+
+

ब्रिटिश सेनालाई पराजित गरेको सम्झनामा पर्सागढीमा विजय महोत्सव गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १९:४६

९ पुस, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा पुस १९ गते विजय महोत्सव आयोजना गरिने भएको छ ।

ब्रिटिश सेनामाथि जित हासिल गरेको दिनको सम्झनामा विजय महोत्सव आयोजना गरिएको हो । विस १९८१ पुस १९ गते स्थानीय रञ्जित चौधरीको कुशल युद्ध नीति तथा स्थानीयबासीको समेत सक्रिय सहकार्यले गोर्खाली सेनाले आधुनिक हतियारले सु–सज्जित ब्रिटिश सेनालाई पराजित गरेको इतिहास छ ।

ऐतिहासिक विजय हासिल गरेको दिनको सम्झना गर्दै पर्सागढी नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेना र स्थानीयको सहभागिता विजय महोत्सव आयोजना गर्न लागिएको पर्सागढी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

महोत्सवमा विभिन्न झाँकी, बाजागाजा सहितको टोली, विभिन्न हातहतियारले सु–सञ्जित नेपाली सेनाको टोली समेत सहभागी हुनेछन् । पर्सागढी नगरपालिकाको कार्यालय हरपुरबाट निस्कने पदयात्रा पर्सागढी मन्दिरमा पुगी विजय महोत्सव कार्यक्रममा परिणत हुने जनाइएको छ ।

मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको अयोजना गर्दै राष्ट्र र राष्ट्रियताको रक्षाका लागि विदेशी सेनालाई पराजित गरी विजय हासिल गरेको ऐतिहासिक युद्ध स्थल पर्सागढीमा मात्र रहेको दावी गरेको छ । पत्रकार सम्मेलनमा पर्सागढी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहका सरकारको सहयोग आवश्यक रहेको समेत बताइएको छ ।

पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले ऐतिहासिक युद्ध स्थलको विकासका लाग सबैभन्दा ठूलो अवरोध युद्ध स्थलदेखि ७५ मिटर पूर्वमा रहेको सिंगयाही खोला रहेको बताए । ‘खोलामा पक्की पुल निर्माण नहुदाँसम्म पर्सागढी क्षेत्रको विकास द्रुत गतिमा अघि बढ्न सक्दैन’, उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारले मिलेर पुल बनाइदिनुस् ।’

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी क्षेत्रको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए । उनले पर्सागढी क्षेत्रको जमिन व्यक्तिको नाममा भएको जानकारी आफूले पाएको बताउँदै त्यसो हुँदा काम गर्न समस्या हुने बताए ।

‘पूर्वाधार विकासका लागि जग्गा चाहिन्छ, पर्सागढीमा जग्गाको समस्या छ, मन्दिर क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता छ । पर्यटन पूर्वाधार विकासका लागि जमिन कहाँ खोज्न जाने ?’, उनले भने, ‘पर्सा जिल्लामा एक मात्र गढी छ । यसको आफ्नै किसिमको महत्व र परिचय छ । पालिकाको साधन र स्रोतले भ्याएसम्म काम गर्न तयार छौं । साँध च्यापियो भन्ने विवाद भयो भने राम्रो हुँदैन । जग्गा के कति छ ? कुन अवस्थामा छ ? यो क्लियर हुनुपर्छ ।’

मन्दिर व्यवस्थापन समिति मार्फत नभई पर्सागढी क्षेत्रको व्यवस्थापनका लागि छुट्टै समिति बनाएर डीपीआर तयार गर्नुपर्ने उनको भनाइ छ ।

त्यतिखेर ब्रिटिश साम्राज्यवादको दवदवा थियो । व्यापार गर्ने लगायत विभिन्न बहानामा अर्को देशमा प्रवेश गरेर कब्जामा लिन्थे । साना र विपन्न राष्ट्रहरुलाई विभिन्न तरिकाले युद्ध गर्दै आफ्नो अधिनमा राख्ने गर्दथे । छिमेकी मुलुक भारतमा वृटिशले नै शासन गरिरहेको थियो । ब्रिटिश साम्राज्यवादले नेपालमा आँखा गाडे, ऊ नेपाललाई समेत समेटेर चीनसँग जोडिन चाहन्थ्यो । सोही क्रममा उनीहरुले युद्ध छेडे ।

नेपाली सेनासँग आधुनिक हतियार थिएन । तर पर्सागढीमा पूर्वजहरुले आधुनिक हतियारधारी अंग्रेजलाई हराएको इतिहास छ । स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । पर्सागढी नगरपालिकाले धर्मशाला निर्माण गरिदिएको छछ । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । गढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?