+
+

३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १५:००
जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु (रातो) र जनसंख्या वृद्धिदर धनात्मक रहेका जिल्लाहरु (हरियो) ।

१० चैत, काठमाडौं । नेपालका ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ । २०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाको संख्या २७ वटा थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । सबैभन्दा बढी रामेछापमा वार्षिक जनसंख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ । खोटाङमा माइनस १.५६, मनाङ र भोजपुरमा समान माइनस १.३९ तथा तेह्रथुममा माइनस १.३० प्रतिशत छ ।

जनसंख्या वृद्धिदर सबैभन्दा बढी धनात्मक हुने जिल्लामा भक्तपुर पहिलो नम्बरमा छ । भक्तपुरमा ३.३५ प्रतिशतले जनसंख्या वृद्धि भएको छ ।

यसैगरी रुपन्देहीमा २.३३, चितवनमा २.०७ तथा बाँके र झापामा समान १.९७ प्रतिशतको दरले जनसंख्या वृद्धि भएको छ । हिमाली जिल्लाहरुमध्ये मुगुमा सबैभन्दा बढी (१.४९ प्रतिशतले) वार्षिक जनसंख्या वृद्धि भएको छ ।

हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक

हिमाल र पहाडको तुलनामा हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर माइनस ०.०५ प्रतिशत छ । २०६८ को जनगणना अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ०.५४ प्रतिशत थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा २०६८ देखि २०७८ को अवधिमा वार्षिक औसत ०.९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भएको पाइएको छ । यो २०५८ देखि २०६८ सालको अवधिको वृद्धिदर (१.३५ प्रतिशत प्रतिवर्ष) को तुलनामा कम हो ।

वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (–०.०५ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.३० प्रतिशत) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५४ प्रतिशत) वृद्धि रहेको छ ।

गत दश वर्षको अवधिमा नेपालको जनसंख्या १०.०८ प्रतिशतले वृद्धि भई २६ लाख ७० हजार ०७४ जना व्यक्ति थपिएका छन् । भौगोलिक क्षेत्रअनुसार १० वर्षको अवधिमा हिमाली क्षेत्रमा ०.५ प्रतिशतले जनसंख्या घटेको छ भने पहाडी क्षेत्रमा ३.१९ प्रतिशतले र तराई क्षेत्रमा १७.३८ प्रतिशतले जनसंख्या बढेको छ ।

गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८४ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा २.६१ प्रतिशतले जनसंख्या थप भएको छ । यसैगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशमा धेरै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम तथा बाग्मती र कोशी प्रदेशमा पहिलेकै हाराहारीमा जनसंख्या थप भएको छ ।

प्रदेशगत रुपमा २०६८ देखि २०७८ को एक दशकको वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशहरुमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२४ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.२५ प्रतिशतले वार्षिक जनसंख्या वृद्धि भएको छ । दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश छ । मधेश प्रदेशको जनसंख्या वृद्धिदर १.१९ प्रतिशत छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.०० प्रतिशतभन्दा कम रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा विगत २०५८ देखि २०६८ को अवधिमा वार्षिक औसत १.४० प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?