+
+

चार महिनामै ‘पदमुक्त’ भए नेपाल क्रिकेट टिमका प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते २०:१४

२६ मंसिर, मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर चार महिनामै हटेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले पद छाड्न दबाव दिएपछि मुख्य प्रशिक्षक प्रभाकर सोमबार भारत गएका छन् । उनले भारत पुगेपछि इमेलमार्फत राजीनामा दिने बताएका छन् । राजीनामा नदिए पनि उनलाई अब मुख्य प्रशिक्षकमा निरन्तरता दिने सम्भावना नरहेको क्यानका एक पदाधिकारी बताउँछन् ।

क्रिकेट संघले २३ साउनमा मात्र रणजी ट्रफी विजेता प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

उनको प्रशिक्षणमा नेपालले केन्या भ्रमण गरेको थियो, जसमा नेपाल ३–२ ले टी–२० सिरिज जित्यो भने तीन म्याचको एकदिवसीय शृ‌खला क्लिन स्वीप गर्‍यो ।

नोभेम्बरमा काठमाडौंमा युएईसँग तीन एकदिवसीय शृ‌ंखला खेल्यो, जुन नेपालले २–१ ले जित्यो । तर नेपालका लागि महत्वपूर्ण क्रिकेट वर्ल्डकप लिग टूमा भने खराब खेल्यो । नामिबिया टूरमा नेपालले घरेलु टोलीसँग खेलेको पहिलो खेल वर्षाले अवरुद्ध भयो । नामिबियासँग दोस्रो र स्कटल्याण्डसँग भएको दुबै खेल हारेपछि नेपाल शीर्ष तीनमा पर्ने सम्भावना सकिएको छ ।

स्रोतका अनुसार क्रिकेट संघका पदाधिकारीहरु सुरुदेखि नै प्रशिक्षक प्रभाकरसँग असन्तुष्ट थिए । खेलाडीहरुको अर्डर बिगारेको, मन नपरेका खेलाडीहरुलाई बेञ्चमा राखेको, छनोट समितिलाई दबाव दिएको जस्ता आरोप उनीमाथि थियो ।

नामिबिया टूरमा एउटा पनि खेल जित्न नसकेपछि क्रिकेट संघका पदाधिकारीले तत्काल राजीनामा दिन दबाव दिएका थिए । उनी काठमाडौं आउन चाहे । आइतबार मुख्य प्रशिक्षक प्रभाकर र क्रिकेट संघका पदाधिकारीहरुबीच छलफल भएको थियो । त्यसक्रममा आफूलाई निरन्तरता दिने हो भने कहाँ कहाँ समस्या भयो भनेर स्पष्टीकरण दिने, नभए नदिने बताएका थिए ।

क्यान पदाधिकारीले निरन्तरता नदिने प्रष्ट संकेत गरेपछि थप छलफल नै भएन । ‘खेलाडी, अफिसियल र टिम म्यानेजर सन्तुष्ट थिएनन् । रिजल्ट आएको भए कतिपय विषय आफैं मिल्थ्यो, तर रिजल्ट आएन,’ एक पदाधिकारी भन्छन्, ‘बर्खास्त गर्नुभन्दा सहमतिमा जानुस् भनेर भनेका छौं ।’

प्रभाकरले भने दिल्ली गएर राजीनामा पठाउँछु भनेका छन् । स्रोतका अनुसार उनले घरायसी कारण देखाएर नेपाल नफर्किने लिखित जानकारी गराउन सक्छन् । नभए उनलाई बर्खास्त गर्न समेत क्यान तयार रहेको एक पदाधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?