+
+

एमाले प्रतिगमनको उद्देश्यबाट पछि हटेको छैन, त्यसैले रामचन्द्रलाई समर्थन : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १५:५३

१३ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अझै प्रतिगमनको उद्देश्यबाट पछि नहटेको भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै केसीले आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको बताए । ‘नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि नेकपा एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा २/२ पटक संसद भङ्ग गरेर, ९/९ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजहरुलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ’ उनले भनेका छन् ।

एमालेले अझै संसद जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था हो, प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भङ्ग गर्न सकिन्छ भन्ने मान्यताबाट पछि नहटेको र राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको केसीले बताए ।

‘एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरु योजना रहेको छ । विगतमा पनि एमालेले राष्ट्रपति जस्तो सम्मानित र उच्च संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर राष्ट्रपति संस्थालाई विवादित बनाएर त्यसको छविलाई धुमिल पारेको इतिहास सबैका अगाडि स्पष्ट नै छ’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘त्यो स्थिति नदोहोरियोस् भन्नका लागि प्रतिगमनका विरुद्ध रहेका दलहरु मध्येबाट नै राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुन्थ्यो ।’

२५ फागुनमा हुने राष्ट्रपति चुनावमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता पौडेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?