Comments Add Comment

नेपालीले अंग्रेजलाई हराएको पर्सागढी ओझेलमा

१८ पुस, वीरगञ्ज । ऐतिहासिक गौरव भूमि पर्सागढी संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । वि.सं. १८७१ मा नेपाल सरकार र भारतका तत्कालीन शासक ब्रिटिस सरकारबीचको युद्धमा नेपाल विजयी भएको स्थल हो पर्सागढी ।

बारा, मकवानपुर, सिन्धुलीको जस्तै पर्साको नामाकरण पनि पर्सागढीकै नामबाट राखिएको स्थानीयको दावी छ । राज्यको पुनर्संरचनापछि पर्साको एक नगरपालिकाको नाम पर्सागढी नै राखिएको छ । हाल यो विजयभूमि पर्सागढी नगरपालिका–६ बागेश्वरी चैनपुरमा पर्छ ।

वीरगञ्जबाट १८ किलोमिटर उत्तर पश्चिम र वीरगञ्ज–पथलैया सडकखण्डको जीतपुरबाट १५ किलोमिटर दक्षिण पश्चिम गएपछि पर्सागढी पुगिन्छ । पर्सागढीमा सिन्धुली र मकवानपुर गढीमा जस्तो गढी छैन । १८७१ को ऐतिहासिक युद्ध स्थलको पृष्ठभूमिबारे पर्याप्त अध्ययन हुन सकेको छैन । ब्रिटिससँग युद्धको बेला नेपाल तर्फबाट मुख्य भूमिका निवाह गर्ने रञ्जित चौधरीको घर पर्सागढी नै भएको स्थानीय बताउँछन् ।

युद्धको समयमा अंग्रेजले चलाएको तोपका गोलाहरुको अवशेषहरु पनि स्थानीयसँग छ । स्थानीयका अनुसार पर्सागढी–४ छोटैलीमा इमलीको रुखमा गोला लागेर रुखलाई चिरा पारेको थियो । त्यो गोलालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । खेतबारी खन्ने क्रममा पनि कतिपयले पुराना अवशेषहरु फेला पार्ने गरेका थिए ।

यसरी भएको थियो युद्ध

तत्कालीन मुख्तियार भीमसेन थापाले बुटवल र स्युराज तर्फका केही विवादित भूमि आफ्नो नातेदारहरुलाई दिन खोजेका थिए । ती जमिनहरु अवधका नवाबले पाल्पाली राजालाई आय समेत उठाएर खानू भनी दिएका थिए । तर ती भू–भागमा नेपालको स्वामित्वलाई अंग्रेजले स्वीकार गरिरहेको थिएन ।

जसले गर्दा गभर्नर जनरल अफ मोयराले कम्पनी सरकारको तर्फबाट स्थलगत जाँचबुझका लागि मेजर पेरिस ब्राडसालाई खटाएका थिए । विवादित भूभाग कम्पनी सरकारको स्वामित्वमा रहेको प्रतिवेदन ब्राडसाले पेस गरेका थिए । त्यसपछि दुई देशबीच विवाद उत्पन्न भएको थियो ।

पर्सागढीमा पुग्ने जो कोहीले सिन्धुली, मकवानपुर गढीमा जस्तो परिकल्पना गरेका हुन्छन् । तर त्यहाँ न किल्ला छ न कुनै पुरातात्विक अवशेषहरु नै

नेपाली फौज विवादित भूमिमा पुगी कम्पनी सरकारको विवादित भूमिलाई कब्जा गरेका थिए । त्यसबखत गभर्नर जनरल मोयराले नेपाल सरकार समक्ष कडा विरोध पत्र पठाएका थिए । पत्रलाई गम्भीरताका साथ नलिई नेपाल सरकारले आलटाल गर्न खोज्यो ।

त्यसबाट रुष्ट बनेका गभर्नर जनरल मोयराले नेपालविरुद्ध युद्धको घोषणा गरे । वि.सं. १८७१ पुस १९ गते नेपाल सरकार र भारत उपनिवेश बनाएर शासन गर्दै आएको ब्रिटिस सरकारबीच युद्ध भएको थियो ।

सतलज, देहरादुन, बुटवल, वीरगञ्ज र मोरङ गरी पाँच ठाउँबाट धावा बोलेको इतिहास भेटिन्छ । पश्चिम क्षेत्रबाट कर्णेल डेभिड अक्टरलोक्स, गढवालतर्फबाट मेजर जनरल जिलेस्पी, गोरखपुरतर्फबाट जनरल सुलेभान उड, मकवानपुर (वीरगञ्ज) तर्फबाट मेजर जनरल बेनट मार्ले र पूर्वतर्फबाट क्याप्टेन ल्याटरले ईष्ट इन्डिया कम्पनी फौजको नेतृत्व गरेका थिए ।

हमलाको क्रममा दुई स्थानमा नेपाली सेना पराजित भएको थियो भने तीन स्थानमा नेपाली सेना विजयी भएको थियो । नेपालले विजय प्राप्त गरेको स्थलमध्ये एक पर्सागढी हो । महेश राज पन्तले लेखेको नेपाल अंग्रेज युद्धको दोस्रो चरण भन्ने पूर्णिमा वर्ष २ अंक २ (वि.सं. २०२२) पृष्ठ ७१ मा यसबारे उल्लेख गरेका छन् ।

स्थानीयका अनुसार अंग्रेज सेनाले नेपालको पर्सास्थित अलौं बोर्डर कब्जा गरेको थियो । पर्सा गढीमा समेत आक्रमण गरेर पर्सा गाउँ नै खाली गराएका थिए । त्यसपछि उनीहरु पर्सागढीमा क्याम्प खडा गरेर बसेका थिए । जिंगना पचरुखी, चैनपुर बागेश्वरी, हरपुर, बागबाना र विरुवाबकर्नेवाका बासिन्दा र अगुवाहरुलाई ठूलो चिन्ताको विषय बनेको थियो ।

बागवानाका रञ्जित चौधरीको अगुवाइमा पाँचवटै गाउँ भेला भई लडाइँका लागि अन्न संकलन, हातहतियारको तयारीसँगै युद्धको रणनीति बनाएर जिम्मेवारी बाँडफाट गरेका थिए । युद्ध रणनीतिको चाखलाग्दो पक्ष भनेको आधुनिक हातहतियार नभएर बौद्धिक खालको थियो ।

उनीहरुले पर्सागढी नजिकै रहेको तिलावे र सिंग्याही दोभानमा बाँध बाँधेका थिए । साँझको समयमा भैंसी, राँगा र गोरुहरुको सिङ्मा मसाल बालेर छोडिदिएर डरलाग्दो दृश्य सृजना गरेर क्याम्पतिर पठाएका थिए । त्यसपछि स्थानीय बासिन्दाहरु आफूसँग भएको घरेलु हातहतियारसहित गएर अंग्रेजको क्याम्पमा आक्रमण गरेका थिए । ठूलो राँके जुलुस देखेपछि अंग्रेज सेना भाग्न थाले । भगौडाहरु नदीमा हाम फाल्न बाध्य भए । कतिपय अंग्रेज सेना पानीमा डुबेर मरे, बाँकीलाई पूर्व तयारीका साथ बसेका स्थानीय बासिन्दाले अंग्रेज सेनालाई पानीमा डुबाउने र खुकुरी, तरबारले शिर मुण्डन गरिदिएका थिए । यो युद्धकलाबाट स्थानीयले १८७१ पुस १९ गते अंग्रेजी सेनालाई पराजित गरेको बताइन्छ ।

वि.सं. १८७१ साल चैत ८ मा राजा ग्रिवाणयुद्ध विक्रम शाहद्वारा प्राण साह, भिमसेन थापा, उदय गिरी, शमसेर शाह, रणध्वज थापा र दल भञ्जन पाण्डे मार्फत पर्सागढीको लडाइँमा रञ्जित चौधरीले पुर्याएको योगदानको कदर गर्दै लाल मोहर दिइएको तथ्य स्थानीयसँग छ । लालमोहरमा पर्सागढीको लडाइँमा रञ्जित चौधरीले मेहनत गरेको उल्लेख गर्दै बसडिल्वा र लोरिआड गाउँहरुमा वि.सं. १८७२ वैशाखदेखि राजअंकबाहेक जलकर, वनकर आदि विभिन्न दस्तुर उठाई सरकारलाई सुम्पेको उल्लेख छ । चौधरीलाई जग्गा आवाद र गुल्जार गरी त्यसबाट हुने उत्पादन उपभोग गर्ने तथा सन्तान दरसन्तानसम्म वेद वुन्यादको काम गर्न पाउने भनी लालमोहरमा लेखिएको छ ।

‘थारु संस्कृति’ अंक ६ को पृष्ठ ६९ मा रमानन्दप्रसाद सिंहहरुद्वारा र ‘थारु समाजमा प्राप्त ऐतिहासिक दस्तावेजहरुको संग्रह’मा लालमोहर छापिएको छ । नेपाल अंग्रेज युद्धमा रञ्जित चौधरीले मेहनत गरेको भनिए पनि लालमोहरमा कसरी सहयोग गरे भन्ने उल्लेख छैन ।

गढीको वर्तमान अवस्था

पर्सागढीमा पुग्ने जो कोहीले सिन्धुली, मकवानपुर गढीमा जस्तो परिकल्पना गरेका हुन्छन् । तर त्यहाँ न किल्ला छ न कुनै पुरातात्विक अवशेषहरु नै ।

स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । गढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।

पश्चिमतर्फ माता दुर्गाको जईघर (गर्भ गृह) स्थापना गरी स्थानीय चौधरीहरुले पूजा गर्ने गरेका छन् । बिर्वाका चौधरी परिवारले त्यसमा लगानी गरेका छन् ।

जिंगनाका चौधरी परिवारको संयुक्त लगानीमा पक्की महिषासूर पूजा स्थल, हरपुरका चौधरी परिवारका संयुक्त लगानीमा दादीको मन्दिर बनाइएको छ ।

प्रत्येक वर्ष दसैंको नवमीदेखि मालपोत र जिल्ला प्रशासन कार्यालयबाट पर्सागढीमा बोकाको बलिदिने परम्परा अझै कायम छ । नवमीका दिन धूमधामका साथ पर्सागढीमा मेला लाग्दै आएको बागेश्वरी तित्रौनाका पूर्वगाविस अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।

देशकै गौरव गाथा बोकेको ऐतिहासिक स्थलको विकासको लागि केवल चौधरी परिवार मात्र लागिपरेको देखिन्छ । वि.सं. २०७२ सालमा ऐतिहासिक युद्धको २ सय वर्ष पूरा भएको अवसरमा पर्सागढी महोत्सवको आयोजना गरिएको थियो ।

ब्रिटिस सरकारसँग लडेर विजयी भएका वीर योद्धहरुको वीरगाथालाई इतिहासको पन्नामा सीमित बनाइएकोमा स्थानीय अगुवाहरु चिन्तित छन् । उनीहरु पर्सागढीको महत्वलाई बेवास्ता गरिएको गुनासो गर्छन् ।

पर्सागढी–६ को बागेश्वरी तित्रौनाबाट गढीसम्म जाने बाटो कच्ची छ । खोलामा पुल छैन ।

पर्साको मात्र नभई नेपालकै ऐतिहासिक धरोहर पर्सागढी राज्यको उपेक्षामा पर्दै आएको पर्सागढी मन्दिर संरक्षण समितिका अध्यक्ष वृजमोहन चौधरी बताउँछन् । ‘विगतमा स्थानीय समुदायबीचको मनमुटावले गर्दा ऐतिहासिक युद्धभूमि ओझेलमा पर्यो,’ उनले भने, ‘अहिले स्थानीय सरकार आएको छ, तर पनि यसको संरक्षण र सम्वद्र्धनका लागि खासै चासो देखाएको छैन ।’

राष्ट्रियताको लागि अन्तर्राष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको विरगाथालाई इतिहासको पान्नामा सीमित राखिएको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थललाई बेवास्ता गरिएको छ

समय समयमा विभिन्न मन्त्री तथा सांसदहरु गढीमा पुगेर ऐतिहासिक र पौराणिक मान्यतालाई चिनाउँदै पर्यापर्यटनसँग जोड्ने प्रतिवद्धता जनाउँदै आएका छन् । तर कसैले प्रतिबद्धता पूरा नगरेको स्थानीय रुष्ट छन् । गढीको नाममा नामाकरण भएको पर्सागढी नगरपालिकाले समेत गढीको संरक्षणको लागि जति गर्नुपर्ने हो त्यति नगरेको गुनासो स्थानीय सोहन चौधरी गर्छन् ।

नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरेको भए पनि त्यसको सदुपयोग हुन नसकेको उपप्रमुख अर्चना चौधरीको भनाइ छ । ‘योजना राखिन्छ तर काम गर्ने बेलामा बिर्सिने समस्या छ,’ उनले भनिन् ।

आकर्षक विजय स्तम्भ निर्माण गर्ने, धर्मशाला, शौचालय बनाउने, वृक्षारोपण गर्दै जाने लक्ष्य नगरपालिकाले लिएको छ । गढीको संरक्षणमा नेपाली सेनाले पनि साथ दिँदै छ । वृहत एकीकरण मार्ग कार्यक्रममा नेपाली सेनाले पर्सागढीलाई समेत जोडेको छ ।

राष्ट्र एकीकरणको समयमा प्रयोगमा ल्याइएको बाटो तथा गढीहरुको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत पर्सागढीमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको वीरगञ्जस्थित चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मदनजंग राणा बताउँछन् ।

‘एकीकरणको समयमा प्रयोगमा ल्याइएको बाटो र गढीहरुको संरक्षण गर्ने कार्य नेपाली सेनाले थालेको छ । पर्सागढीको बारेमा पनि लेखापढीको काम भइसकेको छ,’ उनले भने, ‘सबैभन्दा पहिले त विजय स्थललाई सबैले चिन्न पर्यो । भनेर लागेका छौं । गढीको ऐतिहासिक महत्वको प्रवर्द्धन र प्रचार प्रसार गर्ने लगायतका कार्यमा जुटेका छौं । स्थानीय तहसँग मिलेर संरक्षणको पाटोमा काम गर्न सकिन्छ ।’

पुस १९ गते विजयी भएको दिन विजय उत्सव मनाउने र त्यसपछि गढी संरक्षणका अन्य कार्यहरुलाई कसरी अगाडि बढाउने भनेर कार्ययोजना बनाउने उनी बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले पनि ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारमा चासो दिएको छ । संघका अध्यक्ष हरि पन्त पर्यटकीय स्थलहरुलाई आकर्षक बनाउन आवश्यक देखिएको बताउँछन् ।

‘स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्छ । त्यसले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत आकर्षित गर्छ,’ उनी भन्छन्, ‘जो कोहि पर्सागढी पुग्दा नेपाल अंग्रेजबीच भएको ऐतिहासिक युद्ध ताजा हुनुपर्छ । अहिले त्यस्तो अनुभूति भएन, तर सबैले मिलेर बनाउनुपर्छ ।’

संघले पुस ४ गते नै पर्यटन पत्रकार संघ पर्सा, पर्सागढी नगरपालिका र नेपाली सेनासँग मिलेर पर्सागढी प्रवर्द्धन तथा प्रचारका लागि अवलोकन भ्रमण गरिसकेको छ ।

फूलबारी, मन्दिर क्षेत्र र अन्यत्रको गरी गढीको २४ कठ्ठा जमिन रहेको स्थानीय बताउँछन् । स्थानीय रामचन्द्र प्रसाद यादव र विन्देश्वर यादवले गढीको जग्गा व्यक्तिगत भोगचलन गरेका छन् । नगरपालिकाले जग्गा प्राप्तिको लागि पहल थालेको छ । उनीहरुले त्यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । उपप्रमुख चौधरी पर्सागढीको जग्गा चारैतिरबाट अतिक्रमण भएको बताउँछिन् ।

विजय स्तम्भको नक्सा समेत तयार भइसकेको छ । पर्सागढी परिसरमा भएका भवन तथा जग्गाहरुको संरक्षण गर्ने, पोष्टर, फ्लेक्स, फोटोहरु तयार गरी जिल्लाका विद्यालय, प्रशासन, अन्य निकायका व्यक्तिहरु समावेश गरी जानकारीमूलक कार्यक्रम सन्चालन गर्ने योजना छ । पर्सागढीको लडाइँमा नेपाली फौजको नेतृत्व गर्ने रञ्जित चौधरीको सालिक निर्माण गर्ने, सम्बन्धित सरोकारवाला स्थानीय सरकार पुरातत्व विभागबाट आवश्यक समन्वय र पहल गरी माष्टर प्लान तयार गरी आवश्यक कार्यान्वयन गर्ने, एतिहासिक महत्व झल्कने पुस्तिका निर्माण गर्ने तयारी भइरहेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ इतिहासको संरक्षण हुन नसके मेटिएर जानसक्ने बताउँछन् । ‘पर्सागढी ऐतिहासिक महत्व झल्काउने स्थान हो, पुरातत्व विभागमा सूचीकृत गरेर संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘थारु सँस्कृति र चुरेको नजिकै भएकाले पर्सागढी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ । पर्यटकलाई आकर्षित गर्ने थप कुराहरु पैदा गरौं ।’

सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

स्थानीय वास्तु सिल्पले पर्सागढीको संरक्षण गर्नुपर्छ : चन्द्रकिशोर

राष्ट्रियताको लागि अन्तर्राष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको विरगाथालाई इतिहासको पान्नामा सीमित राखिएको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थललाई बेवास्ता गरिएको छ ।

बरिष्ठ पत्रकार चन्द्रकिशोर नेपालमा अंग्रेजसँग खास समुदाय लडेको र सहयोग गरेको इतिहासमा देखिएको भए पनि राज्यले जति अध्ययन अनुसन्धान गर्नुपर्ने हो त्यति नगरेको बताउँछन् । उनी पर्सागढीमा मौलिक साँस्कृतिक महत्व झल्काउने गरि संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् ।

‘सिन्धुलीगढी र मकवानपुरगढीमा जुन किसिमको पुरातात्विक अवशेष छ, पर्सागढीमा छैन, त्यस किसिमको भावना पैदा गर्ने काम हुन पनि सकेको छैन । स्थानीय र प्रदेश सरकारले वेवास्ता गरेको छ,’ उनले भने, ‘कंक्रिटको पर्खाल, मन्दिर वा धर्मशाला बनाइदिने काम हुन्छ । त्यसरी पुरातात्विक र ऐतिहासिक स्थलको संरक्षण हुँदैन । स्थानीय वास्तु सिल्पको आधारमा मौलिक साँस्कृतिक झझल्को दिने हिसाबले संरक्षण र निर्माण हुनुपर्छ । त्यसले नै पर्यटकलाई आकर्षित गर्छ ।’ पर्सागढी तराईका स्थानीय बासिन्दाले नेपाली पक्षलाई युद्धमा सहयोग गरेको ऐतिहासिक र राष्ट्रिय एकताको प्रतीक भूमि भएको उनको भनाइ छ ।

ईंटा ओछ्याएर सडक बनाउने प्रकृति र वातवरणमैत्री संरचना बनाएर अन्य ठाउँभन्दा फरक देखाउन सके मात्रै पर्यटक आउने उनी बताउँछन् । ‘हिमाल, पहाड, निकुञ्ज वा ताल मात्रै हैन, साँस्कृतिक ऐतिहासिक सम्पदासमेत पर्यटकीय स्थल हुन् । संघीय नेपालमा पृथक ढंगले पर्यटकीय संभावना खोजिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय एकता, राष्ट्रियता र राष्ट्रप्रतिको भावना प्रतिविम्बित गर्ने हिसाबले संरक्षणको काम गरिनुपर्छ ।’

बारामा बारागढी, रौतहटको समनपुरलाई समेत जोडेर पर्सागढीको विकास गरिनुपर्ने उनको धारणा छ । संघ र प्रदेश सरकारले खासै वास्ता नगरे पनि स्थानीय तवरबाट इतिहासको कदर र सम्झना स्वरुप गढीलाई संरक्षण गर्दै आएको दावी नगर प्रमुख लोकनारायण यादवको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment