+
+

सरकारमा जान माधव नेपाललाई बामदेवको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १९:४८

१२ पुृस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिस्ट नेता बामदेव गौतमले नयाँ सरकारमा सहभागी हुन सुझाव दिएका छन् ।

मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेटेर राष्ट्रिय एकता अभियानका संयोजक गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

भेटपछि गौतमले भनेका छन्, ‘अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी केपी ओलीसँगको गठबन्धनमा नेकपा माओवादी केन्द्र सामेल भएको छ । एकीकृत समाजवादी किन छुट्यो त, यो छुट्न हुँदैन । छुट्यो भने ऐतिहासिक भूल हुन्छ । नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले मंगलबार नै पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा आफूहरुलाई थाहा नै नदिइकन प्रचण्ड सरकारमा सहभागी भएको भन्दै उनको यो व्यवहारबाट दुःखी भएको गुनासो गरेका थिए ।

गौतमले भने यसमा प्रचण्डको गल्ती भएको भन्दै अब फूलमाला लगाएर माधव नेपाललाई सरकारमा लैजानुपर्ने बताए । ‘माधव नेपाल छुट्नु हुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर लैजानुपर्छ,’ उनको भनाइ छ ।

भेटमा सहभागी एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेका अनुसार नेपालले भने गौतमको सुझावमाथि प्रतिक्रिया दिएनन् ।

पाण्डेले यस्ता सुझावहरु संकलन गर्ने र परिस्थितिको अध्ययन गर्ने काम भइरहेको भन्दै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुनेबारे भोलि बस्ने बैठकबाट निर्णय लिने बताए । ‘हामी भोलि २ बजे बैठक बस्दै छौं’, उनले भने, ‘यसबारे निर्णय गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?