+
+

सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते २१:१४

२६ फागुन, काठमाडौं । सत्तारुढ आठदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मिलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भन्छन् ।

उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नकै निम्ति खड्का नेतृत्वमा रहेको संयन्त्रको बैठक शुक्रबार बसेको थियो । तर शीर्ष नेताहरु सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरुको बैठक भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरुलाई धन्यवाद दिएर बैठक सकियो । ‘उपराष्ट्रपतिबारे सामान्य छलफल मात्रै भयो । औपचारिक निर्णय भने शीर्ष नेताहरुसहित बसेर गर्ने कुरा भयो’, एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसाल भन्छन् ।

उपराष्ट्रपतिको मनोनयन दर्ता गर्ने समय एक दिन मात्रै बाँकी रहँदा बसेको दोस्रो तहका नेताहरुको बैठकले शीर्ष नेतृत्वबीच छलफलको आवश्यकता देख्नुमा भने सत्तारुढभित्रकै दलहरुले अलग–अलग उम्मेदवार उठाउने निर्णय गर्नु हो ।

शुक्रबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उपराष्ट्रपतिको उम्मेदवाबारे अलग–अलग निर्णय लिएका थिए । जनमत पार्टीले ममता झा र नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि ४५ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक प्रावधानका कारण अध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

जनमत र नाउपाले भन्दा पहिले नै जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । स्रोतका अनुसार, सत्तारुढभित्रै एकभन्दा बढी उपराष्ट्रपतिको उम्मेदवारबारे उम्मेदवार देखिनु र शीर्ष नेताहरुबीच नै सहमतिको आवश्यकता पर्नुमा जसपाले हतारमा निर्णय गर्नु हो ।

‘जसपालाई उपराष्ट्रपति दिने त्यो चार दलको (कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी) कुरा मात्रै थियो । आठ दलबीच छलफल भएको थिएन’ स्रोत भन्छन्, ‘तर जसपाले हतारमा निर्णय गर्दा थोरै समस्या देखियो ।’

जसपाकै एक नेता पनि आफ्नो पार्टीबाट हतार भएको स्वीकार्छन् । ‘समय त बाँकी थियो, तर प्रमुख दलहरुबीच कुरा भइनसकेकाले निर्णय गर्दा थोरै समस्या आयो’, ती नेता भन्छन् ।

नेताहरुका अनुसार चार दलबीच जसपालाई उपराष्ट्रपति दिने सहमति भने १२ फागुनमै जुटेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले उपराष्ट्रपति पाउनुपर्ने अडान छाडेपछि जसपाले उक्त पद पाएको थियो । त्यही सहमति अनुसार, जसपा आठ दलीय गठबन्धनमा सहभागी भयो भने राष्ट्रपतिमा कांग्रेस नेता पौडेल निर्वाचित भइसके ।सत्तारुढका नेताहरु, सहमति अनुसार उपराष्ट्रपति पद जसपाले पाउनेमा कुनै समस्या नरहेको बताउँछन् ।

तर ठूला दलहरुबीच जुटेको सहमतिलाई आठ दलीय गठबन्धनले औपचारिकता दिन बाँकी रहँदै जसपाले निर्णय गरेकाले जनमत र नाउपाको पनि दावी देखिएको उनीहरु बताउँछन् । ‘कुनै दलले उम्मेदवारबारे निर्णय गर्दैमा फरक पदैन । हामीले पनि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने निर्णय सहमति हुनुभन्दा पहिले गरेको हो’, कांग्रेस उपसभापति खड्का भन्छन् ।

राष्ट्रपतिको चुनाव नसकिंदै जसपाले उपराष्ट्रपति पदमा उम्मेदवार चयन गरेपछि अर्को समस्या पनि सतहमा आएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति खस–आर्य समूहका पुरुष निर्वाचित भएकाले उपराष्ट्रपतिमा महिला आउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

आयोगको निर्णयमा खस–आर्य पुरुष बाहेकका समुदाय वा लिङ्गबाट उपराष्ट्रपतिमा मनोनयन गराउन सकिने उल्लेख छ । त्यो बक्तव्यबारे व्याख्या गर्दै प्रमुख आयुक्त थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला, त्यो पनि खसआर्यभन्दा अरु हुनुपर्ने तर्क गरेपछि सत्तारुढका नेताहरु झस्किएका छन् ।

शुक्रबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रमुख निर्वाचन आयुक्त थपलियालाई टेलिफोन गरेर उपराष्ट्रपतिको उम्मेदवारबारे आयोगको औपचारिक धारणा सोधेका थिए । यदि पुरुष राष्ट्रपति भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्छ भन्ने आयोगको आशय भए त्यो संवैधानिक व्यवस्थाको खिलाफ हुने उनले प्रमुख आयुक्तलाई सम्झाएका थिए । ‘संविधानमा फरक लिंग वा समुदाय भनिएको छ’, लेखकले भने, ‘फरक लिंग र समुदाय भनेको भए मात्र महिला वा अरु लिंगको हुनुपर्छ भन्न मिल्छ ।’

सत्तारुढ ८ दलले राष्ट्रपति र उपराष्ट्रपतिमा अलगअलग समुदायका पुरुष भएपनि हुने संविधानको व्यवस्था सम्झाउनुको कारण पनि जसपाले रामसहायलाई उम्मेदवार बनाउने निर्णय गर्नु नै हो । ‘संविधानको व्यवस्था हेरेर नै जसपाले निर्णय लिएको हो, त्यसमा समस्या आउनेगरी अरु छलफल हुँदैन’, गठबन्धनका एक नेता भन्छन् ।

गठबन्धनका दलहरुभित्रै राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै जना पुरुष पठाउन नहुने मत भएपनि जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो निर्णय परिवर्तन गर्न सक्ने संभावना न्यून छ । किनकि यो निर्णयमा अध्यक्ष यादवको व्यक्तिगत स्वार्थले काम गरेको छ ।

उनी बारा–२ बाट जितेका रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन लड्ने योजनामा छन् । गत निर्वाचनमा उपेन्द्र सप्तरी–२ बाट पराजित भएका थिए । उपनिर्वाचनबाट संसदमा आउने हतारोमै अध्यक्ष यादवले सत्ता गठबन्धनबीच औपचारिक निर्णय हुन बाँकी रहँदै उपराष्ट्रपतिबारे निर्णय गरेका हुन् । जबकि राष्ट्रपतिमा पौडेललाई मत दिएर संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सत्तारुढ गठबन्धनमै मिसिएको छ ।

अनिर्णित एमाले

शनिबार हुने उपराष्ट्रपतिको मनोनयनबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत कुनै निर्णय गरेको छैन । राष्ट्रपतिको चुनावमा एक्लिएको एमालेले उपराष्ट्रपतिबारे निर्णय लिनकै निम्ति शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । ‘सबै परिस्थितिको विश्लेषण गरेर अनि सत्ता गठबन्धनको उम्मेदवार हेरेर निर्णय लिन्छौं’, सचिव पद्मा अर्याल भन्छिन् ।

नेताहरुका अनुसार उपराष्ट्रपतिमा पनि सत्ता गठबन्धनले पुरुष उम्मेदवार उठाए एमालेले उम्मेदवारी दिने संभावना देखिन्छ । तर राष्ट्रपतिको चुनावमा देखिएको मतभार हेर्दा एमाले उम्मेदवारले जित्ने संभावना छैन । ३२ हजार ८०२ मतभार पाएर बिहीबार पौडेल मुलुकको तेस्रो राष्ट्रपति निर्वाचित हुँदा एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मत मात्रै पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?