
७ चैत, विराटनगर । विराटनगर महानगरपालिका– १४ का जयनारायण राजवंशी किसान हुन् । सधैं खेतीको काममा व्यस्त हुने उनलाई छोरा ललित सानै हुँदा खेलकुदमा लागेर बिग्रने पो हो कि भन्ने चिन्ता थियो ।
तर अहिले उनको त्यो चिन्ता हटेको छ । छोरा ललितले राष्ट्रिय क्रिकेट टिममा परेर राम्रो प्रदर्शन गर्दै आएपछि छरछिमेकबाट प्रसंशा पाउँदै आएका उनी नेपाल विश्वकप छनोटमा चयन भएपछि फुरुङ छन् । सानैदेखि खेलकुद क्षेत्रमा लागेका ललितले राष्ट्रिय टोलीमार्फत देशलाई योगदान दिएको भन्दै उनी खुसी छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको पछिल्लो शृंखलाका ४ मध्ये खेल्न पाएका ३ खेलमा ललितले ८ विकेट लिए । जसमध्ये यूएईसँगको एउटै खेलमा उनले ५ विकेट लिएका थिए ।
‘पढाइ लेखाइमा पनि ट्यालेन्ट नै थियो, खेलमा झन ट्यालेन्ट, बिहान खेल्न जाने, आएर स्कुल जाने, स्कुलबाट फेरि खेल्न जान्थ्यो, ८–९ बजे घर आउँथ्यो,’ जयनारायणले भने, ‘पढाइ बिगार्छस भनेर गाली गरेँ, एक दिन त कुटपिट पनि गरेँ, भविष्य खराब गर्छाै भनेर सम्झाएँ, तर उसले केही भनेन ।’
चैत २ गते यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा छानिएको दिनको खेल छिमेकीसँगै बसेर आफ्नै घरमा हेरेका जयनारायणको चाहना अब नेपालले विश्वकप खेलेको हेर्नेछ । ‘अगाडि अझै बाँकी छ, विश्वकप खेल्नुपर्छ,’ उनले भने, ‘मेरो छोरा, देशभरमा जति युवा छन् भविष्यका कर्णधारहरुले सबैले राम्रो गरेर देखाउन, विश्वमा नेपाललाई चिनाउने काम गरुन् ।’
जयनारायणका तीन छोरा मध्ये ललित कान्छा हुन् । जेठो छोरा युगलकिशोर नेपाल प्रहरीमा छन्, माइला छोरा इलेक्ट्रिसियन हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4