा बढी शुल्क लिएमा २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, स्तर घटुवाका साथै विद्यालय खारेजसम्मको कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?