+
+

महामन्त्रीद्वयलाई खुला पत्र

तपाईंहरूसमक्ष अहिलेको तितो यथार्थ भन्नैपर्छ। पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा आमनिर्वाचनलाई हेरेर होइन पार्टीको आन्तरिक अधिवेशनलाई मध्यनजर गरेर वितरण गरियो। त्यसैले क्रियाशील सदस्य बढ्नु र घट्नुले आम निर्वाचनमा कुनै आशातित परिणाम दिन सकेन।

नवराज तिमल्सिना नवराज तिमल्सिना
२०७९ पुष २६ गते १०:०३

आदरणीय महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माज्यू,
केन्द्रीय कार्यसमिति, नेपाली कांग्रेस
जय नेपाल !

जोसँग आशा, भरोसा र अपेक्षा राखिएको हुन्छ उनीहरूलाई नै प्रश्न गर्नुपर्छ भन्ने मान्यताका साथ संचारमाध्यममार्फत यहाँहरूसमक्ष यो खुलापत्र प्रेषित गरेको छु।

आफ्नै नेतृत्वको सरकारले गत मंसिर ४ गते सम्पन्न गराएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनमार्फत नेपाली कांग्रेस दोस्रोबाट पहिलो दल बन्यो। तर, विगत दुई वर्षअघिदेखि बनेको सत्ता गठबन्धनको उक्त समीकरण कांग्रेसले जोगाउन नसक्दा यतिखेर आमनिर्वाचनपछिको संसदको पहिलो राजनीतिक दल नेपाली कांग्रेस पार्टी प्रतिपक्ष बेन्चमा पुगेको छ। हामी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको पूर्वसन्ध्यामा छौं।

उक्त बैठकमा केही प्रस्तावहरू अनिवार्य रूपमा पेश होस् र गम्भीर छलफल होस् भन्ने चाहन्छु। स्थानीय तहदेखि प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको गम्भीर समीक्षा गर्नैपर्छ। यसले निर्वाचनमा गठबन्धन गर्नुका कारणको खोजी गर्ने नै छ। गठबन्धन किन भत्कियो ? यसबाट राजनीतिमा गुमाइएको विश्वासलाई कसरी पुनर्स्थापना गर्ने भन्ने एजेन्डामा पनि छलफल होस्। संसदको पहिलो दल बनेर पनि सरकारको नेतृत्व लिन किन सकिएन ? साथमा, पार्टीको आन्तरिक गतिविधिको कार्यसूची, पार्टीको नीति महाधिवेशन, वार्षिक रूपमा हुने वडादेखि केन्द्रसम्मका सम्मेलनहरू, महासमितिको बैठक, भ्रातृ तथा शुभेच्छुक संस्थाका नियमित अधिवेशन, क्रियाशील सदस्यता वितरणलगायत तमाम विषयमाथि गम्भीर छलफल हुने विश्वास लिएको छु।

यसै सन्दर्भमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा सार्वजनिक रूपमा केही कुराहरू राख्ने जमर्को गरेको छु। सर्वप्रथम तपाईंहरूलाई मंसिर ४ गतेको निर्वाचनमा विजयी भएर संसद प्रवेश गर्नुभएकोमा बधाई दिन चाहन्छु र संसदको तपाईंहरूको सुखद पाँचवर्षे कार्यकालको हार्दिक शुभकामना दिन चाहन्छु।

नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको एक वर्ष पूरा भएर दोस्रो वर्षमा प्रवेश गरिरहँदा देशको राजनीतिले कोल्टे फेरेको छ। पार्टीको १४औं महाधिवेशनबाट तपाईंहरू पार्टीको दोस्रो कार्यकारी पद महामन्त्रीमा निर्वाचित हुनुभएपछि नेपाली कांग्रेसका स्वदेश तथा विदेशमा हुनुभएका कार्यकर्ता र शुभचिन्तक तथा आम नेपाली नागरिकमा आशा र भरोसासहितको उत्साह देखिएको थियो।

प्रजातन्त्र पुनःस्थापनापश्चात् पनि नेपालको अपेक्षित आर्थिक तथा सामाजिक विकास हुनसकेन। दलहरूमा देखिएको सत्ता स्वार्थ एवं हरेक पार्टीभित्र पनि नेतृत्वको व्यक्तिगत स्वार्थको खिचातानीले देशमा भ्रष्टाचार, कुशासन, दण्डहीनता मौलायो। प्रशासनिक केन्द्रहरूमा हुने झन्झटिलो कागजी प्रक्रिया र ढिलासुस्तीबाट नागरिक अत्यधिक प्रभावित बने। स्वतन्त्र प्रेस, सामुदायिक शिक्षा र स्वास्थ्य, राष्ट्रसेवक कर्मचारीतन्त्रदेखि स्वतन्त्र भनिएको न्यायपालिका समेत अति राजनीतीकरणबाट गिजोलियो। नेपाली राजनीतिप्रतिको वितृष्णाले नागरिक आकुलव्याकुल बने।

यही पृष्ठभूमिमा नेपाली कांग्रेस जस्तो एक पुरानो र ठूलो लोकतान्त्रिक पार्टीका दुई युवाहरू कार्यकारी पदमा पुगे। अब देशको राजनीति र नागरिकको दैनिकीमा केही परिवर्तन हुन्छ भन्ने विश्वास बढ्यो। नागरिक तहमा समेत उत्साह पलायो।

नवराज तिमल्सिना

तपाईंहरू दुईजना युवा पार्टीको महामन्त्री पदमा पुग्नुभएको यो एक वर्षको समयमा देशमा तीन तहको निर्वाचन सम्पन्न भयो। महामन्त्री हुनुभन्दा अगाडि पार्टी कार्यकर्ता तथा आमनागरिकले थाहा पाउने गरी संचारमाध्यम सामुन्ने केही प्रतिबद्धताहरू जनाउनुभएको थियो। ती प्रतिबद्धतामध्येको एउटा महत्वपूर्ण प्रतिबद्धता थियो, आगामी निर्वाचनमा पार्टीको पक्षमा १५ लाख मतदाता थप्ने गरी पार्टीभित्र र बाहिर अभियान चलाउने। यथास्थितिवादबाट चलिरहेको पार्टीलाई रक्तसञ्चार गराउँदै केन्द्रीय कार्यसमितिदेखि टोल समितिसम्म चलायमान गराउने। जनताको घरदैलोसम्म पुगी प्रत्यक्ष संवाद तथा भलाकुसारीमार्फत उनीहरूले बुझ्ने गरी पार्टीको नीति तथा कार्यक्रम, योजना र प्रतिबद्धताहरू सञ्चार गरिने भनिएको थियो। ती प्रतिबद्धताहरू कति कार्यान्वयन भए-भएनन् तपाईंहरूले समीक्षा गर्नुभएकै होला।

१४औं महाधिवेशनमा हाम्रो पार्टीको क्रियाशील सदस्यको संख्या ९ लाख हाराहारी रहेको छ। उक्त संख्या २०७२ सालमा सम्पन्न भएको १३औं महाधिवेशनमा रहेको ४.५ लाखबाट बढाएर २०७८ सालमा ९ लाख पुर्‍याइएको थियो। देशभरिमा ४.५ लाख क्रियाशील सदस्य भएको समयमा सम्पन्न भएको २०७४ सालको आमनिर्वाचनमा मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ मध्ये १ करोड ५ लाख ८७ हजार ५२१ जना (६८.६३ प्रतिशत) ले मतदान गर्दा कांग्रेसको पक्षमा ३१ लाख २८ हजार ३८९ मत (२९.५४ प्रतिशत) प्राप्त भएको थियो। थ्रेसहोल्ड नकटाउने राजनीतिक दलको मतसमेत जोडिएर सिट बाँडफाँड गर्दा समानुपातिक संसदको सिट ३२ प्रतिशत हो।

२०७९ मा आइपुग्दा क्रियाशील सदस्य संख्या बढेर ९ लाख पुग्यो र देशको मतदाता संख्या २५ लाख ६० हजार ८३९ थपिई १ करोड ७९ लाख ८८ हजार ५७० पुग्यो। १ करोड ११ लाख २६ हजार २२६ जना (६१.८५ प्रतिशत) ले मतदान गर्दा कांग्रेसको पक्षमा २७ लाख १५ हजार २२५ मत (२४.४ प्रतिशत) मात्र प्राप्त भएको छ। थ्रेसहोल्ड नकटाउने राजनीतिक दलको मतसमेत जोडिएर सिट बाँडफाँड गर्दा समानुपातिक संसदको सिट २७ प्रतिशत हो।

२०७४ सालमा भन्दा १६ प्रतिशतले मतदाता संख्या बढेको छ जुन २५ लाखभन्दा बढी हो। तीमध्ये अधिकतम युवा र शिक्षित वर्गका मतदाता नयाँ हुन्। कति नयाँ मतदाताले यसपालि मतदान गरे भन्ने त यकिन छैन तर २०७४ मा भन्दा २०७९ मा ५ लाख भन्दा धेरै नयाँ मतदाताले मतदान गरेको देखिन्छ। तिनीहरूको मत कांग्रेसले किन लिन सकेन ?

यो तथ्यांकसहित उठाउन खोजेको मूल विषय हाम्रो पार्टीको ४.५ लाख क्रियाशील सदस्य संख्या हुँदा प्राप्त गरेको मत संख्या र ९ लाख क्रियाशील सदस्य संख्या हुँदा प्राप्त गरेको मत संख्याको गम्भीर समीक्षा हुन जरुरी छ। यसको सूक्ष्म अध्ययन गरेर नयाँ कार्ययोजनासहित अगाडि बढ्यौं भने तपाईंहरूको उद्देश्य आमनिर्वाचन २०८४ मा हासिल गर्न सकिन्छ।

हामी नयाँ क्रियाशील सदस्य बन्नका लागि आवेदन खुल्ला गर्ने तयारीमा छौं। क्रियाशील सदस्यता वितरण गर्ने हाम्रो विधिमा कतै त्रुटि त छैन? हामीले क्रियाशील सदस्य बनाएको व्यक्तिले नै कतै अर्को पार्टीलाई मतदान गरिरहेको त छैन ? क्रियाशील सदस्य कसरी बनाइरहेका छौं ? कोठामा बसेर ? गुट केन्द्रित भएर ? अधिवेशन केन्द्रित भएर ? वा आमनिर्वाचन केन्द्रित भएर ? हामीले बनाएका ९ लाख क्रियाशील सदस्यहरूमध्ये म नेपाली कांग्रेसको क्रियाशील सदस्य हो र म आफैंले स्वेच्छिक तवरबाट आवेदन गरेर लिएको सदस्य हो भन्ने कति सदस्यलाई स्वयं थाहा छ र उनीहरूलाई त्यसको जिम्मेवारी बोध गराएका छौं कि छैनौं ?

पार्टीको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले दिएको प्रतिवेदनमा हाम्रो मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तानेको भन्ने उल्लेख छ। पहाडी क्षेत्रमा राप्रपा, शहरी क्षेत्रमा रास्वपा र मधेशमा जनमत पार्टीले हाम्रो मत काटेको बुझ्नुपर्दछ। त्यो मत हाम्रो ९ लाख क्रियाशीलमध्येबाट पनि गएको हुनुपर्दछ। त्यसैले अब पार्टीमा नयाँ क्रियाशील सदस्य थप्दै गर्दा कुन विधि अपनाएर थपिन्छ र थपिएको क्रियाशील सदस्यको अनुपातमा आगामी निर्वाचनमा त्यसको प्रभाव कसरी पार्न सकिन्छ भनेर पनि गम्भीर बहस तथा छलफल गर्न आवश्यक छ।

कोही नेपाली नागरिक कांग्रेसको क्रियाशील सदस्य बन्न चाहन्छ भने ऊ आफूले घरमै बसेर वा उसको कार्यस्थलमा बसेर सीधै आवेदन गर्न सक्छ कि सक्दैन ? अहिलेको युवा जमात प्रविधिमैत्री छन् भन्ने कुरा हामीले कहिले बुझ्ने हो ? र, क्रियाशील सदस्य आवेदन गर्दा मतदाता परिचय पत्र नम्बर अनिवार्य गर्न मिल्छ कि मिल्दैन ?

तपाईंहरूसमक्ष अहिलेको तितो यथार्थ भन्नैपर्छ। पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा आमनिर्वाचनलाई हेरेर होइन पार्टीको आन्तरिक अधिवेशनलाई मध्यनजर गरेर वितरण गरियो। त्यसैले क्रियाशील सदस्य बढ्नु र घट्नुले आम निर्वाचनमा कुनै आशातित परिणाम दिन सकेन। पार्टीको क्रियाशील सदस्य संख्याको दायरा फराकिलो बनाउने भनेको पार्टीको संगठनको दायरा फराकिलो बनाउने हो। यो भनेको आमनिर्वाचनमा पार्टीको पक्षमा मतदाताको संख्या बढाउने हो र त्यसको आधारमा पार्टीले आमनिर्वाचन जितेर सरकारको नेतृत्व सम्हाल्दै ‘समुन्नत नेपाल सम्मानित नेपाली’को नारालाई कार्यान्वयन गर्न आफ्नो नीति तथा कार्यक्रम लागू गर्ने हो। तर यो कुरा हामी कहिले बुझ्छौं ?

२०७९ सालमा निर्वाचन त सकियो, यसबाट शिक्षा लिएर आमनिर्वाचन २०८४ मा कस्तो रणनीति बनाउने ? २०७४ र २०७९ को आँकडालाई आधार मान्ने हो भने २०८४ को निर्वाचनमा ३० लाखको हाराहारीमा नयाँ मतदाता थपिनेछन् र कुल मतदाता २ करोडभन्दा माथि पुग्नेछन्। त्यतिबेला नयाँ थपिएको मतदातालाई पार्टीप्रति आकर्षित कसरी गर्ने र २०७४ र २०७९ मा कांग्रेसलाई मतदान गर्ने मतदातालाई संरक्षण कसरी गर्ने भन्ने बहस केन्द्रीय कार्यसमितिको बैठकमा हुन्छ कि हुँदैन ?

पार्टीमा नयाँ क्रियाशील सदस्य थप गर्दैगर्दा आगामी १५औं महाधिवेशनलाई हेरेर थप गर्छौं कि आमनिर्वाचन २०८४ लाई मध्यनजर गरेर ? यसपालिको केन्द्रीय समितिको बैठकमा तपाईंहरूमार्फत यो विषयले पनि प्रवेश पाउनेछ भन्ने विश्वास लिएको छु।

अर्को महत्त्वपूर्ण कुरा, पार्टीभित्र स्पष्ट दुईवटा दर्जा देखिएको छ। पहिलो दर्जामा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू छन् भने दोस्रो दर्जामा जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगर पालिका कार्यसमिति, वडा र टोल कार्यसमिति रहेका छन्। पहिलो दर्जामा रहेका अधिकांश महाधिवेशन प्रतिनिधिहरू शहरकेन्द्रित छन् तर टोल कार्यसमितिदेखि जिल्ला कार्यसमितिसम्मका पदाधिकारी र सदस्यहरू जिल्ला तथा गाउँकेन्द्रित छन्। हाम्रो विधानले गाउँ-गाउँमा संगठन गर्ने जिम्मेवारी तहगत कार्यसमितिलाई दिएको छ भने महाधिवेशन प्रतिनिधिहरूलाई ओहदाको हिसाबले माथिल्लो तर जिम्मेवारीको हिसाबले स्पष्टसँग कुनै क्षेत्र नतोकिएकोले गाउँदेखि जिल्ला तहसम्मको संगठन परिचालनमा समस्या देखिंदै आएको छ। यसको पनि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भएर कुनै समाधानको उपाय निस्किनेछ भन्ने विश्वास लिएको छु।

समाजवादी चिन्तक स्व. प्रदीप गिरिको भाषामा भन्दा तपाईंहरू दुईजना महामन्त्री हल बाँधेर हिंडिदिनुभयो भने नेपाली कांग्रेसका तमाम कार्यकर्ता एवं शुभचिन्तक तथा आमनागरिकमा तपाईंहरूप्रतिको आशा र भरोसा अझै मरिसकेको छैन। यसलाई मूर्तरूप दिन पार्टीको हरेक तहमा विषय केन्द्रित गम्भीर बहस तथा छलफल र सांगठनिक संरचनाको चुस्तदुरुस्त परिचालन गर्न सक्नुपर्छ। तब मात्र आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनेर सरकारको नेतृत्व गर्न कसैको बैसाखी टेकिरहनुपर्दैन।

यहाँहरूको शुभचिन्तक:
नवराज तिमल्सिना
सहसचिव, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, धादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?